Like us!
Follow us!
Connect us!
Watch us!

व्यवसायीसँग प्रधानमन्त्रीको संवाद - ‘निजी क्षेत्र अर्थतन्त्रको ड्राइभिङ सिटमा रहन्छ, व्यवसायीलाई थुन्ने उद्देश्य छैन’

अर्थ संसार

बुधबार, २४ असार २०८३, १५ : ०१ मा प्रकाशित

व्यवसायीसँग प्रधानमन्त्रीको संवाद - ‘निजी क्षेत्र अर्थतन्त्रको ड्राइभिङ सिटमा रहन्छ, व्यवसायीलाई थुन्ने उद्देश्य छैन’

प्रधानमन्त्रीको पदभार ग्रहण गरेपछि बालेन शाहले पहिलो पटक निजी क्षेत्रका प्रमुख उद्योगी तथा व्यवसायीहरूसँग औपचारिक छलफल गरेका छन्।

प्रधानमन्त्री शाहले देशको शिथिल अर्थतन्त्र र खस्कँदो व्यावसायिक वातावरणका बीच निजी क्षेत्रलाई एउटा बलियो भरोसा दिएका छन्। बुधबार प्रधानमन्त्रीकै कार्यकक्षमा निजी क्षेत्रका तीन ठूला छाता सङ्गठनहरू एफएनसीसीआई, सीएनआई र चेम्बरका प्रतिनिधिसँग झन्डै दुई घण्टा लामो विशेष छलफल भएको हो।

यो संवादपछि उद्योगी व्यवसायीहरूले आफ्नो खस्किएको मनोबल ५० प्रतिशतले बढेको प्रतिक्रिया दिएका छन्।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालका अनुसार प्रधानमन्त्री बालेनले निजी क्षेत्रलाई नै अर्थतन्त्रको मूल संवाहक अर्थात् ‘ड्राइभिङ सिट’ मा राखेर अघि बढ्ने नीति प्रष्ट पारेका छन्। देशको अर्थतन्त्रलाई १०० खर्बको आकारमा पुर्‍याउने र ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य निजी क्षेत्रको सहकार्यविना असम्भव रहेको बताउँदै प्रधानमन्त्रीले व्यवसायीहरूलाई समस्या मात्र देखाउनुभन्दा त्यसको व्यावहारिक समाधान लिएर आउन आग्रह गरे। निजी क्षेत्रका समस्या हल गर्न प्रधानमन्त्रीले विज्ञहरूसहितको एउटा स्थायी समिति गठन गर्ने र त्यसमा व्यवसायीका प्रतिनिधिहरूलाई पनि सहभागी गराउने आश्वासन दिएका छन्।

छलफलका क्रममा उद्योगीहरूले पछिल्लो समय अनुसन्धानका नाममा व्यवसायीहरूमाथि भइरहेको अन्धाधुन्ध पक्राउ र धरपकडको विषयमा चासो राख्दा प्रधानमन्त्रीले निजी क्षेत्रलाई त्रसित बनाउने सरकारको कुनै मनसाय नरहेको स्पष्ट पारे। उद्यमीलाई थुनेर समस्याको समाधान नहुने भन्दै उनले सरकार व्यवसायीलाई समात्ने पक्षमा नरहेको बरु औद्योगिक वातावरण बनाउन प्रतिबद्ध रहेको बताए।

बैठकमा सीएनआईका निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवालले लगानी बढाउन जग्गाको हदबन्दीसम्बन्धी व्यवस्था 'फास्ट ट्रयाक' बाट परिमार्जन गर्नुपर्ने माग राखे भने सीएनआईका महानिर्देशक डा. घनश्याम ओझाले सरकारी संस्थानहरूलाई सार्वजनिक-निजी साझेदारी मोडलमा लैजान सुझाव दिए। जसमा प्रधानमन्त्रीले सकारात्मक प्रतिक्रिया दिएका छन्।  व्यवसायीहरूले राष्ट्र बैंकको कसिलो नीति र आगामी बजेट कार्यान्वयनका अड्चन फुकाउनसमेत प्रधानमन्त्रीको विशेष ध्यानाकर्षण गराएका छन्।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको