Like us!
Follow us!
Connect us!
Watch us!

अपि पावरले बनाउने सौर्य उर्जाका लागि बैंक अफ काठमाडौंले २५ करोड ऋण लगानी गर्ने

अर्थ संसार

सोमबार, २० पुस २०७७, २१ : ०८ मा प्रकाशित

अपि पावरले बनाउने सौर्य उर्जाका लागि बैंक अफ काठमाडौंले २५ करोड ऋण लगानी गर्ने

अपि पावर कम्पनी लिमिटेडले ४ मेगावाट क्षमताको चन्द्रनिगाहपूर सौर्य विद्युत आयोजना निर्माण गर्न लाग्ने स्रोत जुटाएको छ । उक्त आयोजना निर्माण गर्न कुल लागतको ७५ प्रतिशतले हुने २४.७५ करोड रुपैयाँ बैंक अफ काठमाडौं लिमिटेडले बैंक ऋण प्रवाह गर्ने भएको छ ।

यस सम्बन्धी सम्झौतापत्रमा सोमबार हस्ताक्षर भएको छ । आयोजनाको वित्तीय व्यवस्थापन सम्झौतामा अपि पावर कम्पनीका अध्यक्ष सतिस न्यौपाने र बैंक अफ काठमाडौंका चिफ विजनेस अफिसर विमल डागाँले हस्ताक्षर गरे ।

रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकामा सौर्य ऊर्जा उत्पादन प्यानलहरु जडान गरी विद्युत उत्पादन गरिने कम्पनीले जनाएको छ । आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको चन्द्रनिगाहपूर सव–स्टेशनको ३३ के.भि. बसबारमा जडान गरी राष्ट्रिय प्रशारण लाईनमा प्रवाह गरिनेछ ।

यस आयोजनाबाट वार्षिक ६९.२५ लाख युनिट विद्युत उत्पादन हुनेछ । आयोजना निर्माणका लागि ३३ करोड रुपैयाँ लाग्ने अनुमान छ । कुल लागतमध्ये २५ प्रतिशतले हुने रकम ८.२५ करोड कम्पनीले आफ्नो स्वपूँजीबाट लगानी गर्ने छ ।

अपि पावर कम्पनी लिमिटेडले आफ्नो लगानी तथा बैक ऋणबाट सुदुर पश्चिम प्रदेश, दार्चुला जिल्लामा वहने नौगड गाढ नदीको पानी उपयोग गरी प्रथम ८.५ मेगावाट क्षेमताको नौगड गाढ जलबिद्युत आयोजना र दाश्रो ८ मेगावाट क्षमताको अपर नौगड गाढ जलविद्युत आयोजना निर्माण सम्पन्न गरी राष्ट्रिय ग्रिडमा बिद्युत प्रवाह गरिरहेको छ ।संचालनमा रहेका यी दुवै आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको बलाचँ सवस्टेशनमा जडान गरी अत्तरीया–वलाँच १३२ के.भी. ट्रान्समिसन लाईनमार्फत प्रवाह भईरहेको छ ।

सुदुर पश्चिम प्रदेश, दार्चुला जिल्ला, अपि हिमाल र मार्मा गाउँपालिका भई वहने चमेलिया नदीको पानी उपयोग गरी कम्पनीले तेश्रो जलविद्युत आयोजना ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत निर्माणको कार्य द्रुत गतिमा गरिरहेको छ । यस आयोजनाबाट वार्षिक २६ करोड ४१ लख युनिट विद्युत उत्पादन हुनेछ ।

यस आयोजना निर्माणका लागि जम्मा ७४० करोड लगानी लाग्ने अनुमान छ । कुल लागतमध्ये ७० प्रतिशतले हुने रकम ५१८ करोड हिमालन बैंक लिमिटेडको अगुवाईमा बैंक ऋण प्रवाह गर्नेगरी वित्तिय व्यवस्थापन सम्झौता भइसकेको छ । बाँकी ३० प्रतिशतले हुने रकम २२२ करोड रुपैयाँ कम्पनीले आफ्ना शेयरधनीहरुलाई हकप्रद शेयर जारी गरी २ चरणमा रकम संकलन गर्ने गरी कम्पनीले काम गरिरहेको छ ।

जसमध्ये प्रथम चरणको हकप्रद १ शेयर बराबर नयाँ ०.४७ को अनुपातमा ५६ लाख ७० हजार कित्ता हकप्रद साधारण शेयर निस्कासन गरी रकम संकलन गरी सकेको छ । त्यसबाट ४३ करोड २३ लाख ७८ हजार २ सय रुपैया स्वपूँजी संकलन गरिएको छ । विक्री नभएको १३ लाख ४६ हजार २ सय १० कित्ता शेयर शिलबन्दी बोलकबोल प्रकृयाबाट खुल्ला गरी आवदेन प्राप्त गरिएकामा अधिकतम मूल्य २ सय ३० रुपैयाँ र न्यूनतम २ सय २ रुपैयाँका दरले प्रति कित्ता बाँडफाँड गरी कम्पनीले २८ करोड ६७ लाख१९ हजार ४ सय ३५ रुपैयाँ संकलन गरेको छ ।

कम्पनीले यस आयोजनाको निर्माण २४ महिना भित्र सम्पन्न गर्ने लक्ष्य लिई कार्य गरिरहेको छ । आयोजनाको विद्युत बिक्रिबाट प्रथम वर्ष १६२ करोड आय आर्जन हुनेछ । उक्त आयमा ८ वर्षसम्म वार्षिक ३ प्रतिशतका दरले वृद्घि हुँदै जानेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको