Like us!
Follow us!
Connect us!
Watch us!

मौद्रिक नीति समीक्षा : दोस्रो लहरको कोरोनाको कारण ४ प्रतिशत आर्थिक वृद्धि चुनौतीपूर्ण

अर्थ संसार

बुधबार, ०५ जेठ २०७८, १० : ०१ मा प्रकाशित

मौद्रिक नीति समीक्षा : दोस्रो लहरको कोरोनाको कारण ४ प्रतिशत आर्थिक वृद्धि चुनौतीपूर्ण

नेपाल राष्ट्र  बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेको छ । बैंकले कोरोना महामारीको दोस्रो लहरले अर्थतन्त्र प्रभावित हुन गई अनुमानित आर्थिक वृद्धि हासिल गर्न कठिन देखिने जनाएको छ ।

बैंकले अर्थतन्त्र सुधारोन्मुख दिशामा रहेको भएपनि दोस्रो लहरको संक्रमण नियन्त्रण गर्न धेरै स्थानहरुमा गर्नुपरेको निषेधाज्ञाका कारण अनुमानित ४ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न चुनौतीपूर्ण हुने जनाएको हो ।  
चालु आर्थिक वर्षको चैत मसान्तसम्म विप्रेषण आप्रवाह सन्तोषजनक रहेतापनि कोरोन महामारीको दोस्रो लहर फैलिएर र विगत एक वर्षभन्दा बढी समयसम्म वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्न नसकेकोले विप्रेषण आप्रवाहको वृद्धि कायम चुनौतिपूर्ण रहेको बैंकले जनाएको छ ।

केन्द्रिय बैंकले गरेको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाअनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म मुद्रास्फीति दर नियन्त्रित अवस्थामा रहेतापनि पछिल्लो समयमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि हुन थालेको, भारतको मूल्य वृद्धि नेपालको भन्दा केहि उच्च रहेको र नेपाली रुपैयाँ अवमूल्यन हुँदै गएको कारण आगामी दिनमा मुद्रास्फीतिमा चाप पर्ने स्थिति छ । तापनि आन्तरिक माग शिथिल रहेको र आपूर्ति व्यवस्थापन सहज नै रहेकोले चालु आर्थिक वर्षमा मुद्रास्फीति लक्षित सिमा भित्र रहने देखिन्छ ।
कोरोना महामारीको पहिलो लहरको प्रभावलाई नियमनकारी नीतिगत सहजताले गर्दा बैकिङ्ग क्षेत्रले व्यवस्थापन गरेकोमा दोस्रो लहरमा गरिएको बन्दाबन्दीले आर्थिक गतिविधिहरु पुनः प्रभावित भई बैकिङ्ग क्षेत्रपनि प्रभावित हुने अनुमान राष्ट्र बैंकले गरेको छ ।

कोभिड-१९ को पहिलो लहर शुरु भएदेखि नै कर्जाको माग घटेको तर लचिलो मौद्रिक नीतिका कारण तरलता प्रवाह बढेको हुनाले निक्षेप तथा कर्जाको व्याजदरहरु घट्दै गएको बैंकले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको