अर्थ संसार, काठमाडौं - धुलिखेल अस्पतालमा गत बिहीबार राति उपचारको क्रममा मृत्यु भएकी सुत्केरी महिलामा कोरोना संक्रमण रहेको पुष्टि भएको छ ।
स्वासप्रस्वासमा समस्या देखिएपछि ती महिलालाई बिहीबार अस्पताल ल्याइएको थियो । उनलाई भेन्टिलेटरमा राख्दा पनि बचाउन नसकिएको अस्पताल स्रोतले जनाएको छ ।
सिन्धुपाल्चोकको बाह्रबिसे- ९ की २९ वर्षिया ती महिला एक साताअघि त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएकी थिइन् । अस्पतालबाट डिस्चार्च भएर घर गएकी उनमा सास फेर्न समस्या आएपछि स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो ।
महिलामा कोरोनाको लक्षण देखिएपछि अस्पतालमा गरिएको पीसीआर परीक्षणको रिपोर्ट पोजिटिभ आएको छ । पुन:पुष्टिका लागि राष्ट्रिय जनश्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ ।
महिलामा ज्वरो, खोकी देखिएको र सुत्केरी पश्चात धेरै रक्तश्राव भएको उनका आफन्तले जानकारी दिएका छन् । यद्यपि ती महिलाको मृत्युको कारण कोरोना संक्रमण नै हो कि होइन भन्ने पुष्टि गर्नका लागि स्वास्थ्य मन्त्रालयबाट चिकित्सकको टोली धुलिखेल पठाइएको छ ।
त्यस्तै, महिलाको शवको पोस्टमार्टम गरिने स्वास्थ्य मन्त्रालयका एक अधिकारीले जानकारी दिएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस