Like us!
Follow us!
Connect us!
Watch us!

उद्योग व्यवसायमा युुवाको आकर्षण बढ्दै

रबिन दङगाल

आइतबार, १५ असार २०७६, १२ : ४३ मा प्रकाशित

उद्योग व्यवसायमा युुवाको आकर्षण बढ्दै

अर्थ संसार, चितवन- युवा पुस्ता उद्योग व्यवसायमा आकर्षित हुन थालेका छन् । पुस्तौनी व्यापारदेखि नयाँ उद्योग, कलकारखाना, व्यापार गर्ने युवाको सङ्ख्या बढ्दै गएको छ । 
    
विदेशमा सिकेको सीप र स्वदेशमा नै व्यवसायमा काम सिकेर आफैँले व्यापार गर्ने पनि बढ्दै गएका छन् । नेपाली युवा उद्यमी मञ्च चितवनका अध्यक्ष दाताराम घिमिरेका अनुसार सानादेखि ठूला उद्योग व्यापारसम्म युवाको नेतृत्वमा हुने क्रम बढेर गएको छ । विदेशमा भन्दा यहाँ अवसर राम्रो देखेर पनि मेहनत गर्न चाहनेले उद्योग व्यवसाय गर्न थालेको घिमिरे बताए। 

सरकारले युवा उद्यमीलाई लक्षित गरी अहिलेको दर्ता प्रक्रियाको झण्झटिलो अवस्था सहजीकरण गरिदिने, ऋणमा अनुदान दिने, युवालाई उत्प्रेरणा दिन सकेमा युवाको आकर्षण नेपाल बन्ने घिमिरेको ठम्याइ रहेको छ ।
    
मञ्चका निवर्तमान अध्यक्ष नीरञ्जन न्यौपाने उद्योग व्यवसायमा अहिले ७५ प्रतिशत युवा रहेको बताए । विदेशमा सिकेको सीपलाई यहाँ फर्किएर उद्योग व्यवसाय गर्नेको सङ्ख्या बढ्दै गएको न्यौपानेको भनाइ छ । वैदेशिक रोजगारतर्फको आकर्षणभन्दा यहीँ केही गरौँ  भन्ने भावनाको विकास हुँदै जाँदा पनि युवा उद्यमी व्यवसायी बन्दै गएको देखिन्छ । 

न्यौपाने सरकारले उद्योग व्यवसायको सुपरीवेक्षण गरी आवश्यक सहयोग गर्ने र युवा उद्यमीलाई परियोजनाका आधारमा लगानी गरेर ब्याजमा अनुदान दिन सकेमा विदेश जाने युवाको सङ्ख्यामा कमी आउने बताए । 

उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष सहनलाल प्रधानका अनुसार राजनीतिक अन्योल हटेसँगै उद्योग व्यवसाय सञ्चालन गर्नेक्रम बढेकाले युवाको आकर्षण बढाएको हो । लगानीको वातावरण बन्दै जाँदा युवा आकर्षित बन्दै गाएका छन् । उनले लगानीको सुरक्षा सरकारले गरी दिनुपर्ने भन्दै सहयोग गर्न सकेमा स्वदेशमा युवाको लगानी बढेर जाने बताए। स्वदेशमा नै केही गर्न सकिन्छ भन्ने भावनाको विकास युवामा हुन थालेको प्रधानको भनाइ छ । 

उद्योग सङ्घ चितवनका वरिष्ठ उपाध्यक्ष राजु पौडेलले सङ्घमा पछिल्लो समय ४० जना नयाँ उद्यमी थपिएको बताए । विदेशमा हुने दुःखका बारेमा जानकारी भएसँगै यही केही गर्नुपर्छ भन्ने भावनको विकास युवामा हुन थालेको उनको भनाइ छ । युवामा राष्ट्रवादको भावनाको विकासले पनि यही उद्योग व्यवसाय गर्नेक्रम बढेको पौडेलको धारणा छ । 

उत्पादनका आधारमा ब्याजमा अनुदान दिन सकेमा युवा थप आकर्षित हुने उनको बुझाइ छ । स्वदेश फर्किएर आफूले जानेको सीपअनुसार काम गर्नेको सङ्ख्या जिल्लामा उल्लेख्य बढ्दै गएको छ । स्वदेशकै उद्योग व्यवसायमा काम सिकेर आफै  उद्यमी बन्ने युवाको सङ्ख्या पनि दिनानुदिन बढ्दो छ ।

नारायणगढको भेटघाट रेष्टुरेन्टमा १० वर्ष काम गरेका स्थानीय कृष्ण भट्टले त्यहीको अनुभवले दुई वटा होटल सञ्चालनमा ल्याएका छन्। भट्टले भने , “मेहनतका साथ काम गर्या भने यहीँ धेरै गर्न सकिन्छ ।” 

युवा उद्यमी मञ्चका वरिष्ठ उपाध्यक्ष कृष्ण सापकोटा बुबाको पुरानो व्यवसायलाई विस्तारका क्रममा छुट्याएका छन्। उनको बुबाले थालेको नारायणगढको वैष्णव मिष्ठान्न भण्डारको शाखा विस्तार गर्दै सापकोटाले चार वटा पुर्याएका  छन्। यो सङ्ख्या निकट भविश्यमा नै पुर्याउने सापकोटाको भनाइ छ । युवाले अवसर पाए भने गर्न सक्छन् भन्ने गतिलो उदाहरण सापकोटाले पनि दिएका छन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको