अच्युत रेग्मी 
अर्थ संसार, काठमाडौं-  देशभर सवारीसाधन खरिदबिक्री बढेसँगै दुर्घटनामा समेत वृद्धि भएको छ । आर्थिक वर्ष २०७५/७६ मा देशभर सवारीसाधन दुर्घटनामा दुई हजार ७८९ जनाको मृत्यु भएको छ । सो अवधिमा १३ हजार ३६६ सवारीसाधन दुर्घटनामा परेका थिए ।  
दुर्घटनामा चार हजार ३७६ जना गम्भीर घाइते तथा १० हजार ३६० व्यक्ति सामान्य घाइते भएका थिए । प्रहरी प्रवक्ता एवम प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलका अनुसार आव २०७४/७५ को तुलनामा आव २०७५/७६ मा देशभर सवारीसाधन दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या बढेको छ । आव २०७४/७५ मा नौ हजार ९८९ सवारीसाधन दुर्घटना हुँदा दुई हजार ३१८ जनाको मृत्यु भएको थियो । आव २०७३/७४ मा भने आव २०७४/७५ को भन्दा बढी व्यक्तिको  सवारी दुर्घटना परी मृत्यु भएको थियो । 
आव २०७३/७४ मा १० हजार १७८ सवारीसाधन दुर्घटना हुँदा दुई हजार ३८४ जनाको ज्यान गएको थियो । चालकको लापरवाही, यात्रुको गल्ती, उछिन्ने काम, तीव्रगति, मादकपदार्थ सेवन, यान्त्रिक गडबडी, बढी गहरुङगो सामानका कारण बढी दुर्घटना हुने गरेको पोखरेलको भनाइ छ । प्रहरी प्रधान कार्यालयका अनुसार मोटरसाइकल, ट्रक, टिपर, जीप, कार, ट्र्याक्टर र टेम्पो बढी दुर्घटना हुने गरेको छ । 
उपत्यकामा दुर्घटना बढ्यो
 काठमाडौँ उपत्यकामा पनि सवारीसाधन दुर्घटनाको सङ्ख्या वर्षेनी बढेर गएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आव २०७४/७५ को तुलनामा आव २०७५/७६ मा सवारी दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या बढेको छ । आव २०७३/७४ मा उपत्यकामा सवारी दुर्घटनाबाट १९४ जनाको मृत्यु भएकामा आव २०७५/७६ मा उक्त सङ्ख्या बढेर २५४ पुगेको छ । आव २०७३/७४ मा उपत्यकामा सवारी दुर्घटनाबाट १८२ जनाको ज्यान गएको थियो । 
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्त फराकिलो सडक, भौतिक पूर्वाधारको कमी र तीव्र गतिका कारण उपत्यकामा सवारीसाधन दुर्घटनामा वृद्धि भएको बताउनुहुन्छ । “चालकलाई ट्राफिक ज्ञान नहुँदा उपत्यकामा दुर्घटना बढेको हो”, उहाँ भन्नुहुन्छ ।     महाशाखाले उपत्यकाको सवारी दुर्घटनालाई कम गर्न विभिन्न समय विभिन्न किसिमका जनचेतनामूलक कक्षा सञ्चालन, तीव्र गतिमा गुड्ने सवारीसाधनलाई सीमित गति, सडकको बीच भागमा डिभाइडर राख्नेलगायत काम गर्दै आएको छ । 
किन हुन्छ दुर्घटना ?
लामो समयदेखि महानगरीय ट्राफिक प्रहरी महाशाखामा बसेर काम गर्नुभएका पूर्वप्रहरी उपरीक्षक जगतमान श्रेष्ठ मानवीय कारणअन्तर्गत तीव्र गतिमा सवारी चलाउनु र चालकको लापरवाहीका कारण बढी दुर्घटना हुने गरेको बताउनुहुन्छ । उहाँले २५ प्रतिशतभन्दा बढी दुर्घटना चालकको लापरवाहीका कारण हुने गरेको बताउनुभयो । श्रेष्ठ तीव्र गतिलाई कम गर्नसके ३० देखि ४० प्रतिशत दुर्घटनामा कमी आउन सक्ने बताउनुहुन्छ । 
नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल सडक सुरक्षित भएमात्र सवारीसाधन दुर्घटनामा कमी आउने भएकाले सडक सुरक्षित गर्न नेपाल प्रहरीले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुहुन्छ । “सडक दुर्घटनालाई कम गर्न गृहमन्त्रालयले सात प्रदेशको १४ स्थानमा चालक तथा यात्रुका लागि आरामस्थल निर्माण गरिरहेको छ”, उहाँले भन्नुभयो । यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३५ लाख तथा काठमाडौँ उपत्यकामा ११ लाखको हाराहारीमा सानाठूला सवारीसाधन सञ्चालनमा छन् । 
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस