Like us!
Follow us!
Connect us!
Watch us!

दशैंको मुखमा चिनियाँ सामान नाकामा रोकिँदा स्टकबाट काम चलाउँदै व्यापारी

अर्थ संसार

बुधबार, १३ असोज २०७८, १६ : ४३ मा प्रकाशित

दशैंको मुखमा चिनियाँ सामान नाकामा रोकिँदा स्टकबाट काम चलाउँदै व्यापारी

नेपाल अहिले फेसनको मामलामा निकै अगाडि पुगिसकेको छ । नेपालीलाई चाहिने फेसन अनुसारका लुगा, जुत्ता, ब्याग तथा अन्य सामग्री चीनबाट आयात हुने गरेको छ । बजारमा चिनियाँ सामानले धेरै क्षेत्र ओगटेको छ । ग्राहकले खर्च गर्नसक्ने क्षमता अनुसारको थरीथरीको सामान चीनले पठाउने गरेको छ ।  सस्तो खोज्नेलाई सस्तो, स्तरीय खोजेर महंगै भए पनि पैसा तिर्छु भन्नेलाई त्यहीँअनुसारको सामान चीनले उपलब्ध गराउँदै आएको छ ।

तर यसपालि चाडपर्व आइसक्दा समेत चीनबाट मगाएका रेडिमेड कपडा, जुत्ता–चप्पल लगायतका सामानहरु अझै नेपाल भित्रिन सकेका छैनन् । दशैंका लागि आयात गरेको सामानहरु कोभिड १९ महामारीको प्रोटोकलले लामो समयदेखि नाकामै अड्किएको व्यवसायीले बताएका छन् । दशैंतिहारका लागि व्यापारीले स्थलमार्गबाट लुगा–जुत्ता र फलफूललगायत सामग्री मगाएका कन्टेनर पर्याप्तमात्रामा भित्र्याउन नपाउँदा नेपाली बजारमा चिनियाँ सामान तथा विश्व बजारमा चलेका ब्राण्डहरुको अभाव देखिन थालेको छ । 

केरुङ नाकामा सिण्डिकेटका कारण कम मात्रामा कन्टेनरहरु आइरहेको व्यवसायी बताउँछन् । न्युरोडका व्यवसायी माधवप्रसाद तिमल्सिना भन्छन्,  ‘भन्सारबाट यतिबेला फलफूलका कन्टेनर दिनमा ४–५ वटा जस्तो आइपुग्ने गरेको छ भने लुगा–जुत्ताको गाडी भने १–२ वटा मात्रै आइपुग्ने गरेको छ । चाडपर्वको समयमा नयाँ ब्राण्डका सामान आइनपुग्दा हामीलाई व्यापार गर्नै समस्या भएको छ,’ उनले भने । 

नेपालीहरु सस्तो हुने भएकाले प्राय: चिनियाँ सामान नै खरीद गर्न खोज्छन् । चीनबाट आउने सामानमा विश्वमै चलेका ब्राण्डहरु जस्तैः जुत्तामा न्यु ब्यालेन्सिया, नाइक, एडिड्यासलगायत प्रख्यात ब्राण्डहरु सस्तोदेखि महंगोसम्मको पाइने हुनाले यसमा आकर्षण बढेको पनि व्यवसायी तिमल्सिनाले बताए । तर मगाएको सामान नाकामै रोकिएर भित्र्याउन नपाउँदा बजारमा निराशा छाउँदै गएको व्यवसायीको गुनासो छ । 

बजारमा लुगाकपडा स्वदेशी तयारी पोशाक उद्योग पर्याप्त छन् । तर, चिनियाँ सामानमा उपभोक्ताको आकर्षण तथा मूल्य र गुणस्तर चाहेअनुसार पाउने भएकाले व्यवसायीहरु चीनबाटै सामान आयात गर्दै आएका छन् । नाकाबाट सामान ल्याउन नपाउँदा दशैंमा सोचेजस्तो कारोबार गर्न नपाइने चिन्तामा व्यवसायी छन् । बजारमा दशैंको किनमेलको लागि भिडभाड बढ्न थालेको छ । यतिबेला ग्राहक आए पनि खोजेको जस्तो सामान दिन नसक्ने अवस्था रहेको व्यवसायी तिमल्सिना गुनासो गर्छन् । 'अर्डर गरेको सामान यति बेला आएर पनि बिक्री गर्ने बेला भइसक्थ्यो । तर, अझै आइपुगेन । अबको एक दुघ दिनमा पनि नआए त्यो सामान पनि थन्काएर राख्नुको विकल्प छैन,' उनले भने ।  

कोभिडको कारणले पटक पटक नाका बन्द हुँदा नेपाली बजार समस्यामा परेको छ । महामारीको अवस्था सामान्य बन्दै गए पनि दैनिक रुपमा भन्सारमा भित्रिने कन्टेनरको संख्या बढ्न नसक्दा व्यवसायी मारमा परेका हुन् । 

अर्डर गरेको समान ग्राहकलाई दिनै समस्या भइरहेको बानेश्वरका व्यवसायी विशाल सापकोटाले बताए । उनी भन्छन्, ‘आधा सामान उतै रोकिएको छ । दशैंको लागि पहिले भन्दा कम अर्डर गरे पनि सामान आइपुगेन,’ उनले भने, ’पहिले ल्याएको सामानले काम चलाउँदै आए पनि ग्राहकको आवश्यकता पूर्ति गर्न असहज भएको छ । रिटेलमा सामान लिन पाइएकै छैन ।’ ग्राहकले विश्व बजारमा धेरै चलेका कपडाका ब्राण्डमा जस्तैः च्यामपियन, रिफ रक, लिभाइस, ग्याप, पोमी लगायतका ब्राण्डहरु खोज्ने हुनाले यसको अभाव भएको बताए । नेपालीले स्वदेशमा बनेको सामान कम प्रयोग गर्ने गरेको उनको अनुभव छ ।

बजारमा माग उच्च भए पनि पहिलाकै स्टक सामानले काम चलाइरहेको बताउँदै उनले त्यसलेमात्रै बजार धान्न नसकिने भएकाले छिटोभन्दा छिटो सामान ल्याउन सरकारले वातावरण बनाउनुपर्ने माग गरे ।

यता सरकारी निकाय भने नाकामा रोकिएका कन्टेनर चाँडै भित्रिन सुरु गर्ने बताउँछ ।  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नाकामा रोकिएका कन्टेनर पठाउन चीन सहमत भइसकेकाले सिन्धुपाल्चोकको तातोपानी र रसुवाको केरुङबाट छिट्टै कन्टेनर नेपाल भित्रिने जनाएको छ ।

मन्त्रालयका सचिव दिनेश भट्टराईले नाकामा रोकिएका कन्टेनररट्यांकर नेपाल ल्याउन कुटनीतिक तवरबाट पहल गरिरहेको बताए । चिनियाँ प्रोटोकल मेन्टेन गरेर नेपाली कन्टेनरलाई सहज व्यवहार गर्ने र तुरुन्तै नेपाल पठाउन चीन सहमत भएकाले छिट्टै आवश्यक सामग्री नेपाल भित्रिने उनको भनाइ छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको