नेपाल राष्ट्र बैंकका सहायक प्रबक्ता नारायण प्रसाद पोखरेलले राष्ट्र बैंक मौद्रिक नीतिको समिक्षाको अन्तिम तयारीमा रहेको र आउँदो साता सार्वजनिक गरिने बताएका छन् ।
यसअघि यसै साता सार्वजनिक गरिने भनिएको मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा केहि आन्तरिक तयारी नपुगेको कारण आगामी हप्ता मात्र सार्वजनिक हुने सम्भावना बढेर गएको पोखरेलले बताए ।
बजारमा देखिएको तरलता संकटको विषयमा प्रश्न गर्दा तरलता संकटको अवस्था नरहेको उनले बताए । १५/१७ अर्ब अधिक तरलता रहेको अवस्थालाई तरलता संकटको अवस्था भन्न नमिल्ने बताउंदै पोखरेलले बैंकहरुको उचित व्यवस्थापन गर्न नसक्दा अधिकांस बैंकहरु कर्जा प्रवाह गर्न नसक्ने अवस्थामा पुगेको बताए ।
बैंकहरुले थप कर्जा प्रवाह नै गर्न नसक्ने यो अवस्थालाई कसरि सुधार गर्ने भन्ने प्रश्नमा पोखरेलले भने, 'अब गर्नुपर्ने भनेको बैंकहरुले सि घटाउने डि बढाउने हो । सि घटाउने भन्नाले क्रेडिट घटाउनुपर्यो, डि बढाउने भन्नाले डिपोजिट बढाउनु पर्यो । बैंकहरुले त्यसका लागि आवश्यक पर्ने उपायहरु अपनाउनु पर्यो।'
मौद्रिक नीतिको समिक्षा मार्फत केहि नीतिगत परिवर्तन हुन्छ कि ? भन्ने हाम्रो प्रश्नमा उनले भने, 'यसअघिका समिक्षाहरुमा खासै नीतिगत परिवर्तन हुने गरेको नभए पनि बजेट आउनुभन्दा अगाडी मौद्रिक नीति आएकाले बजेटमा समेटिएका कुराहरुलाई मौद्रिक नीतिमार्फत सम्बोधन गर्नुपर्ने आवश्यकता देखिएमा समिक्षामार्फत केहि नीतिगत परिवर्तन पनि हुन सक्छ।' बजारको आवश्यकता अनुसार राष्ट्र बैंकले समिक्षामार्फत केहि नीतिगत परिवर्तन गर्न सक्ने संकेत पोखरेलले गरे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस