Like us!
Follow us!
Connect us!
Watch us!

हरिहरपुरगढीबाट सिन्धुलीगढीसम्म नयाँ पदमार्ग खोज्न हिँड्यो टोली (फोटोफिचर)

आइतबार, २४ चैत्र २०७५, १० : ५४ मा प्रकाशित

हरिहरपुरगढीबाट सिन्धुलीगढीसम्म नयाँ पदमार्ग खोज्न हिँड्यो टोली (फोटोफिचर)

दुई ऐतिहासिक स्थल जोड्ने समृद्ध सिन्धुली अभियानको प्रयास

अर्थ संसार, काठमाडौं– समृद्ध सिन्धुली अभियानले दुई ऐतिहासिक स्थलहरु हरिहरपुरगढी र सिन्धुलीगढीलाई जोड्ने पदमार्गको अध्ययन सुरु गरेको छ । अध्ययनका अभियानका संयोजक लीलानाथ घिमिरेसहित प्राविधिक, समाजशास्त्री, पत्रकारलगायत ८ जनाको टोली हरिहरपुरगढीबाट सिन्धुलीगढीतर्फ प्रस्थान गरेको छ । प्रस्तावित पदमार्गले सिन्धुलीका हरिहरपुरगढी, मरिण, घ्याङ्लेख, सुनकोशी गाउँपालिका र कमलामाई नगरपालिकाले जोड्ने छ । 

हरिहरपुरगढी नेपालकै पूरानो मध्येको इतिहास बोकेको किल्ला हो । इतिहासकारहरुका अनुसार बाराको सिम्रौनगढमा शासन गरिरहेका राजा हरिसिंह देव बंगाल मुसलमानको आक्रमणबाट पराजित भएपछि विक्रम संवतको तेह्रौं सताब्दीतिर सिन्धुली आएर किल्ला बनाएर बसेका थिए । उनले बनाएको किल्लाको नाम तिनै राजाको नामबाट हरिहरपुरगढी रहन पुग्यो । हरिसिंहदेवले त्यहाँ शासन गरेका थिए । सिन्धुलीगढीमा गोर्खाली सेनासँग १८२४ मा पराजित भएर भागेका अंग्रेजी सेनाले शक्ति संचय गरेर हरिहरपुरबाट फेरि काठममाडौं प्रवेश गर्ने प्रयास गरेको इतिहास छ । त्यहाँसमेत अंग्रेजी फौजलाई गोर्खालीले परास्त गरेका थिए । 

सिन्धुलीकै अर्को किल्ला सिन्धुलीगढी गोर्खालीको बीरताको इतिहाससँग जोडिएको छ । तत्कालीन समयमा भारतमा शासन गरिरहेको इस्ट इन्डिया कम्पनीको बेलायती सेनालाई काठमाडौंतर्फ आउँदै गर्दा गोर्खाली फौजले पराजित गरेको किल्ला हो सिन्धुलीगढी । पृथ्वीनारायण शाहले नेपाल एकिकरण थालेपछि त्यसलाई रोक्न काठमाडौंका शासकहरुले ब्रिटिस इन्डिया कम्पनीसँग सहयोग मागेका थिए । तिनै शासकलाई सघाउन आएका अंग्रेजी फौजलाई विक्रम संवत् १८२४ मा गोर्खाली फौजले सिन्धुलीगढीमा परास्त गरेको थियो । उनीहरु घरेलु हतियारको भरमा लडेका थिए । संसारमा विजयी हुँदै आएको बेलायती साम्राज्य पहिलो पटक सिन्धुलीगढीमा पराजित भएको थियो । त्यही दिनको सम्झनामा हरेक बर्ष कात्तिक २४ गते सिन्धुलीगढीमा सरकारी स्तरबाटै विजयोत्सव मनाइन्छ । सिन्धुलीगढी किल्ला भने विक्रम संवतको १४ औं सताब्दीमा स्थापना भएको इतिहासकारहरुको भनाइ छ ।

समृद्द सिन्धुली अभियानले सिन्धुलीका गढीहरुलाई चिनाउन विभिन्न प्रयास गर्दै आएको छ । अभियानले सिन्धुलीगढीमा तत्कालीन ब्रिटीस कम्पनीको सेनालाई पराजित गरेको दिनको सम्झनामा काठमाडौंदेखि सिन्धुलीगढीहुँदै जनकपुरसम्म हरेक बर्ष साइकल यात्रा गर्दै आएको छ । सन् २०१६ मा सुरु गरिएको साइकल यात्रा तेस्रो बर्ष पूरा भएको छ । साइकल यात्रामार्फ ऐतिहासिक सिन्धुलीगढीको प्रबर्धन गर्न अभियानले ब्यसाययिक यात्रा गराउन थालेको हो । सिन्धुलीगढीमा गोर्खालीले अंग्रेजी सेनालाई हराएको २ सय ५० बर्ष पुगेको अबसरमा गत बर्ष मनाइएको विजयोत्सवमा सहभागी हुन गएका साइकल यात्रीलाई काठमाडौंमा उपराष्ट्रपति नन्दबहादुर पुनले विदाइ र सिन्धुलीगढीमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेका थिए । 

अभियानले गत बर्ष सिन्धुलीगढीहुँदै महाभारत डाँडैडाँडा नयाँ पदमार्गको सम्भावना अध्ययन गरेको थियो । काभ्रेको नमोबुद्धबाट सिन्धुलीगढी हुँदै सिन्धुलीकै फिक्कलसम्म अमियानको टोलीले १५ दिन लगाएर अध्ययन यात्रा गरेको थियो । अध्ययनले पूर्वपश्चिम फैलिएको महाभारत डाँडैडाँडा नयाँ पदमार्ग स्थापित गर्न सकिने देखाएको छ । राजधानीबाट नजिकै रहेको महाभारत पदमार्गमा आवश्यकताअनुसार लामो र छोटो दुरीमा गर्न सकिन्छ । यसलाई खगोल, बनस्पत्ति अध्ययनका लागि समेत उपयोग गर्न सकिने देखिएको छ । ग्रेट महाभारत ट्रेल अध्ययन गर्न यात्रा सुरु गरेको एक बर्ष पुगेकै दिन अभियानको टोली यस बर्ष हरिहरपुरगढी सिन्धुलीगढी पदमार्ग अध्ययन गर्न हिँडेको हो । 

ऐतिहासिक महत्व बोकेका दुई गढीको प्रचार–प्रसार गरि पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पदमार्ग अध्ययन यात्रा सुरु गरिएको संयोजक लीलानाथ घिमिरे बताउछन् । ‘नेपालीले गौरव गर्न लायक दुई ऐतिहासिक गढीलाई पदमार्गले जोड्न सके यिनको प्रचारप्रसार र स्थानीयको आयआर्जनमा सहयोग पुग्छ,’ उनले भने, ‘हामी ऐतिहासिक स्थलको पर्यटन प्रवद्र्धन गरेर सिन्धुलीलाई समृद्ध बनाउने प्रयासमा छौ ।’ अध्ययन टोलीले यात्राको क्रममा बाटोमा पर्ने ऐतिहासिक मठमन्दिर, गुम्बा, पाटीपौवा, जात्रा, पर्व, जातजाती, संंस्कृति, जातीय खानेकुरालगायतको अध्ययन गर्ने घिमिरेले बताए । 

नेपाललाई चिनाउने ऐतिहासिक स्थलबारे प्रचार गर्न सके आन्तरिक तथा बाह्य पर्यटक भित्र्याएर देशकै आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने अर्का अभियन्ता सौरभ ढकाल बताउँछन् । ढकालले यसअघि प्रख्यात आरोही आप्पा शेर्पाको टोलीसँग पूर्वताप्लेजुंगदेखि पश्चिम दार्चुलासम्म हिमाली क्षेत्रमा ९९ दिन ग्रेट हिमालयन ट्रेल यात्रा गरेका थिए । उनले पर्यावरण जोगाउँदै स्थानीय खानेकुरा, स्थानीय संस्कृतिको प्रबर्धनमा पदमार्गले सघाउने बताए ।

समृद्ध सिन्धुली अभियानले नेपाल पर्यटन बोर्डसँग मिलेर आगामी वैशाख महिनामा पर्यटन बोर्डको प्राङगणमा सिन्धुली जिल्लालाई पहिचान दिलाउने फोटोहरुको प्रदर्शनी फोटो नेपाल आयोजना गर्न गइरहेको छ । उक्त प्रदर्शनीमा सिन्धुलीलाई पहिचान दिने ऐतिहासिक, धार्मिक, सांस्कृतिक स्थलहरु, सिन्धुलीलाई चिनाउने पूर्वाधार, कृषि उत्पादन, विभिन्न जातजातिका भेषभूषा, संस्कृतिलगायत सिन्धुलीका रमणीय दृष्यावलोकन गर्न सकिने स्थलहरु, पर्यटकलाई आकर्षित गर्ने बस्तुका तस्बिर राखिने अभियन्ता घिमिरेले बताए । अभियानले सिन्धुलीका नौ वटै स्थानीय तहबाट फोटो संकलन गर्ने काम गरिहेको छ । 

5ca987d86f04c.jpg 5ca987da4c9f7.jpg 5ca987da5cf7a.jpg 5ca987daadcca.jpg 5ca98812ae841.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको