Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल सेयर बजार लगानीकर्ता संघको प्रथम वार्षिकसाधारणसभा सम्पन्न, अध्यक्षमा हरि बहादुर केसी

अर्थ संसार

शुक्रबार, १४ कार्तिक २०८२, १० : ४५ मा प्रकाशित

नेपाल सेयर बजार लगानीकर्ता संघको प्रथम वार्षिकसाधारणसभा सम्पन्न, अध्यक्षमा हरि बहादुर केसी

नेपाल सेयर बजार लगानीकर्ता संघ (NSIA) को प्रथम वार्षिक साधारणसभा आज राजधानीमा भव्यताका साथ सम्पन्न भएको छ । साधारणसभाले आगामी दुई वर्षको कार्यकालका लागि हरिबहादुर केसीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । 

संघले पहिलो साधारणसभा गर्दै गर्दा लगानीकर्ताहरूको अधिकार सुनिश्चित गर्दै पुँजी बजारलाई थप मर्यादित बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

संघको संस्थागत यात्रा र सभाको संरचना

काठमाडौं जिल्ला प्रशासन कार्यालयमा २०८२ साल वैशाख १६ गते विधिवत रूपमा दर्ता भएको यस संघको  तदर्थ समितिको नेतृत्व डा. केशव प्रसाद श्रेष्ठ ले गरेका थिए । 

खुला सत्र औपचारिकता र शुभकामना

कार्यक्रमको औपचारिक सुरुवात नेप्सेका प्रमुख कार्यकारी अधिकृत चूडामणि चापागाईंले पानसमा बत्ती बालेर गरेका थिए । राष्ट्रिय गीत र सहिदहरूप्रति मौनधारणपछि सुरु भएको खुला सत्रको सञ्चालन संघका सदस्य राजु प्रसाद पौडेलले गरेका थिए । 

निवर्तमान अध्यक्ष डा. केशव प्रसाद श्रेष्ठले उपस्थित सम्पूर्ण पदाधिकारी, सदस्य तथा आमन्त्रित पाहुनाहरूलाई स्वागत गर्दै संघको उद्देश्य र यसको भावी आवश्यकतामाथि प्रकाश पारेका थिए । त्यस्तै यस सत्रमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) का सीईओ चापागाईंले नियामक निकाय र लगानीकर्ता संघबीचको सम्बन्धलाई बाबु–छोराको जिम्मेवारीसँग तुलना गर्दै बजारको विकासमा लगानीकर्ताको भूमिकाबारे गहन विचार गरे ।

पाटन उच्च अदालतका पूर्व न्यायाधीश सलाउद्दिन अख्तर सिद्दिकी, नेपाल सेयर धनी संघका अध्यक्ष घनश्याम पाण्डे, जनरल इन्भेस्टर्स एसोसिएसनका अध्यक्ष ऋतु जंग जीसी, र  धितोपत्र लगानीकर्ता संघका महासचिव प्रकाश रजौरे लगायत विभिन्न सहधर्मी संगठनका प्रतिनिधिहरूले बजारका चुनौती र लगानीकर्ता संघको जिम्मेवारीमाथि जोड दिँदै शुभकामना व्यक्त गरेका थिए ।

खुला सत्रको अन्त्यमा उपाध्यक्ष ई.भगवान बहादुर राउतले कार्यक्रममा सक्रिय सहभागिता जनाउने सम्पूर्ण उपस्थित महानुभाव तथा शुभकामना व्यक्त गर्ने अतिथिहरूलाई हार्दिक धन्यवाद व्यक्त गरेका थिए । 

बन्द सत्र ः वार्षिक प्रतिवेदन र निर्वाचन प्रक्रिया

केही ढिला गरी सुरु भएको बन्द सत्रमा संघको वार्षिक समीक्षा गरियो थियो । सत्रमा महासचिव खगेन्द्र राज कँडेल (रविन) ले अघिल्लो वर्षको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष मछिन्द्र बस्नेतले लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । जसलाई सभाले अनुमोदन गरेको थियो। निवर्तमान अध्यक्ष डा. केशव प्रसाद श्रेष्ठले संघ स्थापनाको उद्देश्य, तदर्थ समितिको अनुभव र भावी कार्यदिशाबारे आफ्नो धारणा प्रस्तुत गरेका थिए । नवनिर्वाचित १३ सदस्यीय कार्यसमिति र शपथ ग्रहन पनि सोही अवसरमा सम्पन्न भएको थियो । 

साधारण सभाले आगामी दुई वर्षको कार्यकालका लागि निम्न पदाधिकारी तथा सदस्यहरूलाई निर्वाचित गरेको छः
अध्यक्ष  हरिबहादुर केसी 
वरिष्ठ उपाध्यक्ष किशोर पौडेल 
उपाध्यक्ष  ई.भगवान बहादुर राउत 
महासचिव खगेन्द्र राज कँडेल (रविन) ।
सचिव भुवन ढकाल 
कोषाध्यक्ष मछिन्द्र बस्नेत 

सदस्यहरू विवेक श्रेष्ठ, मिना भट्ट, ऋषिराज भेटवाल, कीचः चित्रकार, विष्णु बहादुर सिलवाल, अशोक शाह कानु, र राजु प्रसाद पौडेल ।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई निर्वाचन अधिकृतले पद तथा गोपनीयताको शपथ खुवाउनुका साथै प्रमाणपत्र वितरण गरेका थिए । नवनिर्वाचित अध्यक्ष हरिबहादुर केसीले सम्पूर्ण सदस्यहरूलाई धन्यवाद दिँदै लगानीकर्ताको हकहित र बजारको स्वस्थ विकासलाई आफ्नो कार्यकालको प्रमुख एजेन्डा बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको