Like us!
Follow us!
Connect us!
Watch us!

काेराेना अपडेट : ६४ हजार नमूना परीक्षण, ३२८ जना रेड जोनमा

निशा हुमाँगाई

सोमबार, २२ बैशाख २०७७, १६ : ४५ मा प्रकाशित

काेराेना अपडेट : ६४ हजार नमूना परीक्षण, ३२८ जना रेड जोनमा

अर्थ संसार, काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाको आशंकामा १ हजार ३ सय ८२ जनाको नमूना परीक्षण गरिएकाे जानकारी दिएकाे छ । 

यसैगरी, मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लाे २४ घण्टामा नेपालमा काेराेना भाइरसकाे नयाँ संक्रमित नभेटिएकाे जानकारी दिएका छन् ।

त्यसैगरी, कोरोनाको आशंकामा ६४ हजार ४ सय ८५ जनाको नमूना परीक्षण भएको उनले बताए । जसमध्ये, १३ हजार ६ सय ४० जनाको पिसिआर विधिबाट र ५० हजार ८ सय ४५ जनाको र्‍यापिड डाईग्नोस्टिग टेष्ट (आरडिटी) विधिबाट परीक्षण भएकाे डा.देवकाेटाले बताएका छन् । 

प्रदेश १ मा ५ हजार ८ सय ३७, प्रदेश २ मा ५ हजार ७ सय ३६, बागमतीमा ८ हजार ६ सय १०, गण्डकीमा ५ हजार ८ सय ८२, प्रदेश ५ मा ४ हजार ८ सय ३१, कर्णालीमा ५ हजार ८ सय १३ र सुदूरपश्चिम प्रदेशमा १४ हजार १ सय ३६ जनाको र्‍यापिड डाईग्नोस्टिग टेष्ट (आरडिटी) विधिबाट नमूना परीक्षण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । 

यस्तै, उनले हालसम्म २१ हजार ५ सय २३ जनालाई क्वारेन्टाइनमा राखिएको बताए । साथै, काठमाडौं उपत्यकामा १ जना र बाहिर १०५ जना गरी कुल १०६ जना आइसोलेसनमा रहेका छन् । 

त्यसैगरी, मन्त्रालयलका अनुसार हालसम्म नेपालमा भेटिएका ७५ जना संक्रमितमध्ये १६ जना उपचारपश्चात् निको भई घर फर्केका छन् बाँकी संक्रमितको चिकित्सकको निगरानीमा उपचार भइरहेको छ । प्रदेश १ मा ३१, प्रदेश २ मा १३, बागमतीमा ७, गण्डकीमा २, प्रदेश ५ मा १७ र सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित भेटिएका हुन् । हालसम्म कर्णाली प्रदेशमा भने संक्रमित भेटिएका छैनन् ।

 त्यस्तै, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालसम्म नेपालमा ३ सय २८ जना रेड जोनमा रहेका जानकारी दिएकाे छ । रेड जोनमा पर्नेहरुको ट्रेसिङ गर्ने, विवरण राख्ने, उनीहरुको जानकारी लिने, नमूना परिक्षण तथा अनुगमनको लागि जाँच गर्ने लगायत कामको लागि सम्बन्धित स्थानीय तहमा खबर गर्ने काम भइरहेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको