Like us!
Follow us!
Connect us!
Watch us!

ललितपुर महानगरले ‘स्मार्ट’ बत्ती जडान गर्दै

आइतबार, १२ फागुन २०७५, १० : १३ मा प्रकाशित

ललितपुर महानगरले ‘स्मार्ट’ बत्ती जडान गर्दै

अर्थ संसार, ललितपुर– ललितपुर महानगरपालिकाका मुख्य सडकमा ‘स्मार्ट’ बत्ती जडान गर्ने तयारी शुरु भएको छ । महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा महानगरका मुख्य सडकमा बत्ती जडान हुनलागेको हो ।

चालू आर्थिक वर्षभित्रमा सम्पन्न गर्ने योजनासहित ठेक्का सम्झौता भएको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताउनुभयो । उहाँका अनुसार महानगरका पाँच मुख्य सडकमा ‘स्मार्ट’ बत्ती जडान गर्न लागिएको हो । कुपण्डोलबाट पुल्चोक हुँदै लगनखेल, पुल्चोकबाट मङ्गलबजार हुँदै ग्वार्खो, कुपण्डोलबाट पाटनढोका हुँदै मङ्गलबजार, एकान्तकुनाबाट बुङ्गमती र सातदोबाटोबाट धापाखेलसम्मको सडकमा बत्ती जडान गर्न लागिएको उहाँले बताउनुभयो ।

प्राधिकरणसँग गत वर्ष पहिलो चरणमा कुपण्डोलबाट लगनखेलसम्म र दोस्रो चरणमा बाँकी सडकमा बत्ती जडान गर्ने सहमति भए पनि अहिले यी सबै सडकमा एकसाथ काम हुँदैछ । उहाँले भन्नुभयो, “अबको एक वर्षभित्रमा महानगरका मुख्य सडक सबैतिर बत्ती जडान भइसक्नेछ ।”

‘स्मार्ट’ बत्ती अरु सडक बत्तीभन्दा फरक रहेको महानगरपालिकाले बताएको छ । यो बत्ती सडकमा यात्रु र सवारीसाधन नहुँदा निभ्ने, उनीहरु आउँदा आफैँ बल्ने प्रवक्ता महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “यात्रु र सवारी गएपछि बत्ती आफैँ निभ्नेछ ।”

महानगरपालिकाका अधिकांश सडकमा बत्ती नहुँदा सवारीचालक र यात्रु हैरान छन् भने रातका समयमा सडक दुर्घटना भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको