असारको तेस्रो सातादेखि सुकुमवासीलाई लालपुर्जा वितरण सुरु गरिने भएको छ। भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला एवं सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले प्रतिनिधिसभामा उक्त जानकारी दिएकी हुन्।
आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक विनियोजन बजेटमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री रावलले सुकुमवासीलाई लालपुर्जा वितरण गर्ने तयारी अन्तिम चरणमा पुगेको बताइन्।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुकुमवासीलाई लालपुर्जा वितरणको अवस्था बारे प्रश्न उठाएका थिए। उनले काठमाडौंका सुकुमवासीहरूलाई विस्थापित गरेर होल्डिङ सेन्टरमा राखिएको र त्यहाँको व्यवस्थापनसमेत सन्तोषजनक नभएको गुनासो गरे। साम्पाङले सरकारले उचित व्यवस्थापन गर्न नसक्ने अवस्था भए सुकुमवासीलाई उनीहरू बस्दै आएको स्थानमै व्यवस्थित रूपमा बसोबासको व्यवस्था गर्नुपर्ने सुझाव दिएका थिए। जवाफमा मन्त्री रावलले असारको तेस्रो सातादेखि सुकुमवासीलाई लालपुर्जा वितरण कार्य सुरु गरिने जानकारी दिँदै सरकारले यसका लागि आवश्यक तयारी गरिरहेको बताइन्।
‘लालपुर्जाको हकमा हामीले काम सुरु गरिसकेका छौं । अब असारको तेस्रो हप्तादेखि हामीले लालपुर्जा वितरण गर्ने काम सुरुवात गर्ने छौं ।’
विगतमा सरकारले भूमि आयोगमार्फत काम गर्दै आएको थियो । वर्तमान सरकारले भूमि सम्बन्धी समिति बनाएर सुकुमवासीको व्यवस्थापनको काम अगाडि बढाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस