Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन स्वदेशमै उत्पादित विद्युतको उपयोग गरौं : उर्जा मन्त्री

अर्थ संसार

शनिबार, १३ कार्तिक २०७८, १५ : ४० मा प्रकाशित

राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन स्वदेशमै उत्पादित विद्युतको उपयोग गरौं : उर्जा मन्त्री

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन आयातीत इन्धनको खपत कम गरी स्वदेशमै उत्पादन भएको विद्युतको उपयोगमा जोड दिनुपर्ने बताएकी छन् ।     
  
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको २५ औं वार्षिकोत्सवका अवसरमा शनिवार यहाँ आयोजित विद्युतीय सवारी र्‍यालीको उद्घाटन गर्दै मन्त्री भुसालले पेट्रोलियम पदार्थको आयातमा वर्षेनी झण्डै २ अर्ब रुपैयाँ र खाना पकाउने एलपी ग्यासको आयातमा ४० अर्ब रुपैयाँ खर्च भइरहेको बताइन् ।  बढ्दो व्यापार घाटालाई न्यूनीकरण गर्न विद्युतको उपयोग बढाउनुको विकल्प नरहेको उनको भनाइ थियो ।     
  
उनले उद्योग, यातायात र घरायसी प्रयोजनमा विद्युतको खपत बढाउन सकिएमा विद्युत् खेर जाने अवस्था नआउने र त्यसले राष्ट्रिय अर्थतन्त्रमा योगदान पुग्ने बताइन् ।मन्त्री भुसालले विद्युतीय सवारी साधनको प्रवर्द्धनलाई सरकारले उच्च प्राथमिकता दिएको बताउँदै जलवायु परिवर्तनको समस्या न्यूनीकरण गर्न र स्वदेशमै रोजगारीको अवसर सृजना गर्न विद्युतीय सवारीको प्रयोगलाई बढाउनु पर्ने धारणा राखिन् ।
   
कार्यक्रममा मन्त्रालयका सचिव सागर राईले विद्युतीय सवारी वातावरणमैत्री, यात्रुका लागि सहज र विद्युतको खपत बढाउने क्षेत्र भएकाले यसको प्रवर्द्धनमा सरकार, निजी क्षेत्र र सर्वसाधारणले विद्युतीय सवारीको प्रयोगमा जोड दिनुपर्ने खाँचो औंल्याए ।

केन्द्रका कार्यकारी निर्देशक डा मधुसुदन अधिकारीले वातावरण संरक्षण र स्वच्छ ऊर्जाको प्रवर्द्धनमा जोड दिंदै आएको केन्द्रले विद्युतीय सवारीको बारेमा सर्वसाधारणलाई जानकारी र नीतिनिर्माताहरुलाई पनि प्रविधिको बारेमा अवगत गराउन र्‍यालीको आयोजना गरेको जानकारी दिए।     

 नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले दैनिक झण्डै ४००र ५०० मेगावाट विद्युत् खेर गइरहेको र आगामी दिनमा यो परिणाम अझ बढ्ने निश्चित रहेकाले विद्युतको खपत बढाउन विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहित गर्न विभिन्न स्थानमा चार्जिङ स्टेशन निर्माण भइरहेको उल्लेख गरे।

ललितपुरको जावलाखेलबाट शुरु भएको र्‍याली काठमाडौंका विभिन्न स्थान हुँदै भृकुटीमण्डपमा आएर विसर्जन भएको थियो । र्‍यालीमा विद्युतीय साइकल, स्कुटर, मोटरसाइकल, ट्याम्पो र कार गरी झण्डै ३०० को सङ्ख्यामा सहभागिता थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको