सरकारले डेढ वर्ष पहिले गरेको ठेक्का सम्झौताअनुसार चालक अनुमतिपत्र छपाइका लागि कार्ड यही कात्तिक महिनाभित्र आउने भएको छ ।
प्राविधिक समस्याका कारण लामो समयदेखि कार्ड ल्याउन नसकिएको भए पनि अहिले समाधान भएकाले ल्याउन लागिएको यातायात व्यवस्था विभागका प्रवक्ता डा. लोकनाथ भुसालले बताए । सरकारले २ वर्ष पहिले खरीद गरेको ‘मास प्रिन्टर’मा छपाइ गर्न कार्ड नमिलेपछि कार्ड आउन सकेको थिएन । पछिल्लो पटक परीक्षणमा समस्या नभएको पाइएकाले ल्याउन लागिएको हो । ‘हामीले कार्ड छिटो ल्याउन कम्पनीसँग सम्पर्क भइरहेको छ,’ उनले भने ।
‘मास प्रिन्टर’ एउटा कम्पनीबाट खरीद गरिएको र कार्ड अर्को कम्पनीबाट खरीद गरिएकाले समस्या आएको यातायात व्यवस्था विभागले बताएको छ । अहिले कार्ड मास प्रिन्टरमा मिलेकाले ल्याउन भनिएको हो ।
चालक अनुमतिपत्रको पहिलो सम्झौताअनुसार १४ लाख आउनुपर्ने विभागले बताएको छ । विभागले चाँडो ल्याउन सहजीकरण गरिदिने भएको छ । अहिले १४ लाख कार्ड आएपछि तत्कालका लागि समस्या हट्ने र आगामी दिनमा पनि त्यही समस्या दोहोरिन नदिन ध्यान दिइने विभागले बताएको छ ।
सेवाग्राहीलाई सजिलोका लागि शुरू गरिएको ‘स्मार्ट’ चालक अनुमतिपत्र सोचेजस्तो हुन सकिरहेको छैन । विभिन्न समस्याका कारण सेवाग्राहीले समयमा अनुमतिपत्र पाउन सकिरहेका छैनन् । पहिले उपकरणको क्षमता कम भएकाले सेवाग्राहीले समयमा अनुमतिपत्र पाउन सकिरहेका थिएनन् । २ वर्ष पहिले विभागले एउटै ठेक्काबाट ठूलो क्षमताको उपकरण (मास प्रिन्टर) र १० लाख कार्ड ल्याइएको थियो । त्यो कार्ड अब थोरै संख्यामा मात्रै बाँकी छन् । कार्ड अभावमा विभागले अति आवश्यक पर्नेलाई मात्रै अनुमतिपत्र छापिरहेको छ । यातायात कार्यालयले भने एक वर्षका लागि अस्थायी चालक अनुमतिपत्र शुरू गरेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस