निर्धारित समयमै सुरु हुन नसकेको प्रतिनिधिसभाको बैठक सारिएको छ। बिहान ११ बजेका लागि तय गरिएको बैठक दुई घण्टासम्म पनि प्रारम्भ हुन नसकेपछि आजै दिउँसो २ बजे बस्ने गरी समय परिवर्तन गरिएको हो। बैठकको समय परिवर्तन गरिएको सम्बन्धमा संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सूचना जारी गरेका छन्।
‘बुधबार बिहान ११ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारण निर्धारित समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ६ को उपनियम २ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम सम्माननीय सभामुखले सभाको बैठक आजै दिनको २ बजे बस्ने गरी निर्धारण गर्नुभएको बेहोरा माननीय सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’ सूचनामा उल्लेख छ ।
निर्धारित समयभन्दा दुई घण्टासम्म पनि बैठक सञ्चालन हुन नसके स्वतः स्थगित हुने कानुनी व्यवस्था रहेको छ।
प्रतिनिधिसभा नियमावलीको नियम ६ मा बैठक सञ्चालन तथा स्थगनसम्बन्धी व्यवस्था गरिएको छ। उक्त नियमअनुसार कार्यबोझलाई ध्यानमा राख्दै सभामुखले तोकेको दिन र समयमा प्रतिनिधिसभाको बैठक बस्ने व्यवस्था छ। नियम ६ को उपनियम २ मा भनिएको छ, ‘निर्धारित समयको दुई घण्टासम्म पनि बैठक प्रारम्भ हुन नसकेमा सभामुखले सो बैठक स्थगन गरी अर्को बैठकको सूचना गर्नेछ ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस