Like us!
Follow us!
Connect us!
Watch us!

एउटै गाउँमा ४२ टन मह उत्पादन

रबिन दङगाल

सोमबार, ०९ असार २०७६, ११ : ५० मा प्रकाशित

एउटै गाउँमा ४२ टन मह उत्पादन

अर्थ संसार, चितवन- पूर्वी चितवनको राप्ती नगरपालिका-११ थाकलटारस्थित ग्रामीण बस्तीमा यो वर्ष ४२ टन मह उत्पादन भएको छ । जनजाति बाहुल्य यस बस्तीका ५७ घरपरिवारले व्यावसायिक मौरीपालन गर्दै आएको छ ।

थाकलटार मौरीपालन, तरकारी र च्याउ उत्पादन बहुउद्देश्यीय कृषक समूहका सचिव धर्मराज लामाका अनुसार एक परिवारले २० देखि तीन सय घारसम्म मौरी पालेका छन् । त्यहाँ चिउरीको मह उत्पादन हुने भएकाले डाबर नेपाल, पतञ्जलि र स्थानीय व्यवसायीले त्यहाँको मह उठाउने गर्दछन् ।

मौरी पालेसँगै धेरैको जीवनस्तर उकासिएको संस्थाका अध्यक्ष खड्गबहादुर मोक्तानले जानकारी दिए। उनका अनुसार ५० घार मौरी पाल्नेले वर्षमा रु दुईदेखि तीन लाख आम्दानी गर्ने गरेका छन् । कृषकलाई मौरी पाल्न विभिन्न संस्थाले सहयोगसमेत गर्दै आएका छन् । कृषकले यस वर्ष रु २५० प्रति किलोमा मह बिक्री गरेको जनाएका छन् ।

हालै मात्र प्रधानमन्त्री कृषि आधुनिकीकरण मौरी जोन, हरियो वन कार्यक्रम र डाबर नेपालको सहयोगमा गाउँमा मह सङ्कलन केन्द्रसमेत स्थापना गरिएको छ । केन्द्र भवन निर्माण गर्न मौरी जोनले रु १० लाख, हरियो वन कार्यक्रमले रु १० लाख १२ हजार र डाबर नेपालले रु दुई लाख ४० हजार सहयोग गरेका छन् ।

किसानको मह सङ्कलन गरेर सोही ठाउँमा राखिने अध्यक्ष मोक्तानले जानकारी दिए । विसं २०६० पछि स्थानीयवासीले त्यहाँ मौरी पाल्न शुरु गरेका हुन् । राप्ती नगरपालिकाका उपप्रमुख इमानसिंह लामाले स्थानीय मौरीपालनमा लागेपछि जीवनस्तरमा सुधार आएको जानकारी दिए। यसले ग्रामीण क्षेत्रबाट शहर पस्नेहरुलाई रोकेको उनको भनाइ छ ।
मौरीबाट आम्दानी गर्न थालेपछि स्थानीय तरकारी र पशुपालनतर्फ पनि केन्द्रीत हुन थालेका छन् । मौरीपालक सङ्घ चितवनका अध्यक्ष रोशन पण्डितले जिल्लामा एक वर्षमा पाँच सयदेखि छ सय टनसम्म मह उत्पादन हुने बताए । ग्रामीण बस्ती थाकलटार मौरीको पकेट क्षेत्र रहेको भन्दै उनले चिउरीको महका लागि सो क्षेत्र प्रख्यात रहेको जानकारी दिए ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको