Like us!
Follow us!
Connect us!
Watch us!

घडेरी पाउँदा हर्षको सीमा छैन चेपाङको

शुक्रबार, २८ बैशाख २०७५, १२ : ४१ मा प्रकाशित

घडेरी पाउँदा हर्षको सीमा छैन चेपाङको

नारायण ढुंगाना 
अर्थ संसार, हेप्चेक, काउले (चितवन)– बाँदर लड्ने ठाडो भिरमा खोपेर बनाइएको घर । वर्षैंदेखि बस्दै आएपनि २०७२ सालको विनाशकारी गोरखा भूकम्पले त्यही पूरै घर भत्कायो । 

अन्यत्र जाने विकल्प नभएपछि विकट काउलेस्थित हेप्चेकको पखेरोमै दुःखजिलो गरेर ओत लाग्ने झुप्रो घर बनाएर बसेको तीन वर्ष भएको छ । हावाहुरी र मेघ गर्जंदा गाउँले डराएरै बस्थे । 

‘डरैडरमा बित्यो,’ तुलबहादुर चेपाङ मुहार उज्यालो पार्दै भन्नुहुन्छ, “अब घडेरी पायौं, खुसी भा छ सर ।” सरकारले नजिकै रहेको दुम्किम भन्ने गाउँमा घडेरी उपलब्ध गराएपछि यहाँका चेपाङहरुमा खुशीको सीमा छैन् । 

विसं २०७२ वैशाख १२ गतेको ‘गोरखा विनाशकारी भूकम्प’ आउदा सोही गाउँकी उजेलीमाया चेपाङले जंगलबाट ल्याएको घाँस बिसाउन मात्रै के भ्याउनुभएको थियो, एक्कासि जमिन हल्लियो । डाँडो फनफनी घुमेको महसुस भयो । आँखै अगाडि क्षणभरमै आफ्नो ओत लाग्ने घर ध्वस्त भयो । उनी जस्तै हेप्चेकका बुद्धबहादुर चेपाङको घर पनि त्यसैगरी क्षणभरमै ध्वस्त भयो । 

‘जमिन नै कमजोर भयो, डाँडो नै चर्केको थियो, तुलबहादुरले भन्नुभयो, “अझै पनि झरि, बादल हुँदा डरलाग्छ बस्दैन ।” जब गड्याङगुडुङ हुन्छ उक्त गाउँका बासिन्दा अहिले पनि त्रासमै छन् । यो तीन वर्ष यस्तै गरेर बिताए । 

भूकम्पपछिको महिनौंसम्मको रात उनीहरु घरमा बसेनन् । नजिकैको दुम्किममा गएर बास बसेको अनुभव उजेलीमायालाई छ । 
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको विज्ञ समूहले हेम्चेकको स्थलगत अध्ययन गर्दा सो क्षेत्र जोखिम भनेर बस्ती सार्ने निर्णय गरेको थियो । सामान्यतयाः ३० डिग्रीभन्दा बढी ठाडो जग्गामा बस्न मिल्दैन । 

उनीहरुको गाउँ छङ्गाछुर भिर देखिन्छ । विगतमा ठूलो प्रयास गर्दा पनि बस्ती सर्न नसकेका उनीहरुका लागि खुसीको परिणाम मिल्यो । नजिकै रहेको सुरक्षित स्थान दुम्किममा पीडितमध्ये आठ घरले जग्गा प्राप्त गरेका छन् । 

जोखिममा रहेका ११ घरमध्ये एक घर सम्पर्कमा आएको छैन । भूकम्पपीडित कालु चेपाङ र बोमबहादुर चेपाङले नजिकै घुर्केस भन्ने स्थानमा जग्गा खोजेका छन् । अन्य होमबहादुर चेपाङ, रामबहादुर चेपाङ, तुलबहादुर चेपाङ, बलवान चेपाङ, थाकु चेपाङ, बुद्धबहादुर चेपाङ, भगवान चेपाङ र उजेली चेपाङको परिवार दुम्किममा स्थानान्तरण हुने भएका छन् । 

उनीहरुका लागि पुनःनिर्माण प्राधिकरणले प्रतिघडेरी अधिकतम रु दुई लाख दिन्छ । घर निर्माणका लागि सरकारबाट रु तीन लाख आउँछ । आगामी असार मसान्तसम्ममा उनीहरुले जग तयार गरे भने दोस्रो किस्ताबापतको रकम पाउँछन् । 

स्वाँस्वाँ र फ्वाँफ्वाँ गर्दै दुम्किममा आइपुगेका उनीहरुलाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ९अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय चितवनका प्रमुख पुष्कर पोखरेलले जग्गा पक्का भएको खबर सुनाउँदा उनीहरु हर्षित भए । घर पाउने पक्का भएपछि भूकम्पपीडित तुलबहादुरले हर्षित हुँदै भन्नुभयो, “अब छिट्टै घर बनाउने र बस्ने हो ” 

चितवनको विकट क्षेत्र इच्छाकामना गाउँपालिका–२ हेच्चेकको जोखिम क्षेत्रका आठ घर भूकम्पपीडितले सुरक्षित स्थानमा जग्गा प्राप्त गरेपछि बिहीबारदेखि जग्गाधनी पूर्जाका लागि उनीहरुले प्रक्रिया शुरु गरिसकेका छन् । 

चितवनको राप्ती नगरपालिकाको एसिखाई र तापाङका १३ घरलाई स्थानान्तरणका लागि जग्गा उपलब्ध गराइसकिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ९अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार० कार्यालय चितवनका शाखा प्रमुख राजेन्द्र कार्कीले जानकारी दिनुभयो । 

उनीहरुले जग्गाधनी पूर्जासमेत प्राप्त गरिसेका छन् । पूजालिंँदै स्थानीयवासी विविमाया चेपाङले भन्नुभयो, “घर बनाएर बस्ने हो सर खशी भा छ ।” यता इच्छाकामना–४ तीनघरेका पाँच घर पीडितलाई लेवाटारमा जग्गा उपलब्ध गराइएको छ । 

जिल्लाका अन्य क्षेत्रमा स्थानान्तरणका लागि आवश्यक प्रक्रिया चलिरहेको छ । इच्छाकामनाका अन्य धेरै पीडित राहत लिने प्रक्रियामै रहेको गाउँपालिकाको भूकम्प पुनःनिर्माणका स्रोत व्यक्ति राजन घिमिरेले बताउनुभयो । 

जिल्लामा जोखिम क्षेत्र पहिचान भएका कूल १०२ घर स्थानान्तरण गर्नुपर्नेमा अहिलेसम्म ३५ घरका लागि पैसा आएको छ । २१ घरले जग्गाका लागि रकम प्राप्त गरिसकेको र अन्यको प्रक्रियामा रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । 

इच्छाकामना गाउँपालिकाका ८३, राप्ती नगरपालिकाका १८ र कालिका नगरपालिकाका एक घर स्थानान्तरण गर्नुपर्नेछ । चितवनमा सात हजार ३३५ बढी भूकम्पपीडित भए पनि घर निर्माणको किस्ता वितरणको काम इच्छाकामना गाउँपालिकाबाहेक अन्य नगर र महानगरमा सुस्त छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको