Like us!
Follow us!
Connect us!
Watch us!

एमाले एकता सहमतिनजिक

पत्रपत्रिका

विहीबार, २४ असार २०७८, ०६ : ५६ मा प्रकाशित

एमाले एकता सहमतिनजिक

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्र देखिएको विवाद समाधान भई पार्टी एकजुट हुने संकेत देखिएको छ । बुधबार विवाद समाधान गर्न गठित उच्चस्तरीय कार्यदलमा रहेका नेताहरूको पहलमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच लामो संवाद र कुराकानी भएको छ ।

होटल मेरियटमा भएको छलफलमा दुई नेताबीच मन माझामाझ भएपछि एमाले अब एकजुट हुने संकेत देखिएको हो । अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच विचार र सिद्धान्तमा मतभेद नभए पनि उनीहरू दुईमा देखिएको व्यक्तिगत टकरावका कारण पार्टी फुटको सँघारमा पुगेको थियो ।

तर दुवै पक्षको सहमतिमा बनाइएको युवा नेताहरू सम्मिलित कार्यदलले ओली र नेपाललाई विवाद समाधान गरी पार्टीलाई एकजुट बनाउन उच्च दबाब दिएपछि ओली र नेपाल पार्टीको विवाद समाधान गर्न तत्पर देखिएका हुन् । कार्यदलका सदस्यसँग दुवैको सामूहिक भेटघाट र छलफल भएपछि ओली नेपाल ‘वान टु वान’ वार्तामा बसेका थिए ।

वार्ताबाट सहमति गरी पार्टी एकजुट भएको सन्देश दिने गरी वक्तव्य निकाल्ने प्रयास भए पनि त्यसलाई बिहीबार अन्तिम रूप दिने सहमति भएको जनाइएको छ । ओली र नेपालबीच विभिन्न विषयमा छलफल भए पनि बुधबार नै सहमति भने जुट्न सकेन । यद्यपि, विवाद समाधान गरी पार्टीलाई एकजुट बनाउन दुवै नेताहरू लचक देखिएको एमालेका दोस्रो तहका नेताहरूको भनाइ छ ।

पार्टीभित्रको विवाद समाधानका लागि बुधबार बसेको कार्यदलको बैठक सहमतिनजिक पुगेको र पार्टी शीर्ष नेतासँग छलफल गरेर बिहीबार अन्तिम रूप दिने भएका छन् । यसअघि सिंहदरबारमा बसेको कार्यदलको बैठकले विवादित विषयमा सहमति जुटाउने सार्थक प्रयास गरेको थियो ।

विवादित सबै विषयमा कार्यदलका सदस्य सहमतिनजिक पुगेको र त्यसलाई अन्तिम रूप दिनुभन्दा अघि पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालसँग कार्यदलका सदस्यले छलफल गरेका हुन् ।

एमाले नेता तथा कार्यदल सदस्य सुरेन्द्र पाण्डेले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीचको छलफल सकारात्मक भएको बताए । ‘अब छिटै निकास निस्कनेमा आशावादी छौं,’ पाण्डेले भने ‘संयुक्त विज्ञप्ति आउने विषय धेरै अघि बढेको छ, सम्भवत छिटै आउनेछ ।’

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच विवाद भएपछि पार्टी एकताका लागि दुवै पक्षका नेताहरू रहेको कार्यदल गठन भएको थियो । कार्यदलबीच केन्द्रीय कमिटीको संख्या, पार्टी २ जेठ २०७५ मा फर्किने, एमाले प्रवेश गरेका पूर्वमाओवादी केन्द्रका नेताहरूको व्यवस्थापन, सर्वोच्च अदालतमा दायर रिटलगायतका विवादित विषयमा सहमति जुटेको एमाले स्रोतको दाबी छ ।

यी विषयमा भाषा मिलाउने विषयमा ओली र नेपालसँग कार्यदलका सदस्यले छलफल गरेको बताइएको छ । ओली र नेपालबीच भएको छलफलमा धेरै विषयमा सहमति जुटेमा केही विषयमा सहमति जुट्न बाँकी रहेको बताइएको छ ।

नेकपा एमालेका नेता एवं कार्यदलका संयोजक सुवासचन्द्र नेम्वाङले बैठकमा गम्भीर र सकारात्मक छलफल भएको बताए । बिहीबारसम्ममा सबै विवादित विषयमा सहमति जुट्ने बताउँदै उनले अहिलेसम्म भएको प्रगतिबारे शीर्ष नेताहरूसँग समेत छलफल भएको र छिट्टै टुंगो लगाइने बताए ।

‘विवादित सबै विषयमा गम्भीर र सकारात्मक रूपमा हामी छलफल ग¥यौं । शीर्ष नेताहरूसँग छलफलपश्चात् बिहीबार अन्तिम रूप दिनेछौं । मलाई विश्वास छ हामी एकताको विषयमा चाँडै निष्कर्षमा पुग्नेछौं,’ नेम्वाङले भने ।

कार्यदलका सदस्यहरू विगत तीन दिनदेखि निरन्तर छलफलमा छन् । सोमबार, मंगलबार र बुधबार गरी तीन दिन निरन्तर छलफलपश्चात् पार्टी एकताको खाका तयार गर्न कार्यदलबीच सहमति जुटेको हो ।

नेकपा नेता एवं कार्यदलका सदस्य गोकर्ण विष्टले पार्टी एकताका लागि सबैबीच गम्भीर रूपमा छलफल भएको र आफूहरू सहमतिनजिक पुगेको बताए । अविश्वासको खाडल कम हँुदै गएको बताउँदै उनले विवादित विषयमा एकमत रूपले अगाडि बढ्ने सहमति भएको बताए ।

‘हामी सहमतिनजिक पुगिसकेका छौं । अविश्वासको खाडल कम हँुदै गएको छ । एमाले प्रवेश गरेका पूर्वमाओवादी केन्द्रका नेताहरूको सही रूपमा व्यवस्थापनदेखि पार्टीका सम्पूर्ण कमिटी २ जेठमा फर्काउनेलगायतका विषयमा हामी गम्भीर रूपमा छलफल गरेका छौं,’ विष्टले भने ।

पार्टी नेताकार्यकर्ताको दबाबमा शीर्ष नेता कार्यदललाई सक्रिय बनाउँदै पार्टी एकता जोगाउनमा सहमत भएका हुन् । कार्यदलमा ओली समूहबाट संयोजक नेम्वाङ, सदस्यमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन् । यस्तै, नेपाल समूहबाट भीम रावल संयोजक र सदस्यमा घनश्याम भुषाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, रघुजी पन्त रहेका छन् ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता हुनुपर्ने अडान ओलीको छ । नेपाल समूहका २३ जना सांसदले हस्ताक्षर गरेका छन् । हस्ताक्षर फिर्ता गर्न सोमबार ९२१ असार० साँझ ५ बजेको समय नेपाल समूहलाई दिइएको थियो ।

गत शनिबार सम्पन्न केन्द्रीय कमिटीको बैठकले हस्ताक्षर फिर्ता लिन अल्टिमेट दिएको हो । तर, नेपाल समूहले हस्ताक्षर फिर्ता लिएको छैन । नेपाल समूहले पार्टी २ जेठ २०७५ मा फर्किनुपर्ने अडानमा लिँदै आएको छ ।

राजधानी दैनिकमा समाचार छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको