 
                            नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेता–कार्यकर्तालाई पार्टीमा फर्किन आह्वान गरेका छन्। उनले लोकतन्त्र, राष्ट्रिय स्वाभिमान र समृद्ध नेपालको यात्राका लागि फेरि एक पटक एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन्।
सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै ओलीले भनेका छन्, “निरंकुशताको अन्धकार हटाएर लोकतन्त्रको उज्यालो फैलाउने संघर्षमा नेकपा (एमाले) सधैं अग्रपंक्तिमा रह्यो। राष्ट्रिय स्वाधीनता जोगाउने बलियो कवच यही पार्टी बन्यो।”
उनका अनुसार एमाले केवल एउटा राजनीतिक संगठन होइन, जनताको रगत, पसिना र आशाबाट बनेको विशाल परिवार हो। ओलीले लेखेका छन्, “तीन पुस्ताले आफ्नो जीवनका उज्याला क्षण समर्पण गरेर यो घर अड्याएका छन्। कसैले जेलयातना भोगे, कतिले जीवन बलिदान गरे, कतिले युवावस्था आन्दोलनमा अर्पण गरे।”
वर्तमान राजनीतिक परिस्थितिलाई ‘लोकतान्त्रिक संविधानमाथिको आक्रमण’का रूपमा चित्रण गर्दै उनले भनेका छन्, “राष्ट्रिय एकता, देशको स्वाभिमान र लोकतन्त्रको रक्षाका लागि हामी मौन रहन सक्दैनौं। सबैले एकै मन, एकै स्वर र एकै दिशामा अघि बढ्नुपर्छ।”
नेता र कार्यकर्ताहरूलाई पार्टीमा फर्किन आग्रह गर्दै उनले जोड दिएका छन्, “जहाँ हुनुहुन्छ, फर्किनुस् आफ्नै घर फर्किनुस्। यो घर तपाईंहरूको पसिना र रगतले बनेको हो।”
ओलीले अन्त्यमा भनेका छन्, “फेरि हामी सबै काँधमा काँध मिलाएर अघि बढौं — देशको स्वाधीनता जोगाऔं, लोकतन्त्रको रक्षा गरौं, र जनताको जीवनमा सुख, समृद्धि र आशाको ज्योति बालौं। कोही अलमलमा नपर्नुस्, आउनुस् आफ्नै घरमा — हाम्रो साझा सपना साकार पार्न।”
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस