अर्थ संसार, सुर्खेत- पछिल्लो समय यहाँ बालबालिका हराउने क्रम बढ्दै गएको छ । बालबालिका को, कहाँ, कहिले र कति सङ्ख्यामा हराउँछन् भन्ने यकिन तथ्याङ्क भने सजिलै पाउन सकिँदैन ।
यो क्रम गाउँभन्दा शहरमा बढी छ । गरीबी, अशिक्षा र अभावले शहर पस्ने बालबालिका विभिन्न घटनाको शिकार हुँदै गएका छन् । यही क्रममा तिला गाउँपालिका ४ जुम्ला साँपुल्ली गाउँका १२ वर्षीय बालक सुरेश शाही पाँच महीनादेखि काठमाडौँ मण्डिकाटारबाट सम्पर्कविहीन छन् । उनी कहाँ र कुन अवस्थामा छन् भन्ने कुराको अत्तोपत्तो नहुँदा सुरेशका आमा राज्यलक्ष्मी शाही र बुबा गोरबहादुर शाही अहिले चिन्तित छन् ।
दुई वर्षअघि बूढानीलकण्ठ नगरपालिका–९ मण्डिकाटार काठमाडौँका बलराम विष्टले छोरा समान रेखदेख र पठनपाठन गर्ने भनेर सुरेशलाई लिएर गएको बुबा गोरबहादुरले बताए । तर २०७५ फागुन २३ गतेदेखि विष्टकै घरबाट उनी हराएका छन् । छोराको खोजी गरिदिन उनले सरोकारवाला सबैसँग आग्रह गर्नुभएको छ ।
बाँसबारी मावि काठमाडौँमा अध्ययनरत उनी अहिलेसम्म नभेटिएकाले सम्पर्कविहीन भएकै दिनमा महानगरीय प्रहरी वृत्त काठमाडौँमा खोजतलासका लागि हुलियासहितको निवेदन दिएको घरधनी बलराम विष्टले जानकारी दिए । २०७३ साल चैत ७ गते आफूले पढाइ दिने भनेर बालक सुरेशलाई लगेको उनले बताए।
उनले भने , “घरको जिम्मेवारी दिएर बसालेका थियौँ तर रु पाँच हजार र आफ्ना लुगा लिएर ऊ बाहिरिएको छ । कहाँ, कता र किन गयो भन्ने कारण बुझ्न सकिएको छैन ।” बाल अधिकारका क्षेत्रमा कार्यरत प्रदीप श्रेष्ठसमेत बालक शाहीको खोजीमा अनवरत लागिपरेको उनको भनाइ छ ।
यता महानगरीय प्रहरी कार्यालय रानीपोखरी काठमाडौँका प्रवक्त एसएसपी श्यामलाल ज्ञवालीले बालकको खोजतलासका लागि प्रहरीको विभिन्न एकाइमा फोटो पठाइएको र खोजी कार्य जारी रहेको बताए। यसमा सम्बन्धित घरधनी बलराम विष्ट जिम्मेवार भएर लाग्नुपर्ने उनको भनाइ थियो । बालक अपहरण नभई हराएकाले यसमा सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न उनले आग्रह गरे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस