Like us!
Follow us!
Connect us!
Watch us!

मंसिर २३ गते सम्म हातमा सेयर १०० % हकप्रद पक्का, आईसिएफसी फाइनान्सका लगानीकर्ताले सर्वाधिक गुमाए (भिडियो)

अर्थ संसार

बुधबार, १५ मंसिर २०७८, २२ : ०७ मा प्रकाशित

हामीले दिनभरकाे आर्थिक समाचारहरू समेटी तयार पारिएकाे "अर्थसंसार बुलेटिन" नामक भिडियाे केही समय अघिदेखि नै हाम्राे आधिकारिक युट्युब च्यानल मार्फत् हाम्रा पाठक/दर्शक माझ प्रस्तुत गर्दै आइरहेका थियाैँ । साेही समाचारहरूकाे संकलन आजदेखि हामीले समाचारमार्फत् पनि प्रस्तुत गर्ने भएका छाैँ ।

आज (मंसिर १५ गते, बुधबार) दिनभरका मुख्य आर्थिक समाचारहरू यस प्रकारका छन् :

१. ३४ प्रतिशत लाभांश पारित गर्न स्वाभिमान लघुवित्तले डाक्यो साधारण सभा, मंसिर २३ गतेदेखि बुकक्लोज

स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश पारितको मुख्य ऐजेण्डा सहित संस्थाको पाँचौ वार्षिक साधारण सभा आह्वान गरेको छ  ।संस्थाको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको ५ औँ वार्षिक साधारण सभा पाैष १० गते, शनिबार संस्थाको केन्द्रिय कार्यलय तिलोत्तमा, रुपन्देहीमा भर्चुअल माध्यामबाट अपरान्ह १ बजेदेखि सूरु हुनेछ । सभामा संस्थाकाे असोज १७ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ३२.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.७० प्रतिशत नगद गरी कुल ३४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर २३ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, मंसिर २२ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

२. एनसीसी बैंकले गर्यो लाभांश घोषणा, ८ प्रतिशत बोनस दिने

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ  । बैंकको हिजाे मंसिर १४ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.४२ प्रतिशत नगद गरी कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई र बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

३. लक्ष्मी बैंकले डाक्याे साधारण सभा, ११.५ प्रतिशत लाभांश पारित गर्ने मुख्य एजेन्डा

लक्ष्मी बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । बैंककाे हिजाे (मंसिर १४ गते, मंगलबार) बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे एक्काइसाैँ वार्षिक साधारण सभा पाैष ८ गते अग्रवाल भवन, कमलपाेखरी, काठमाडाैँमा दिउँसाे २ बजेदेखि सुरू हुनेछ ।सभामा बैंकको कार्तिक २५ गते, बिहिबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ८ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनार्थ समेत गरी ३.५ प्रतिशत नगद गरी कुल ११.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर २४ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, मंसिर २३ गतेसम्म नेप्सेमा काराेबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

४. आरएमडीसी लघुवित्तले गर्याे लाभांश घोषणा, २० प्रतिशत बोनस दिने

आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ  । संस्थाको आज मंसिर १५ गते, बुधबार बिहान बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

५. १०३.४१ अंककाे गिरावटपछि नेप्सेमा हरियाली, आईसिएफसी फाइनान्सका लगानीकर्ताले सर्वाधिक गुमाए

आज (बुधबार) सेयर बजारमा हरियाली देखिएकाे छ । गत बिहीबारदेखि लगातार घटिरहेकाे सेयर बजार बुधबार भने बढेर बन्द भएकाे हाे । यस अवधिमा नेप्से परिसूचक १०३.४१ अंकले घटेकाे थियाे । गत बिहीबार २७३१.७८ विन्दुमा बन्द भएकाे नेप्से परिसूचक (हिजाे) मंगलबारसम्म  आइपुग्दा १०३.४१ अंकले घटेर २६२८.३७ विन्दुमा झरेकाे थियाे । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ५.२८ अंकले बढेर २६३३.६५ विन्दुमा पुगेकाे छ । नेप्से ०.२० प्रतिशतले बढेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ०.८९ अंकले बढेर ४९६.७४ विन्दुमा पुगेकाे छ । कूल २२३ वटा कम्पनीकाे ५३ लाख १० हजार २ सय १५ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ७४ करोड २० लाख ८५ हजार ७ सय ४ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ९ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ४ वटा उपसमूहकाे सेयर घटेको छ । आज पनि २ कम्पनीकाे सेयर सकारात्मक सर्किट लेभलमा काराेबार भएकाे छ । सामलिङ्ग पावरकाे सेयरमूल्य ९.९९ प्रतिशतले बढेर ४ सय ६१ रूपैयाँ ४० पैसा पुगेकाे छ । यस्तै, न्यादी हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्य ९.९९ प्रतिशतले बढेर ३ सय ७५ रूपैयाँ ६० पैसा पुगेकाे छ । बुधबार नेपाल टेलिकमकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे १४ कराेड ५३ लाख ९३ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । आज आईसिएफसी फाइनान्स कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ५.६२ प्रतिशतले घटेर ८ सय ४० रूपैयाँमा झरेकाे छ । 

६. श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सकाे लाभांश घोषणा, लगानीकर्तालाई ७.७० प्रतिशत बोनस

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ  । फाइनान्सकाे हिजाे मंसिर १४ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट फाइनान्सका शेयरधनीहरूलाई चुक्ता पूँजीको ७.७० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ३.३० प्रतिशत नगद गरी कुल ११ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई र फाइनान्सको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

७. १००% हकप्रद निष्कासन गर्न नारायणी डेभलपमेन्ट बैंकले ताेक्याे बुकक्लाेज मिति

नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न बुकक्लाेज मिति ताेकेकाे छ ।  बैंकले हकप्रद निष्कासन गर्ने प्रयाेजनका लागि मंसिर २४ गते एक दिन बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, मंसिर २३ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम भएका शेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । बैंकले १:१ काे अनुपातमा १०० रुपैयाँ अंकित दरमा कुल १३ करोड १२ लाख ३३ हजार ८ सय रूपैयाँ बराबरकाे १३ लाख १२ हजार ३ सय ३८ कित्ता हकप्रद निष्कासन गर्न  मंसिर ३ गते, शुक्रबार नियामक निकाय नेपाल धिताेपत्र बाेर्डबाट अनुमति पाइसकेकाे छ । बैंककाे हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। 

८. नबिल बैंकको ऋणपत्र नेप्सेमा सूचिकृत, थपियाे २२ लाख ७ हजार कित्ता इकाई

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार नबिल बैंक लिमिटेडकाे ऋणपत्र सूचिकृत भएकाे छ । स्टकका अनुसार "८%  नबिल डिबेन्चर २०८५" काे २२ लाख ७ हजार एक सय ८ कित्ता ऋणपत्र नेप्सेमा सूचिकृत भएकाे हाे । बैंकले साउन १० गते आईतबारबाट साउन २४ गते, आईतबारसम्म ७ वर्ष अवधिको ८ प्रतिशत व्याजदर रहेको  "८%  नबिल डिबेन्चर २०८५" नाममा प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेकाे थियाे । जसमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई र बाँकी १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिएकाे थियाे । सर्वसाधारणका लागि छुट्याइएकाे कुल ऋणपत्रमध्ये ५ प्रतिशत सामूहिक लगानी कोषका लागि छुट्याइएको थियाे । 

९. ४ सयले घट्याे सुनकाे भाउ, ५ रूपैयाँले घट्याे चाँदी

बुधबार सुनकाे मूल्य ताेलामा ४ सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ । आज बुधबार चाँदीको मूल्य पनि ताेलामा ५ रुपैयाँले घटेर प्रतिताेला १ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

भिडियाे पनि हेर्नुहाेस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको