समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ऋण असुलीबाट प्राप्त भएको रकम उपयोग गर्दै लालीगुराँस र आइडियल यमुना सहकारीका साना बचतकर्ताहरूको बचत फिर्ता गरेको छ। पछिल्लो चरणमा लालीगुराँस सहकारीका थप ७० जना र आइडियल यमुना सहकारीका १२ जना बचतकर्ताले आफ्नो रकम फिर्ता पाएका छन् ।
जससँगै लालीगुराँसका मात्रै हालसम्म ३०८ जनाको बचत फिर्ता भइसकेको छ। सरकारले पहिलो चरणमा थोरै बचत भएका साना बचतकर्ताहरूलाई प्राथमिकता दिएर यो रकम फिर्ता गरेको हो भने आगामी दिनमा पनि बचतकर्ताको रकमको आकारका आधारमा वर्गीकरण गरेर क्रमश: सबैको बचत फिर्ता गर्दै लैजाने समितिले जनाएको छ।
समितिका अनुसार समस्याग्रस्त सहकारीका करिब ७६ हजार बचतकर्ताहरूको करिब ४६ अर्ब रुपैयाँ बचत फिर्ता गर्नुपर्ने छ । तीमध्ये अधिकांश साना बचतकर्ता रहेका छन् । पाँच लाखभन्दा कम रकम बचतकर्तालाई साना बचतकर्ता र पाँच लाखभन्दा बढी रकम बचतकर्तालाई ठुला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ । कूल ७६ हजारमध्ये पाँच लाखभन्दा बढी बचत गर्ने जम्मा १८ हजार रहेको समितिले जनाएको छ ।
समस्याग्रस्त सहकारी संस्थाहरुबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्ताहरुलाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानुनी व्यवस्था बमोजिम निरन्तर रुपमा संचालन भइरहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस