एउटै लगानीकर्ताले कुनै कम्पनीको ठूलो मात्रामा सेयर किनेर होल्ड गर्ने, बजारमा आपूर्ति कम गरेर मूल्य बढाउने र बिक्री गर्ने प्रवृत्ति सेयर बजारमा बढ्दै गएको छ
११ माघ ०७७ मा एनसिसी बैंकको २ लाख २० हजार ४ सय ८४ कित्ता सेयर कारोबार भयो । त्यसमध्ये १ लाख ८५ हजार ८ सय ६८ कित्ता सेयरको बिक्री ब्रोकर नं ५८ बाट भयो । सो दिन भएको एनसिसी बैंकको कुल कारोबारको ८४ दशमलव २३ प्रतिशत सोही ब्रोकरबाट भएको थियो ।
त्यस्तै, ३ फागुनमा ग्लोबल आइएमई बैंकको १० लाख १० हजार सेयर कारोबार भएकोमा ४२ नम्बर ब्रोकरले मात्रै ३ लाख ८१ हजार सेयर किनेको थियो । त्यो कुल सेयरको ३८ प्रतिशत हो ।
त्यस्तै, नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हिमालयन डिष्टिलरीको ८६ लाख कित्ता सेयर सूचीकृत छ । कम्पनीको आव २०७६/७७ को वित्तीय विवरणअनुसार सर्वसाधारणसँग ६० लाख १८ हजार कित्ता सेयर छ । ८ मंसीर २०७७ मा एकै दिन कम्पनीको ४ लाख ५३ हजार कित्ता (७ दशमलव ५३ प्रतिशत) साधारण सेयर किनबेच भयो । अधिकांश ठूला कम्पनीको सर्वसाधारण सेयर सामान्यतया एक दिनमा २/३ प्रतिशत किनबेचमा आउने गर्छ ।
तर, सो दिन २९ सय ७९ अन्तिम मूल्य हुँदा ब्रोकर नम्बर ५८ मार्फत हिमालयन डिष्टिलरीको कारोबारमा आएकोमध्ये ११ प्रतिशत सेयर खरिद भयो । त्यसको करिब ३ महिनामै कम्पनीको सेयर मूल्य ६३ प्रतिशतले बढेर ४ हजार ८ सय ५१ रुपैयाँ पुग्यो । कुल १ लाख ६२ हजार कित्ता सेयर कारोबार हुँदा सोही ब्रोकरमार्फत ५० हजार ४ सयभन्दा बढी सेयर बिक्री भयो । पछिल्लो तीन महिनामा सेयर बिक्री गर्दा ९ करोड ३२ लाखभन्दा बढी कमाइ भयो ।
गत १ साउनदेखि १२ फागुनसम्मको उच्च मूल्य पुगेका केही कम्पनीहरूको सेयर कारोबार ट्र्याक गर्दा मूल्य बढ्ने क्रममा एउटै ब्रोकरबाट ठूलो मात्रामा सेयर उठाइने र मूल्य उच्च भएपछि सोही ब्रोकरबाट बिक्री बढेको देखिएको छ ।
नयाँ पत्रिकाले गत १ साउनदेखि १२ फागुनसम्मको केही कम्पनीको सेयर कारोबारको प्रवृत्ति विश्लेषण गर्दा एउटै ब्रोकरमार्फत कुनै दिन कारोबारमा आएको कुनै कम्पनीको सेयरमध्ये यसरी ८४ प्रतिशतसम्म कारोबार भएको भेटिएको छ । त्यसबीचमा उच्च कारोबार भएकामध्ये सेयरमध्ये नेपाल लाइफ, शिखर इन्स्योरेन्स, एनसिसी बैंक, नबिल बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन डिष्टिलरीको सेयर कारोबार गर्दा मुख्य रूपमा कारोबार गर्ने ब्रोकरहरू छुट्याएर हेरिएको हो ।
धेरै कारोबार गर्नेमध्ये पहिलो, दोस्रो र तेस्रो स्थानमा रहेका ब्रोकरहरूलाई अलग्याएर उनीहरूबाट भएको उच्च खरिद वा बिक्रीलाई आधार मानेर कारोबार प्रवृत्तिको अध्ययन गरिएको छ । उच्च खरिद वा बिक्री गर्दा सम्बन्धित एउटै ब्रोकरको कारोबार सेयर संख्या सोही दिन कारोबार भएको पूरै सेयर संख्याको न्यूनतम १० देखि अधिकतम ८४ प्रतिशतसम्म भएको देखिन्छ । तर, लगानीकर्ताहरूले स्वामित्व बढाउन वा सम्भावना देखेर पनि कारोबार गर्ने ब्रोकरमार्फत खरिद बढाएको हुन सक्ने कारण यसलाई कर्नरिङ नै भन्न नमिल्ने स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सन्तोष मैनाली बताउँछन् । उनले भने ‘एकै दिन १०÷१२ करोडको कारोबार हुनुको अर्थ कुनै ठूलै लगानीकर्ताले सो कम्पनीको किनबेच गरिरहेको हुन सक्छ ।’
अध्ययनको क्रममा उच्च खरिदपछि १२ फागुनसम्म सम्बन्धित ब्रोकरमार्फत भएको सम्पूर्ण खरिद–बिक्रीपछि पनि ती कम्पनीसँग कति सेयर मौज्दात बाँकी छ भनेरसमेत हेरिएको छ । शिखर इन्स्योरेन्स, एनसिसी बैंक, नबिल बैंक र ग्लोबल आइएमई बैंकको मात्रै ती ब्रोकरसँग मौज्दात रहेको देखिन्छ । १२ फागुनसम्म यिनको क्रमश : २ लाख ४२ हजार, ४ लाख १७ हजार, १० लाख ३१ हजार र १९ लाख ११ हजार कित्ता मौज्दात देखिन्छ ।
नेपालमा अधिकांश क्षेत्रका कम्पनीको २ प्रतिशतभन्दा बढी सेयर एकै व्यक्ति वा समूहले खरिद गर्न नपाइने व्यवस्था छ । वार्षिक प्रतिवेदन तयार पार्दासमेत कम्पनीहरूले ० दशमलव ५ प्रतिशतभन्दा बढी सेयर स्वामित्व रहेकाहरूको पहिचान खुलाउनुपर्छ । तर, यस्तो लगत वर्षमा एकचोटि मात्र राखिने हुँदा वर्षको बीचमा कर्नरिङ गर्ने र मूल्य बढाएर लाभ लिने प्रवृत्ति बढेको हो । बजारमा एउटै कम्पनीमा मात्र केन्द्रित भएर कर्नरिङ गर्ने गरेकोसमेत पाइएको नेप्सेका एक अधिकारीले बताए । ‘कुनै–कुनै लगानी कम्पनी एउटै मात्र कम्पनीको सेयर कारोबार गर्ने उद्देश्यले बजारमा पसेकोसमेत देखिन्छ,’ नेप्सेका ती अधिकारीले बताए, ‘अन्य उद्देश्यले स्थापना भएका कम्पनीसमेत यस्तो गतिविधिमा लाग्ने गरेको देखिन्छ ।’
कम्पनीले चाहेमा दैनिक रूपमै यस्तो लगत राख्न सक्ने नेप्सेका ती अधिकारी बताउँछन् । इच्छाशक्ति भएमा बजार सञ्चालक नेप्से र नियामक धितोपत्र बोर्डले समेत यस्तो सुपरीवेक्षण गर्न सक्छ । अहिले कतिपय ब्रोकरले ठूला व्यवसायीहरूको लगानी व्यवस्थापन गरिदिएको लगानीकर्ता तथा विश्लेषक प्रकाश तिवारीले बताए । उनले भने ‘जसले गर्दा ब्रोकरको हातमा ठूलो रकम आएकाले उनीहरूले सेयर कर्नरिङ गर्ने र आफैँले समेत कारोबार गरेर कमाउने गरिरहेका छन् ।’
ब्रोकरहरूले हालसम्म लगानी व्यवस्थापन गर्ने भूमिका पाएका छैनन् । तर, पछिल्लो समय केही ब्रोकरले संघाई, चौधरीजस्ता ठूला घरानाहरूको लगानी व्यवस्थापन गर्दै आइरहेका छन् । यसरी कारोबार गर्न पाउँदा ब्रोकर कमिसनबाट हुने कमाइ मात्र नभई आफ्नै कारोबारसमेत गर्न सहज हुने तिवारीको जिकिर छ । ‘राष्ट्र बैंक र धितोपत्र बोर्डको समन्वयमा सेयर बिक्रीपछिको रकम पहिले कुन खातामा जान्छ र त्यो खाताबाट अन्य कुन खातामा ट्रान्सफर हुन्छ अनुसन्धान गर्ने हो भने सेयरमा कर्नरिङ गर्ने र लाभ लिने व्यक्ति पत्ता लाग्छ,’ तिवारीले भने ।
तर, धितोपत्र बोर्डले भने अनलाइन कारोबार सुुरु भएपछि उपलब्ध सुपरीवेक्षण प्रणालीले धेरै कुरा पहिल्याउन नसक्ने जनाएको छ । ‘पहिले अनलाइन आउनुअगाडि सुपरीवेक्षण गर्ने प्रणाली राम्रो थियो, अहिलेकाले खासै धेरै हेर्न मिल्दैन,’ धितोपत्र बोर्डका एक अधिकारीले भने,‘नेप्सेले नै यसको प्रयोग खासै गर्न सकेको छैन ।’ बोर्डका प्रवक्ता तथा कार्यकारी निर्देशक निरज गिरी भने अहिलेको सुपरीवेक्षण प्रणालीले पनि काम गरेको छ, तर गुणस्तर वृद्धिका लागि नेप्सेलाई भनिएको बताउँछन् । नयाँपत्रिका बाट
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस