अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२५ को आफ्नो अनिवार्य वित्तीय विवरण (डिस्क्लोजर) अनुसार गत वर्ष क्रिप्टोकरेन्सी कारोबारबाट १ अर्ब डलर (७५ करोड पाउन्ड) भन्दा बढी आर्जन गरेका छन् । ९२७ पृष्ठ लामो उक्त वित्तीय खुलासाका अनुसार, राष्ट्रपति पदभार ग्रहण गर्नुभन्दा ठीक अगाडि सुरु गरिएको 'ट्रम्प मीम क्वाइन' (Meme Coin) बाट मात्रै उनले ६३ करोड ५० लाख डलर रोयल्टी प्राप्त गरेका छन्।
यसैगरी, आफ्ना छोराहरू र उनका विशेष दूत स्टिभ विटकफका सन्तानहरूले स्थापना गरेको क्रिप्टोकरेन्सी कम्पनी 'वर्ल्ड लिबर्टी फाइनान्सियल' बाट उनलाई ५० करोड डलरभन्दा बढी आम्दानी भएको विवरणमा उल्लेख छ। ट्रम्पले घरजग्गा व्यवसाय (रियल स्टेट) र आफ्नो नाम जोडिएका विभिन्न ब्रान्डेड सामग्रीको बिक्रीबाट पनि थप लाखौँ डलर कमाएका छन्। यद्यपि, ह्वाइट हाउसले भने उनले राष्ट्रपति पदको फाइदा उठाएर नाफा कमाएको दाबीलाई अस्वीकार गरेको छ।
पछिल्लो वित्तीय विवरणमा देखाइएको यो आम्दानी सन् २०२४ को तुलनामा निकै बढी हो। सन् २०२४ मा ट्रम्पको आम्दानी ६० करोड डलरभन्दा बढी देखिएको थियो। ट्रम्पले आफ्नो व्यवसाय छोराहरूद्वारा सञ्चालित ट्रष्टको मातहतमा सुम्पिएको कुरालाई बारम्बार दोहोर्याउँदै ह्वाइट हाउसले यसमा कुनै पनि प्रकारको 'स्वार्थको द्वन्द्व' (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) नरहेको दाबी गरेको छ।
ह्वाइट हाउसकी सहायक प्रेस सचिव एना केलीले राष्ट्रपति ट्रम्पले गर्वका साथ अमेरिकालाई "विश्वको क्रिप्टो राजधानी" बनाएको बताएकी छिन्। "राष्ट्रपति वा उनको परिवार कहिल्यै पनि स्वार्थको द्वन्द्वमा संलग्न भएका छैनन् र हुने पनि छैनन्," उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ। उनले थपिन्, "राष्ट्रपति ट्रम्प र उनको प्रशासनले चालेका हरेक कदम अमेरिकी जनताको सर्वोत्तम हितमा छन्। यसको विपरीत दाबी गर्ने तथाकथित 'पत्रकार' हरूले डेमोक्र्याट र स्थापित सञ्चारमाध्यम (लिगेसी मिडिया) ले एक दशकदेखि फैलाउँदै आएको पुरानै झुटा कथालाई मात्र दोहोर्याइरहेका छन्।"
राष्ट्रपति ट्रम्प स्वयंले पनि आफू संघीय स्वार्थको द्वन्द्वसम्बन्धी कानुनको दायरामा नपर्ने कुरामा जोड दिँदै आएका छन्। कुनै समय ट्रम्पले क्रिप्टोकरेन्सीको कडा आलोचना गर्दै बिटक्वाइनलाई "एक घोटाला" र "कुनै पनि बेला आउन सक्ने महाविपत्ति" को संज्ञा दिएका थिए। तर, मंगलबार सार्वजनिक भएको वित्तीय विवरणले उनको क्रिप्टोबाट भएको आम्दानीले उनको परम्परागत रियल स्टेट व्यवसायलाई समेत धेरै पछाडि पारेको देखाउँछ, जुन व्यवसायले उनलाई पहिलो पटक विश्वमा स्थापित गराएको थियो। विवरण अनुसार, उनले आफ्नो मार-ए-लागो क्लबबाट करिब ७ करोड ७० लाख डलर र फ्लोरिडास्थित डोराल गल्फ क्लबबाट १२ करोड २० लाख डलर कमाएका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस