Like us!
Follow us!
Connect us!
Watch us!

गण्डकी प्रदेशमा अर्बपति मन्त्री

पत्रपत्रिका

विहीबार, १० भदौ २०७८, ०७ : ३६ मा प्रकाशित

गण्डकी प्रदेशमा अर्बपति मन्त्री

गण्डकी प्रदेशका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । जसअनुसार गण्डकीमा अर्बपति मन्त्रीसमेत देखिएका छन् ।

कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको प्रदेश सरकारमा ११ मन्त्री छन् । तीमध्ये मुख्यमन्त्री पोखरेलसहित नौ मन्त्रीले मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेवसाइटमार्फत सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । गत २९ जेठमा पोखरेल नेतृत्वमा नयाँ सरकार बनेको थियो ।

सार्वजनिक सम्पत्ति विवरणमा मुख्यमन्त्री पोखरेलले आफ्नो २५ लाख रुपैयाँ ऋण देखाएका छन् भने सबैभन्दा धनी मन्त्रीमा विन्दुकुमार थापा देखिएका छन् । थापाको सम्पति विवरण हेर्दा उनी अर्बपति मन्त्रीको रूपमा देखिएका हुन् । उनी व्यापारिक पृष्ठभूमिबाट राजनीतिमा आएका हुन् ।

सम्पति विवरणमा मुख्यमन्त्री पोखरेलले दुई वर्षअघि २०७६ सालमा कृषि विकास बैंकबाट २५ लाख रुपैयाँ ऋण लिएको जनाएका छन् । उनको नाममा काठमाडौं र तनहुँमा जग्गा छ । नवलपुर गैंडाकोटमा ०.३ रोपनी, ४ आना डेढ पैसा जग्गामा साढे दुईतले पक्की घर छ । उक्त घरजग्गा पैतृक सम्पत्ति बेचेर खरिद गरेको उनले जनाएका छन् ।

पोखरेलको नाममा काठमाडौंमा १५ आना २ दाम जग्गा छ । सो जग्गा बैंकबाट ऋण लिएर १५ लाख रुपैयाँमा खरिद गरेको उनले बताएका छन् । साथै ५ तोला सुनसमेत रहेको उल्लेख छ । श्रीमती लताको नाममा २० लाख रुपैयाँको घर छ । तलबबाट आएको ५ लाख एभरेस्ट बैंकमा रहेको भनी आम्दानी देखाएका छन् ।

सार्वजनिक सम्पत्ति विवरणमा सबैभन्दा धनी विन्दुकुमार थापा देखिएका हुन् । उनी कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री हुन् । उनले पोखराका विभिन्न ६ स्थानमा घर र आठ ठाउँमा जग्गा देखाएका छन् । पोखराका घरजग्गा, अटोमोबाइल, रिसोर्टलगायत व्यवसायीसमेत रहेका थापाको यसअघि नियुक्तिमै विवाद उत्पन्न भएको थियो । शपथ खान तनहुँबाट पोखरा आउँदै गरेका डोबाटे विकलाई पछि पार्दै मन्त्री बनेका थापाको पोखराको नयाँ बजारमा ३ हजार ९ सय ११ वर्ग मिटरमा घर छ । नयाँ बजारमै ४ हजार ९ सय ९४ वर्ग मिटरमा अर्को घर छ ।यस्तै, सिटी ट्रेड मल, लेकसाइडस्थित पोखरा बुटिक होटल पनि रहेको छ । उनले आम्दानीको स्रोतमा पैतृक सम्पत्ति भनी दाबी गरेका छन् । पर्यटकीयस्थल लेकसाइडस्थित बगैंचा रिसोर्ट, गण्डकी ट्रेड मल, सिटी ट्रेड मल, अंशुभरा स्क्युवार प्रालि, हिमालयन रिसोर्ट पनि उनको सम्पत्ति हो ।

उनले २ गाडी, ५ बैंक तथा वित्तीय संस्थामा ऋण रहेको उल्लेख गरेका छन् भने उनको घरमा नगद ५५ हजार रुपैयाँ, ९० तोला सुन, ५० तोला चाँदी, १५ तोला हिरा छ । विभिन्न १० वटा बैंक तथा वित्तीय संस्थामा झन्डै १० करोड नगद छ भने आफूसहित सगोलको परिवारमा गरी ७ लाख ५० हजार कित्ता सेयर छ । उनले सम्पत्ति विवरणमा ५ बैंकबाट ३१ करोड ३ लाख ७० हजार ऋण लिएको उल्लेख गरेका छन् ।

(याे समाचार आजको राजधानी दैनिकमा विजय नेपालले लेखेका छन् ।)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको