अर्थ संसार, काठमाडौं– भक्तपुर नगरपालिकाले नेपाली सेनाको प्रशंसा गरेको छ।
नेपाली सेनाको ब्यारेकभित्र रहेको रानीपोखरीको जीर्णोद्धार गर्न नेपाली सेनाले अनुमति दिई सहयोग गरेको भन्दै भक्तपुर नगरपालिकाले नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापालाई मयूर झ्याल उपहार दिएको छ ।
नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा गएको नगरपालिकाको टोलीले जङ्गीअड्डामा बुधबार आयोजना भएको समारोहमा थापालाई विश्वमै आकर्षक मानिने कलात्मक मयूर झ्याल उपहार दिएको हो ।
भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयको हातामा रहेको ऐतिहासिक रानीपोखरीको मौलिकतासहितको जीर्णोद्धार तथा पुनःनिर्माण र सैनिक आवासीय महाविद्यालयको पूर्वतर्फको खेलमैदान सर्वसाधारण युवालाई प्रयोग गर्नका लागि नेपाली सेनाले पु¥याएको योगदानको कदर गर्दै सेनालाई सो मयूर झ्याल दिइएको हो ।
नेपाल संवत् ७५० अर्थात विसं १६८७ मा राजा जगज्योति मल्लको पालामा बनेको भक्तपुरको रानीपोखरी (काठमाडौँको रानीपोखरीभन्दा ४० वर्ष पुरानो) लामो समयदेखि जीर्ण अवस्थामा रहेको र यसले सांस्कृतिक र धार्मिक महत्व पनि बोकेको तथा वरिपरि कुलदेवता र देवाली पूजा गर्ने महत्वपूर्ण थलो भएकाले २०७६ जेठ १ गते जीर्णोद्धार र संरक्षणका साथै सर्वसाधारण जनताका लागि खुला गर्न नेपाली सेनाले पत्र पठाएपछि उत्खनन एवं जीर्णोद्धार शुरु भएको नगरप्रमुख प्रजापतिले जानकारी दिनुभयो । सो अवसरमा नगरप्रमुख प्रजापतिले नेपाली सेनाले स्थानीय जनताको भावना बुझ्दै कला, संस्कृति, सम्पदा, धर्म एवं पर्वको संरक्षणमा साथ दिएको बताउनुभयो ।
कार्यक्रममा प्रधानसेनापति थापाले भक्तपुर जिल्लालगायत देशका विभिन्न क्षेत्रमा ऐतिहासिक महत्व, मौलिक संस्कृति, परम्परा र सम्पदाको संरक्षण एवं संवद्र्धन गरी नागरिक–सैनिक सम्बन्धलाई जनस्तरसम्म विस्तार गर्न सहयोग र साथ दिइरहेको बताउनुभयो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस