Like us!
Follow us!
Connect us!
Watch us!

८ वटा कम्पनीको साधारण सभा हुँदै, कुनको कति लाभांश ?

अर्थ संसार

आइतबार, २० भदौ २०७८, १३ : १९ मा प्रकाशित

८ वटा कम्पनीको साधारण सभा हुँदै, कुनको कति लाभांश ?

विभिन्न ८ वटा कम्पनीहरूले साधारण सभा आह्वान गरेका छन् । साधारण सभा हुन लागेका ८ वटा कम्पनीमध्ये ३ वटा कम्पनीले लाभांशसहित हकप्रद प्रस्ताव पारित गर्नेछन् । एउटा कम्पनीले हकप्रद प्रस्ताव पारित गर्नेछ । एउटा कम्पनीले लाभांश पारित गर्नेछ । अन्य ३ वटा कम्पनीहरूले भने वार्षिक प्रतिवेदनहरू पारित गर्नेछन् ।

साधारण सभा हुन लागेकाे कम्पनीहरूकाे विवरण यस प्रकारकाे छ :

१. ङादी ग्रुप पावर लिमिटेड 

ङादी ग्रुप पावर लिमिटेडकाे आठौँ वार्षिक साधारण सभा असोज ३ गते काठमाडौंको अनामनगरस्थित क्विन्स क्याफेमा बिहान ९ बजेबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७७/८८ को मुनाफाबाट २० प्रतिशत बोनस सेयर र  १.०५ प्रतिशत नगद लाभांश (कर प्रयोजन) सहित कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  त्यसैगरी, सभाले २० प्रतिशत बोनस सेयर वितरणपछि कायम हुने चुक्तापुँजीको २०० प्रतिशत अर्थात् १:२ अनुपातको हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।  यसका साथै, बोनस तथा हकप्रद सेयर जारीपश्चात पुँजी वृद्धि गर्न प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। लाभांश वितरण र वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले भदौ १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले भदौ १७ गतेसम्म कायम सेयरधनीहरुले मात्र लाभांश पाउन र सभामा भाग लिन सक्नेछन् । 

२. अपी पावर कम्पनी लिमिटेड

अपी पावर कम्पनी लिमिटेडको अठारौँ वार्षिक साधारण सभा भाद्र २५ गते, शुक्रबार कम्पनीको प्रधान कार्यालय, ट्रेड टावर, काठमाडौँबाट भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ । सभामा कम्पनीको साउन ३२ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको २०७८ असार मसान्तसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १०.५० प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनको लागि ०.५५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरि कुल ११.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । यसका साथै, सभामा हकप्रद निष्कासन गर्ने प्रस्ताव पनि पारित गरिनेछ । कम्पनीले बोनस वितरण गरेपश्चात कायम हुने पुँजीको १:०.३९३६ को अनुपातमा हुन आउने हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको छ । सभाले वार्षिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन उपर छलफल गरि पारित गर्नुका साथै लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक पनि निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले हकप्रद निष्काशनका सम्बन्धमा नियमनकारी निकायबाट प्राप्त र्निदेशन बमोजिमका कार्य गर्न गराउन सञ्चालक समितीलाई अख्तियारी दिने सम्बन्धी प्रस्तावहरु मथि छलफल गरी पारित गर्नेछ ।  

३. अरुण काबेली पावर लिमिटेड

अरुण काबेली पावर लिमिटेडकाे अठारौँ वार्षिक साधारण सभा भाद्र २६ गते, शुक्रबार कम्पनीको प्रधानकार्यालय, ट्रेडटावर काठमाडौँबाट भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ । सभामा गत आर्थिक वर्षको मूनाफाबाट आफ्ना सेयरधनीहरुलाई १७ प्रतिशत बोनस सेयर र ०.८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । कम्पनीले बोनस सेयर वितरणपश्चात् १ः१ को अनुपातमा हकप्रद निष्कासनको प्रस्ताव समेत साधारण सभामा लैजानेछ ।  कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनार्थ भदौ १५ गतेदेखी बुकक्लोज गर्ने निर्णय समेत गरेको छ । त्यसैले भदौ १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुलेमात्र सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

४. श्रीराम सुगर मिल्स

श्रीराम सुगर मिल्सकाे पच्चीसाैँ वार्षिक साधारण सभा भदौ २४ गते, बिहीबार अर्पण ब्यांक्वेट, नयाँ बानेश्वर, काठमाडौंमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सुरू हुनेछ ।  सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीकाे आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेही अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि ताेकिनेछ ।

५. नेपाल फाइनान्स कम्पनी लिमिटेड

नेपाल फाइनान्स कम्पनी लिमिटेडकाे २८ औँ वार्षिक साधारण सभा भदौ २६ गते , शनिबार  कम्पनीको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा वेबिनारमार्फत बिहान ११ बजेबाट सुरु हुनेछ। उक्त सभाले हकप्रद जारी गर्ने  विशेष प्रस्ताव पारित गर्नेछ । यसअघि कम्पनीलेको २० औँदेखि २७ औँ वार्षिक साधारणसभाले १:१.७५ अनुपातले हकप्रद जारी गरी पुँजी वृद्धि गर्ने विशेष प्रस्ताव पारित गरेको थियो। सोही सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग गाभ्ने, गाभिने र प्राप्ति गर्ने विशेष प्रस्ताव पनि पारित गरेको थियो । उक्त वार्षिक साधारणसभापछि कम्पनीले ललितपुर फाइनान्सलाई प्राप्ति गरेको थियो । त्यसपछि कम्पनीको चुक्तापुँजी ४९ करोड ३४ लाख ९६ हजार ४०० रुपैयाँ पुगेको छ। 

सभाले कम्पनीको हाल कायम चुक्तापुँजी बढाएर ८३ करोड ८९ लाख ४३ हजार ८८० रुपैयाँ पुर्याउने प्रस्ताव पारित गर्नुका साथै ७० प्रतिशत अर्थात् १:०.७० अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ। सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थालाई गाभ्ने, गाभिने र प्राप्ति गर्ने प्रक्रिया अगाडि बढाउन सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पारित गर्नेछ। यसका साथै, वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायत विविध एजेण्डाहरुमाथि छलफल गरी पारित गर्नेछ। कम्पनीले  साधार णसभा प्रयोजनका लागि कम्पनीले भदौ १५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले, भदौ १४ गतेसम्म कायम सेयरधनीहरुमात्रै सभामा भाग लिन सक्नेछन्। 

६. बेष्ट फाइनान्स कम्पनी लिमिटेड

 बेष्ट फाइनान्स कम्पनी लिमिटेडकाे २४औँ वार्षिक साधारण सभा भदाै ३० गते, फाइनान्सकाे केन्द्रिय कार्यालय, कमलादी, काठमाडाैँमा हुनेछ । सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी सम्पूर्ण प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभामा सञ्चालक समितिबाट संस्थापक शेयरधनीको तर्फबाट मनोनित महिला सञ्चालक नियुक्तिको अनुमोदन गर्ने र नयाँ कार्यसमितिको लागि संस्थापक तथा सर्वसाधारण समूहको सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गरिनेछ । साधारण सभा प्रयोजनार्थ फाइनान्सले भदौ ८ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ। त्यसैले, भदौ ७ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।

७. रुरु जलविद्युत परियोजना लिमिटेड

रुरु जलविद्युत परियोजना लिमिटेडकाे १५ औँ र १६ औँ वार्षिक साधारण सभा असोज १६ गते हात्तीसारस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७६/७७ मुनाफाबाट १०.५६३२ प्रतिशत नगद लाभांश (कर सहित) र २०७७/७८ को मुनाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यसका साथै, सभाले बोनस सेयर जारीपछि जारी तथा चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ। त्यसैगरी, सभाले वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणहरु छलफल गरी पारित गर्नेछ। लाभांश र साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज ७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले असोज ६ गतेसम्म कायम सेयरधनीहरुमात्र यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन सक्नेछन्। 

८. राष्ट्रिय बीमा संस्थान

राष्ट्रिय बीमा संस्थानकाे ३१ औं वार्षिक साधारण सभा भदौ २६ गते, शनिबार कम्पनीकाे प्रधान कार्यालय, रामशाहपथ, काठमाडौंमा अपरान्ह्र २ बजेबाट सुरू हुनेछ । सभामा संस्थानकाे आर्थिक वर्ष २०६६/६७, २०६७/६८ र २०६८/६९ को वार्षिक प्रतिवेदन प्रस्तुत हुनेछ । सभामा लेखा परीक्षकको नियुक्ती गरी पारिश्रमिक अनुमोदन गर्ने, सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न शेयरधनीहरु र सञ्चालकको तर्फबाट १/१ जना प्रतिनिधि तोक्ने लगायतका प्रस्ताव पेश हुनेछन् । संस्थानले साधारण सभा प्रयोजनका लागि भदौ ६ गतेदेखि भदाै २६ गतेसम्म बुकक्लोज गरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको