इरानले अमेरिकी ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको दाबी गरेको छ । इरानको तस्निम समाचार एजेन्सीका अनुसार यो हमला दक्षिणी इरानको जाम क्षेत्रमा गरिएको हो ।
सामाजिक सञ्जालमा ड्रोन खसालिएको भनिएको एउटा भिडियो पनि बाहिर आएको छ। यद्यपि, अमेरिकी सेनाको तर्फबाट एमक्यू–९ ड्रोन खसालिएको विषयमा हालसम्म कुनै आधिकारिक पुष्टि भएको छैन । अमेरिकाले इरानविरुद्धको आफ्नो सैन्य कारबाही पूरा भएको बताएसँगै यो खबर आएको हो। अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) का अनुसार, अमेरिकी सेनाको अपाचे हेलिकप्टर खसालिएको र यस क्षेत्रमा रहेका अमेरिकी बल तथा व्यावसायिक पानीजहाजहरूमाथि भएको आक्रमणको जवाफमा यो हमला गरिएको थियो ।
सेन्टकमका अनुसार, अमेरिकी वायुसेना र नौसेनाका लडाकु विमानहरूले होर्मुज स्ट्रेट नजिकै रहेका इरानको वायु रक्षा प्रणाली, ग्राउन्ड कन्ट्रोल स्टेसन र निगरानी राडार केन्द्रहरूलाई ‘सटीक हतियार’ प्रयोग गरेर निसाना बनाएका थिए। यसैबीच, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्सले आफ्नो एयरोस्पेस फोर्सले जोर्डनस्थित अमेरिकी सैन्य कर्मचारीहरू रहेको एयरबेसमा लामो दूरीका र ठोस इन्धनयुक्त मिसाइलहरू प्रहार गरेको घोषणा गरेको छ । विज्ञप्तिका अनुसार, आईआरजीसीले आफ्ना मिसाइलहरूले उक्त बेसमा रहेका चारवटा अत्यन्त महत्त्वपूर्ण लक्ष्यहरूलाई सटिक रूपमा नष्ट गरेको दाबी गरेको छ ।
नष्ट गरिएका लक्ष्यहरूमा एफ–३५ लडाकु विमान राख्ने ह्याङ्गरहरू र एउटा मुख्य कमान्ड तथा नियन्त्रण केन्द्र समावेश छन् । आईआरजीसीले यस मिसाइल हमलालाई आफ्नो बृहत् जवाफी कारबाहीको समापनको रूपमा प्रस्तुत गरेको छ। यस बृहत् कारबाहीअन्तर्गत मध्यपूर्व क्षेत्रभरिका विभिन्न अमेरिकी हवाई तथा नौसैनिक अखडाहरूका २१ वटा लक्ष्यहरूमा हमला गरिएको र इरानी हवाई क्षेत्रमा अमेरिकी एमक्यू–९ ड्रोन खसालिएको उसको दाबी छ।
आईआरजीसीले आफ्नो विज्ञप्तिको अन्त्यमा अमेरिकालाई कडा चेतावनी दिँदै भनेको छ– यसपछिका कुनै पनि अमेरिकी सैन्य कारबाहीको ‘निर्णायक र विनाशकारी’ जवाफ दिन आफ्ना सेनाहरू पूर्ण रूपमा तयार छन् र अब थप तनाव बढेमा त्यसको परिणामको सम्पूर्ण जिम्मेवारी वासिङ्टन (अमेरिका) ले लिनुपर्नेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस