चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिना (साउन–वैशाख) सम्म बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको सेयर धितो कर्जा उल्लेखनीय रूपमा बढेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार वैशाख मसान्तसम्म बैंकहरूले कुल १ खर्ब ६२ अर्ब ५३ करोड ९५ लाख रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह गरेका छन्।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो कर्जा १ खर्ब २५ अर्ब ५२ करोड ७ लाख रुपैयाँ रहेको थियो। यस आधारमा चालु वर्षमा सेयर धितो कर्जा प्रवाह २९.४९ प्रतिशतले वृद्धि भएको देखिन्छ।
तथ्यांकअनुसार १ करोड रुपैयाँभन्दा माथिको सेयर धितो कर्जाको माग सबैभन्दा बढी बढेको छ। चालु आर्थिक वर्षको वैशाखसम्म यो रेन्जमा १ खर्ब १५ अर्ब ९४ करोड ६८ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । गत वर्षको सोही अवधिमा यो रकम ८५ अर्ब ७३ करोड ८२ लाख रुपैयाँ थियो। यस आधारमा यो रेन्जको कर्जा ३५.२३ प्रतिशतले बढेको देखिन्छ ।
त्यसैगरी, ५० लाखदेखि १ करोड रुपैयाँसम्मको कर्जा १८ अर्ब ३९ करोड २६ लाख रुपैयाँ पुगेको छ। २५ लाखदेखि ५० लाख रुपैयाँसम्मको कर्जा १९ अर्ब ५० करोड ४६ लाख रुपैयाँ र २५ लाख रुपैयाँसम्मको कर्जा ८ अर्ब ५९ करोड ५५ लाख रुपैयाँ पुगेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। गत आर्थिक वर्षको तुलनामा ५० लाखदेखि १ करोड रुपैयाँसम्मको कर्जा २२.२० प्रतिशतले, २५ लाखदेखि ५० लाख रुपैयाँसम्मको कर्जा १७.३१ प्रतिशतले तथा २५ लाख रुपैयाँसम्मको कर्जा ६.०५ प्रतिशतले वृद्धि भएको छ।
सेयर बजारप्रति लगानीकर्ताको आकर्षण बढ्दै जाँदा सेयर धितो कर्जाको माग पनि निरन्तर उकालो लागिरहेको देखिएको छ। विशेषगरी ठूला लगानीकर्ताले लिने १ करोड रुपैयाँभन्दा माथिको कर्जामा उल्लेखनीय वृद्धि भएको तथ्यांकले देखाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस