Like us!
Follow us!
Connect us!
Watch us!

आज महाअष्टमी : महागौरीको उपासनासँगै बली दिएर देवीको विशेष पूजा गरिँदै

अर्थ संसार

बुधबार, २७ असोज २०७८, ०७ : १० मा प्रकाशित

आज महाअष्टमी : महागौरीको उपासनासँगै बली दिएर देवीको विशेष पूजा गरिँदै

नवरात्रको आठौं दिन आज नवदुर्गामध्येकी आठौं देन महागौरीको उपासना गरिन्छ । 

श्वेते वृषे समारूढा श्वेताम्बरधरा शुचिः ।
महागौरी शुभं दद्यान्महादेवप्रमोदया ।।

महादेवको प्रिय रहेकी महागौरीको स्वरुप अनुपम रहेको छ । महागौरी स्वरुप सेतो साँढेमा सेतै कपडा लगाएर सवारी गर्ने र वर्ण पनि गोरै रहेको छ । 
महागौरीको पूजाआराधनाले मनुष्यमा रहेको अनेक दोषहरू हट्ने पूर्वजन्ममा गरेका पापसमेत नाश हुने विश्वास रहेको छ । महागौरीको भक्तिले अलौकिक सिद्धि प्राप्त हुने जनविश्वास छ । 

नवरात्रको अवधिभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गरिन्छ ।

आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाराधना गरिन्छ । आजको दिनलाई महाअष्टमी पनि भनिन्छ । देशभरका शक्तिपिठहरूमा आज विशेष पूजाआजा हुने गर्छ । 

शक्तिपीठहरूमा पशु बली दिई दुर्गाभवानीको विशेष पूजा गरिन्छ । महाअष्टमीका दिन सबैले आ–आफ्नो परम्पराअनुसार पशुबली दिने प्रचलन रहेको छ । पशु बली नदिनेले पनि नरिवल, कुभिण्डो, केरा, घिरौँला आदिको बली दिने गर्छन ।

आजै हनुमानढोकाको दसैंघरमा रहेको मूल चोमा तलेजु भवानीलाई ५४ वटा राँगा र ५४ वटा बोकाको बली दिइन्छ । आजकै दिन घरघरमा प्रयोग गरिएका हातहतियार, मेशिनको साथै सवारीसाधनहरूको पशु बलीसहित पूजा गर्ने प्रचलनसमेत रहेको छ ।

नवरात्रभर देशका विभिन्न शक्तिपीठहरूमा दर्शन गर्न भक्तजनको घुईँचो लाग्ने गर्छ । विशेषगरी काठमाडौंको नक्साल भगवती, शोभा भगवती, भद्रकाली, भक्तपुरको नाला भगवती, पलाञ्चोक भगवतीको मन्दिर, ताप्लेजुङको पाथीभारा, धरानको दन्तकाली, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता, पोखराको विन्ध्यावासिनी, भोजपुरको सिद्धकाली मन्दिरमा विशेष पूजाआराधना हुने गर्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको