Like us!
Follow us!
Connect us!
Watch us!

कम्पनीहरुको लाभांस घोषणा जारी , सेयर बजारमा भने पहिरो, नियमक निकाय मौन

अर्थ संसार

आइतबार, २६ मंसिर २०७८, २१ : ०२ मा प्रकाशित

आज (मंसिर २६ गते, आइतबार) दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएका छन् ।

१. नागरिक स्टक डिलरले १ करोड ५० लाख कित्ता आईपीओ निष्कासन गर्ने, डाक्याे साधारण सभा 

नागरिक स्टक डिलर कम्पनीले आईपीओ निष्काशनको विशेष प्रस्ताव सहित साधारण सभा आह्वान गरेको छ । कम्पनीकाे मंसिर २४ गते शुक्रबार बसेको सञ्चालक समितीकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीको दास्रो साधारण सभा पुस २३ गते, नागरिक लगानी कोष भवन, नयाँ बानेश्वर, काठमाडौंमा अपरान्ह ३ः३० बजेबाट सुरू हुनेछ । सभाले विशेष प्रस्तावका रुपमा नियमनकारी निकायको स्वीकृती पश्चात जारी गर्ने गरी कम्पनीको जारी पूँजीको ३० प्रतिशतले हुने १ अर्ब ५० करोड रुपैयाँ बराबरको १ करोड ५० लाख कित्ता (आईपीओ) निष्कासन गर्ने प्रस्ताव पारित गर्ने छ ।

२. साना किसान लघुवित्तको साधारण सभा पुस १८ मा, लाभांश पारित मुख्य एजेन्डा 

लाभांश पारितको विशेष ऐजेन्डासहित साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ  । संस्थाको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको ५ औँ वार्षिक साधारण सभा पुस १८ गते, आइतबार नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेल ललितपुरमा बिहान ११ बजेबाट सूरु हुनेछ । सभाले संस्थाको मंसिर ८ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१५७ प्रतिशत नगद गरी कुल २६.३१५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि पुस ५ गते देखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पुस १ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

३. मिथिला लघुवित्तले गर्याे लाभांश घोषणा, २५ प्रतिशत बोनस दिने

मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ  । संस्थाको मंसिर २४ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि १.३१५७८९५ प्रतिशत नगद गरी कुल २६.३१५७८९५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

४. साताकाे पहिलाे दिन नै सेयर बजारमा पहिराे, आत्तिए लगानीकर्ता

साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) पनि सेयर बजारमा पहिराे गएकाे छ । बजारले निरन्तर ओरालो यात्रा तय गरिरहँदा लगानीकर्ताहरूकाे मनाेबल पनि घट्दै गइरहेकाे छ । सेयर बजार यसरी घट्दा पनि नियामक निकायहरू माैन छन् । लगानीकर्ताहरूले आफ्नाे सम्पत्तिकाे रक्षा गर्न तथा पूँजी बजार विराेधी नियामक निकायहरूकाे विरूद्धमा 'नाे भाेट' अभियान सञ्चालन गरिरहेका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक ८८.७० अंकले घटेर २३६१.२७ विन्दुमा झरेकाे छ । नेप्से ३.६२ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि १५.१५ अंकले घटेर ४५०.०८ विन्दुमा झरेकाे छ । कूल २२८ वटा कम्पनीकाे ७२ लाख २३ हजार २ सय ४० कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब १९ करोड ९१ लाख ७२ हजार २ सय ५२ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ । स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये सबै वटा उपसमूहकाे सेयर घटेकाे छ । सबैभन्दा धेरै व्यापार र विकास बैंक समूह घटेकाे छ । आज मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे १९ कराेड ७७ लाख ४० हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । आइतबार युनिलिभर नेपाल लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै बढेकाे छ । कम्पनीकाे सेयरमूल्य २ प्रतिशतले बढेर १८ हजार ५ सय ६४ रूपैयाँ पुगेकाे छ । आइतबार नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा नकारात्मक सर्किट लागेकाे छ । संस्थाकाे सेयरमूल्य १० प्रतिशतले घटेर एक हजार एक सय ११ रूपैयाँ ५० पैसामा झरेकाे छ ।

५. चिलिमे जलविद्युतले गर्यो लाभांश घोषणा, लगानीकर्तालाई ७.५ प्रतिशत बोनस

चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट आफ्ना सेयरधनीहरुका लाभांश प्रस्ताव गरेको छ । कम्पनीको मंसिर २४ गते, शुक्रबार बसेकाे सञ्चालक समितिको बैठकले हालको चुक्ता पुँजीको ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ७.५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो । कम्पनीकाे २५औं वार्षिक साधारण सभा पुस २३ गते हुनेछ । कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि पुस १५ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस १४ गतेसम्म कायम सेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

६. लाभांश पारित गर्न मनकामना स्मार्ट लघुवित्तले डाक्याे साधारण सभा, पाैष ४ गतेबाट बुकक्लाेज

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । संस्थाकाे मंसिर २४ गते शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे चाैँथाे वार्षिक साधारण सभा पाैष १९ गते, साेमबार, हाेटल पाैवा, सिद्धार्थनगर-६, रूपन्देहीमा दिउँसाे २ बजेबाट सुरू हुनेछ । सभामा संस्थाको कार्तिक १६ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १७ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष ४ गतेबाट पाैष १९ गतेसम्म बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले पाैष १ गते बिहीबारसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

७. सिडिएस एण्ड क्लियरिङ्गले ४० प्रतिशत लाभांश दिने, डाक्याे साधारण सभा

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । कम्पनीकाे मंसिर २२ गते बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे एघाराैँ वार्षिक साधारण सभा पाैष १९ गते, साेमबार, सेयर मार्केट्स कमर्सियल कम्प्लेक्स, चाैथाे तला, पुलतीसडक , काठमाडाैँमा बिहान ११ बजेबाट सुरू हुनेछ । सभामा आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

८. बिमा कम्पनीहरुको पूँजी वृद्धि आवश्यकः हकप्रदले बजार खलबल्याउँछ, मर्जर र बोनसलाई प्राथमिकता

अहिलेको अवस्थामा नेपालमा सञ्चालित बिमा कम्पनीहरुको पूँजी वृद्धि गर्नु अपरिहार्य भएपनि हकप्रद नै एक मात्र विकल्प नभएको बिमा समितीका अध्यक्ष सुर्य प्रसाद सिलवालले बताएका छन्  । अर्थसंसारको साप्ताहिक कार्यक्रम अर्थ संसार टकमा कुराकानीमा गर्दै अध्यक्ष सिलवालले अहिलेको बजार र व्यवसाय हेरेर बिमा कम्पनीहरुको पूँजी कम रहेकाे र बिमा कम्पनीहरूकाे पूँजी वृद्धि गर्नु आवश्यक रहेकाे बताए । हकप्रदका कारण बजारमा चलखेल बढ्ने हुँदा सकेसम्म बिमा समितीले हकप्रदलाई प्राथमिकतामा नराखी पूँजी वृद्धिका लागि बोनस सेयर र मर्जरको प्रस्तावलाइ पहिलाे प्राथमिकतामा राखिएकाे उनले बताए । 

९. न्यादी हाइड्रोपावरले डाक्याे साधारण सभा, पाैष ११ गतेदेखि बुकक्लाेज

न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा बाेलाएकाे छ । कम्पनीकाे मंसिर २२ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे चाैधाैँ वार्षिक साधारण सभा पाैष २८ गते कम्पनीकाे रजिष्टर्ड कार्यालय, बानेश्वर, काठमाडाैँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । सभामा वार्षिक प्रतिवेदनहरू छलफल गरी पारित गरिनेछ । लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पारित गरिनेछ । कम्पनीले साधारण सभा प्रयाेजनका लागि पाैष ११ गतेदेखि पाैष २८ गतेसम्म बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले पाैष १० गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भइ कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् । 

१०. ३ सयले बढ्याे सुनकाे भाउ, ५ रूपैयाँले बढ्याे चाँदी 

आइतबार सुनकाे मूल्य ताेलामा ३ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ५ सय रुपैयाँ कायम भएको छ । आज चाँदीकाे मूल्य पनि ताेलामा ५ रूपैयाँले बढेर प्रतिताेला १ हजार १ सय ९० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको