कम्पनी ऐन, २०६३ अन्तर्गत संस्थापन हुने सबै कम्पनीको मूल उद्देश्य नाफा आर्जन हो । मुनाफा वितरण नगर्ने कम्पनीको पनि उद्देश्य नाफा आर्जन नै हुन्छ । यस्ता कम्पनीको पूँजी नहुने हुँदा नाफा वितरण गर्दैनन् । हरेक कम्पनीको आम्दानी मूलतः दुई प्रकारको हुन्छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) सूचीकृत बैंक तथा वित्त, बीमा (जीवन र निर्जीवन), जलविद्युत्, होटेल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, व्यापार, लगानी र अन्य समूहमा सूचीकृत सबै कम्पनी हुन् । लगानी समूहमा सूचीकृत नागरिक लगानी कोष पनि विशेष प्रकारको कम्पनी नै हो । म्युचुअल फन्ड कम्पनीको परिभाषामा पर्दैन । यस्ता फन्ड कम्पनी वा नागरिक लगानी कोष जस्ता विशेष प्रकारका कम्पनीले प्रवद्र्धन गरेका आयवृद्धि योजना हुन् । विशेष कानूनद्वारा स्थापित संस्थाको पनि आम्दानी दुई प्रकारकै हुन्छन् । दुई प्रकारको आम्दानीमध्ये उद्देश्यअनुसारको गतिविधिबाट प्राप्त आम्दानी बढी महत्त्वपूर्ण हुन्छ ।
कम्पनीको हिसाब किताब
कम्पनी स्थापना गर्दा कुन वा के व्यापार (कारोबार) गर्ने भन्ने कुरा र उक्त उद्देश्य पूरा गर्न सकिने कार्य कम्पनीको मूल कानून प्रवन्धपत्रमा उल्लेख हुन्छ । कम्पनीले प्रबन्धपत्रमा उल्लिखित कार्य गरेर गर्ने आम्दानीको हिसाबकिताब प्रचलित कानूनबमोजिम राख्नुपर्छ । कम्पनी ऐन, २०६३ दफा १०८(१) मा कम्पनीले आफ्नो लेखा नेपाली वा अंग्रेजी भाषामा रीतपूर्वक राख्नुपर्ने तथा दफा १०८(२) मा यसरी राखिने हिसाब दोहोरो लेखाप्रणालीमा आधारित, कम्पनीको कारोबारको यथार्थ स्थिति स्पष्टरूपमा प्रतिबिम्बित हुने गरी प्रचलित कानूनबमोजिम अधिकारप्राप्त निकायले लागू गरेको लेखामान (एकाउन्टिङ स्ट्यान्डर्ड) र यस ऐनबमोजिम पालना गर्नुपर्ने अन्य शर्त तथा व्यवस्थाअनुरूप राख्नु पर्नेछ भनेको छ । प्रचलित लेखामानअनुसार कम्पनीको समस्त हिसाबकिताब राखिन्छ । यसमा कम्पनीको आम्दानी र खर्च दुवैको हिसाबकिताब राखिन्छ । आयको हिसाबकिताब राख्ने खातालाई नाफानोक्सान हिसाब खाता भनिन्छ ।
आयव्यय हिसाबको अंग नाफानोक्सान हिसाब खाताबाट खुद नाफाको अंक देखिन्छ । यस्तो खुद नाफाको पनि बाँडफाँट हुन्छ । नाफाको बाँडफाँट गर्दा कम्पनी ऐन, २०६३ को दफा १८२(६) आकर्षित हुन्छ । यो व्यवस्था नियमन हुने र नहुने दुवै कम्पनीको लागि लागू हुन्छ । दफा १८२(६) बमोजिम कम्पनीले कुनै आर्थिक वर्षमा भएको नाफाबाट लाभांश वितरण गर्नुभन्दा पहिले पूर्वसञ्चालन खर्च, प्रचलित कानूनबमोजिम अधिकारप्राप्त निकायद्वारा निर्धारित लेखामानअनुसार गर्नुपर्ने ह्रासकट्टी, प्रचलित कानूनबमोजिम नाफाबाट भुक्तानी गर्नुपर्ने वा छुट्ट्याउनुपर्ने रकम वा विगतका आर्थिक वर्षमा भएको सञ्चित नोक्सानीको रकम पूर्णरूपमा कट्टा गरिसकेको हुनुपर्ने व्यवस्था छ । त्यस्तै, सोही दफाको प्रतिबन्धात्मक वाक्यांशमा लाभांश वितरण गर्नुभन्दा पहिले कुनै रकमको जगेडा वा सञ्चित कोष खडा गर्नुपर्ने सम्बन्धमा प्रचलित कानूनले कुनै व्यवस्था गरेको रहेछ भने त्यस्तो कोष खडा नगरी लाभांश वितरण गर्न नसक्ने व्यवस्था गरेको छ । प्रतिवन्धात्मक वाक्यांश बैंक र बीमाजस्ता नियमन हुने व्यावसायिक निकायका लागि गरिएको व्यवस्था हो । आर्जित नाफा बाँडफाँट गरेपछि लाभांशबाहेकको रकम वासलातको तत्तत् शीर्षकमा सारिन्छ ।
कम्पनीको सम्पत्ति र दायित्वको हिसाबकिताब राख्ने खातालाई वासलात भनिन्छ । वासलातमा कम्पनीको सम्पत्ति र दायित्वको विवरण देखिन्छ । वासलातको एक खण्डमा सम्पत्ति र अर्को खण्डमा दायित्वको हिसाब राखिएको हुन्छ । दोहोरो लेखाप्रणालीमा आधारित हिसाबकिताब राखिने हुँदा वासलातमा सम्पत्ति र दायित्व बराबर हुन्छ । पूँजी, सञ्चिति, प्रिमियम र विभिन्न नामका जगेडा आदिलाई सम्पत्ति वा दायित्वका रूपमा नदेखाई इक्विटी अर्थात् शेयरधनीको कोषको रूपमा देखाइन्छ । यी सबैको योगलाई शेयरधनीको कुल सम्पत्तिको रूपमा लेखांकन गरिएको हुन्छ । पूँजी, सञ्चिति, प्रिमियम र विभिन्न नामका जगेडाजस्ता रकम कम्पनीको दायित्व भए पनि यसलाई दायित्वअन्तर्गत लेखांकन गरिँदैन । यसो गर्नुको कारण यस्ता दायित्व दीर्घकालीन प्रकृतिको भएको र कम्पनी स्वैच्छिक वा अनिवार्य खारेजीमा गएमा कम्पनीको दायित्व फछ्र्योट गरेर बाँकी रहेमा शेयरधनीले धारण गरेको अंशको अनुपातमा फिर्ता हुनु हो । दायित्व भुक्तान गर्दा कम्पनीको सम्पत्तिले नपुगेमा शेयरधनीसँग नपुग रकम माग पनि गरिँदैन । यसलाई शेयरधनीको सीमित दायित्व भनिन्छ ।
दुई प्रकारका आम्दानी
कम्पनीको आम्दानी दुई प्रकारको हुन्छन् भन्ने कुरो उठान अघिल्लो अनुच्छेदमा गरियो । कम्पनीले आफ्नो मूल उद्देश्यअनुसार गर्ने आम्दानीलाई मुख्य वा व्यापारिक वा सञ्चालन आम्दानी भनिन्छ । सञ्चालन आम्दानीको अंकले कम्पनी आफ्नो लक्षित उद्देश्यमा कति केन्द्रीकृत छ भन्ने देखाउँछ । नाफानोक्सान हिसाब खाताको सबैभन्दा माथि यस्तो आम्दानी प्रविष्ट हुन्छ । उदाहरणको लागि कुनै बैंकिङ कम्पनीले सबैभन्दा माथि ब्याज आम्दानी, त्यसको ठीक तल ब्याज खर्च र त्यसपछि खुद ब्याज आम्दानी लेखांकन गर्छ । यस्तै प्रकारले अन्य क्षेत्रका कम्पनीले पनि मुख्य व्यापारिक आम्दानी र त्यसका लागि भएको खर्च लेखांकन गर्छ । जलविद्युत् कम्पनीले पनि विक्री आम्दानी सबैभन्दा माथि राखेको हुन्छ र त्यसको ठीक तल विक्री (प्रसारण) खर्च उल्लेख गर्छ । यसरी मुख्य आम्दानीपश्चात् सञ्चालन र कर्मचारी खर्च लेखांकन गरेपछि अन्य सञ्चालन वा गैरव्यापारिक आम्दानीको लेखांकन गर्छन् ।
सञ्चालन आम्दानी आयको नियमित स्रोत हो । यस्तो आम्दानी कुनै वर्ष धेरै वा थोरै हुनसक्छ । कुनै आम्दानी कुनै कम्पनीका लागि मुख्य र कुनैका लागि सहायक वा गैरव्यापारिक दुवै हुन्छ । ब्याज आम्दानी बैंकको लागि मुख्य आम्दानी हो भने अन्य प्रकारका कम्पनीका लागि सहायक वा गैरव्यापारिक हो । विशाल बजार कम्पनी लिमिटेड वा यस्तै प्रकारको बहुतले व्यापारिक भवन सञ्चालन गर्नेका लागि भाडा मुख्य आम्दानी हुन्छ । तर, जलविद्युत् कम्पनीले कुनै ठाउँ भाडामा दिएको रहेछ भने त्यस्तो आम्दानी सहायक हुन्छ । यसो हुनुका कारण तत्काल उक्त ठाउँ खाली बसेका कारण उपयोगविहीन बनाउनुभन्दा उपयोगमा ल्याएको कारण भाडा प्राप्त भएको मात्र हो । त्यो ठाउँ पुनः आफैलाई चाहिएको खण्डमा आफैले भोग गर्नुपर्छ । यस्ता सहायक आम्दानी नियमित आयको स्रोत होइनन् । कुनै बैंकले कुनै अचल सम्पत्ति कुनै तरहले प्राप्त गरेमा त्यसलाई कुनै समयमा विक्री गर्नसक्छ । यति बेला गैरव्यापारिक आम्दानी देखिनसक्छ । यस्तो पटके आम्दानी एउटा त्रैमासिकमा मात्र देखिन्छ । शेयर प्रिमियम नाफानोक्सान हिसाबमा तथा वासलातको सम्पत्ति र दायित्वमा पनि जाँदैन । यस्ता रकम र शेयरपूँजी शीर्षकअन्तर्गत लेखांकन हुन्छ र शेयरधनीको कोषमा बाँधिन्छ ।
अन्तमा, कुनै पनि कम्पनीको वित्तीय विवरणमा प्रतिशेयर आम्दानी बढी देखिएको भरमा लगानी बढाउने निर्णय घातक हुन्छ । त्यस्ता आम्दानी कहाँबाट कसरी आएको छ नाफानोक्सान हिसाब खाता हेरेर पत्ता लगाउन सकिन्छ । मुख्य आम्दानी सबैभन्दा माथि देखिने हुँदा यसलाई मनन गरेर लगानी गर्नु हितकर हुन्छ ।
आर्थिक अभियान दैनिकमा ज्योती दाहालले लेखेकाछन् । (लेखक धितोपत्रसम्बन्धी अध्येता अधिवक्ता हुन् ।)
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस