Like us!
Follow us!
Connect us!
Watch us!

कोभिड–१९ बाट भारतमा एकै दिन तीन हजार ७८० को मृत्यु, तीन लाख ८२ हजार संक्रमित

अर्थ संसार

बुधबार, २२ बैशाख २०७८, ११ : ४९ मा प्रकाशित

कोभिड–१९ बाट भारतमा एकै दिन तीन हजार ७८० को मृत्यु, तीन लाख ८२ हजार संक्रमित

नयाँ दिल्ली, २२ बैशाख (रासस–एएनआई) – कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट नराम्रोसँग प्रभावित भारतमा पछिल्लो २४ घण्टामा तीन हजार ७८० जनाको मृत्यु भएको छ । बुधबार बिहान सार्वजनिक विवरणमा भारतमा कोभिड–१९ बाट कूल संक्रमितको संख्या दुई करोड सात लाख पुगेको उल्लेख छ ।

गत मे १ तारिखमा चार लाख कोभिड–१९ संक्रमित देखिए पनि पछिल्ला दुई दिनमा यो संख्यामा केही कमी आएको देखिएको केन्द्रीय परिवार कल्याण मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट संक्रमितको संख्या तीन लाख ५७ हजार रहेको भेटिएको छ । सरकारी विवरणमा कोभिड–१९ बाट हाल ३४ लाख ८७ हजार व्यक्ति संक्रमित अवस्थामा रहेका छन् । साथै पछिल्लो २४ घण्टामा तीन लाख ३८ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् ।

योसहित भारतमा हालसम्म एक करोड ७० लाख व्यक्ति संक्रमणमुक्त भएका छन् । कोरोनाभाइरस संक्रमणबाट हालसम्म भारतमा दुई लाख २६ हजार १८८ जनाको ज्यान गइसकेको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार देशभर २९ करोड ४८ लाख ५२ हजार नमूना परीक्षण गरिएको छ । मङ्गलबार एकै दिन १५ लाख ४१ हजार नमूना परीक्षण गरिएको पनि परिषदले जनाएको छ । कोभिड–१९ संक्रमितको दैनिक मृत्यु बढेसँगै भारत सरकारले कोभिड–१९ को खोप अभियानलाई पनि तिब्र बनाएको छ ।

स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार हालसम्म १६ करोड पाँच लाख व्यक्तिलाई खोप दिइसकिएको छ । कोभिड–१९ को तिब्र संक्रमण र मृत्युका कारण भारतको स्वास्थ्य पूर्वाधारमा ठूलो चाप देखिएको छ भने अग्रपंक्तिमा रहेर काम गर्नुपर्ने स्वास्थ्यकर्मीहरुमाथि ठूलो चुनौती देखा परेको छ ।

नयाँ दिल्ली र मुम्बई जस्ता ठूला शहरमा कोभिड–१९ का बिरामीका लागि अति आवश्यक अक्सिजनको आपूर्ति सहज हुन नसकेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । भारतमै सर्वाधिक असर देखिएको नयाँ दिल्लीमा पछिल्लो २४ घण्टामा झण्डै २० हजार नयाँ कोभिड संक्रमित देखिएका छन् भने ३३८ जनाको मृत्यु भएको छ । नयाँ दिल्लीमा हालसम्म कोभिड–१९ बाट सात हजार ७५२ जनाको ज्यान गइसकेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको