Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना भाइरस प्रकोपः भारतले पनि सबै पर्यटक भिसा बन्द गर्याे

विहीबार, २९ फागुन २०७६, १४ : ३४ मा प्रकाशित

कोरोना भाइरस प्रकोपः भारतले पनि सबै पर्यटक भिसा बन्द गर्याे

अर्थ संसार, काठमाण्डौं - विश्वव्यापी रुपमा बढ्दो प्राणघातक कोरोना भाइरसको प्रकोपका कारण भारतले पनि पर्यटक भिसा बन्द गरेको छ । भारतले सबै खालका पर्यटक भिसा आगामी अप्रिल १५ सम्मका लागि बन्द गरेको अधिकारीहरुले जानकारी दिएका छन् ।

त्यस्तै, साथै भारतले कोरोना भाइरसको प्रकोप रहेका विश्वका विभिन्न सात ओटा देशबाट आएका नागरिकलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने बताएको छ । भारत सरकारले बिहीबार प्रकाशन गरेको एक विज्ञप्तिमा सो जानकारी गराइएको समाचारमा जनाइएको छ । 

त्यसैगरी, आजै मध्यरातिदेखि भारतले यस्ता भिसाहरु बन्द गर्ने जनाएको सो विज्ञप्तिमा उल्लेख गरिएको छ । तर यसअन्तर्गत कूटनीतिक प्रयोजनका लागि आवश्यक, अन्तर्राष्ट्रिय संस्थाहरुका भिसा, रोजगारीसम्बन्धी र आयोजनाका भिसाहरु भने यथावत नै रहने बताइएको छ । 

भारत सरकारले बिहीबार प्रकाशन गरेको विज्ञप्तिमा चीन, इटाली, इरान, गणतन्त्र कोरिया, फ्रान्स, स्पेन र जर्मनीबाट आउने पर्यटकलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राखिने पनि जनाएको छ । ती देशबाट भारत प्रवेश गर्ने नागरिकलाई कम्तीमा पनि १४ दिन क्वारेन्टाइनमा राखिने व्यवस्था मिलाइएको भारत सरकारको प्रेस इन्फरमेसन ब्युरोले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ । भारतमा कोरोना भाइरसका केही संक्रमित फेला परेका छन् । तर यसबाट कसैको मृत्यु भने भएको छैन ।

त्यस्तै, विश्वका ११० भन्दा बढी देशमा यसको संक्रमण देखिएको छ । अहिलेसम्म यसबाट मृत्यु हुने नागरिकको सङ्ख्या ४ हजार ५०० पुगेको बताइएको छ । तर यसमध्ये ५० हजार भन्दा बढी उपचारपछि घर फर्किएका छन् । यस भाइरसको उद्गमस्थल मानिएको चीनको हुबेई प्रान्तको उहानमा भने अब नियन्त्रणतर्फ आएको समाचारमा जनाइएको छ ।

त्यसैगरी, चीनबाट निस्किएको यो प्रकोपबाट अहिले भने युरोप र एसियाका केही देश बढी प्रभावित भएका छन् । इटाली यसबाट चीनपछि सबैभन्दा बढी प्रभावित भएको छ भने इरान, दक्षिण कोरिया आदि देशमा पनि यो पुगेको छ । - रासस    

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको