Like us!
Follow us!
Connect us!
Watch us!

कमरेडको बोलीले सेयर बजार स्वाह (आजको आर्थिक समाचार )

अर्थ संसार

सोमबार, २७ मंसिर २०७८, २१ : ०३ मा प्रकाशित

आज (मंसिर २७ गते, साेमबार) दिनभरका आर्थिक समाचारहरू यस प्रकारका छन् । 

१. आँधिखाेला लघुवित्तले गर्याे लाभांश घाेषणा, १९ प्रतिशत बोनस दिने

आँधिखाेला लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ  । संस्थाकाे हिजाे (मंसिर २६ गते, आइतबार) बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि एक प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

२. तेह्रथुम पावरले डाक्याे साधारण सभा, पाैष ५ गतेदेखि बुकक्लाेज

तेह्रथुम पावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा बाेलाएकाे छ । कम्पनीकाे हिजाे (मंसिर २६ गते, आइतबार) बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे चाैँथाे वार्षिक साधारण सभा पाैष २८ गते, बुधबार, हाेटल हार्दिक, बागबजार, काठमाडाैँमा बिहान ९ बजेदेखि सुरू हुनेछ । सभामा लेखापरीक्षकको प्रतिवेदनसहित वार्षिक वित्तिय विवरणहरु छलफल गरी पारित गर्ने, लेखापरीक्षण समितिको सिफारिस अनुसार लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, रिक्त सञ्चालक समिति सदस्यकाे निर्वाचन गर्ने, सञ्चालक समितिकाे लागि निर्वाचन अधिकृतकाे चयन गर्ने लगायतका प्रस्तावहरू पारित गरिनेछ । कम्पनीले साधारण सभा प्रयाेजनका लागि पाैष ५ गतेदेखि पाैष २८ गतेसम्म बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले पाैष ४ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भइ कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् । 

३. गुडविल फाइनान्सको लाभांश घोषणा, लगानीकर्तालाई ९.१ प्रतिशत बोनस

गुडविल फाइनान्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ  । कम्पनीको हिजाे मंसिर २६ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ९.१ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत ३.९ प्रतिशत नगद गरी कुल १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

४. नेप्सेकाे ओरालो यात्रामा निरन्तरता : माैद्रिक नीतिकाे समिक्षापछि ४४९.७८ अंकले घट्याे सेयर बजार

साताकाे दाेश्राे काराेबार दिन आज (साेमबार) पनि सेयर बजारमा पहिराे गएकाे छ । नेप्से परिसूचक उच्च अंकले घट्दा कारोबार हुने १३ वटै उपसमूह ओरालो लागेका छन् । माैद्रिक नीतिकाे समिक्षापछि लगातार सेयर बजारमा पहिराे गइरहेकाे छ । राष्ट्र बैंकले यही मंसिर १० गते शुक्रबार नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको थियाे । याे बीचकाे अवधिमा आजसम्म आइपुग्दा नेप्से परिसूचक ४४९.७८ अंकले घटेकाे छ । माैद्रिक नीतिकाे समिक्षापछि हालसम्म २ दिन मात्र सेयर बजार बढेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक ७९.२३ अंकले घटेर २२८२ विन्दुमा झरेकाे छ । नेप्से ३.३६ प्रतिशतले घटेकाे हो । सेन्सेटिभ परिसूचक पनि १२.४७ अंकले घटेर ४३७.५९ विन्दुमा झरेको छ । कूल २३३ वटा कम्पनीकाे ९६ लाख ७९ हजार ७२ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ९९ करोड ५६ लाख ४ हजार एक सय ७८ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ । साेमबार नबिल बैंक लिमिटेडकाे सर्वाधिक कारेबार भएकाे छ । बैंककाे १८ कराेड ३ लाख ५९ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । यस दिन गाेर्खाज फाइनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । फाइनान्सकाे सेयरमूल्य ९.४७ अंकले बढेर ७ सय ७१ रूपैयाँ ९० पैसा पुगेकाे छ । आज स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीहरूले सबैभन्दा धेरै गुमाएका छन् । संस्थाकाे सेयरमूल्य ९.९९ अंकले घटेर एक हजार ६ सय ९३ रूपैयाँ ९० पैसामा झरेकाे छ ।

५. सरकारकै कारण सेयर बजारबाट लगानीकर्ताको १२ खर्ब गायब, संयमित भएर लगानी गर्न आग्रह

लगानीकर्ताका सबै संघसंस्थाहरुको संयुक्त कार्यदल (पूँजी बजार सुदृढीकरण बृहत कार्यदल) ले एक विज्ञप्ति सार्वजनिक गर्दै लगानीकर्ताहरुलाई संयमित भएर कारोबार गर्न आग्रह गरेकाे छ। दलका संयाेजक अम्बिका प्रसाद पाैडेलद्वारा आज (मंसिर २७ गते, साेमबार) सार्वजनिक गरिएकाे उक्त विज्ञप्तिमा अर्थ मन्त्रालय तथा अन्य सरोकारवाला निकायहरुले तीन बर्ष अघि नै गर्छु भनेका ५८ बुँदेका बाँकी कामहरु पुरा नहुँदा र यसबीचमा भएका कतिपय नीतिगत परिवर्तनका कारणले पूँजी बजारमा गम्भीर संकट उत्पन्न भएको उल्लेख गरिएकाे छ । यो संकट समाधानका लागि लगानीकर्ताहरुको तर्फबाट पटक पटक पहल हुँदा समेत सरकार र सम्बद्ध पक्षबाट सम्बोधन नभएकाले करिव ४५ खर्ब पुगेको सेयर बजारले करिब १२ खर्ब गुमाई सकेको छ भने सरकारकाे अर्बाैँ राजस्व गुमेको छ । ४७ लाख भन्दा धेरै डीम्याट खाताधारीबाट १२ खर्ब भन्दा बढी सम्पत्ति गुमी सकेको उक्त विज्ञप्तिमा उल्लेख गरिएकाे छ । लगानीकर्ताहरुले समस्या समाधानका लागि सुझाएका उपायहरुको सम्बोधन नगरी परिस्थिति अरु बिग्रेर गएमा त्यसको सम्पूर्ण जिम्मेवार सरोकारवाला निकायहरु नै हुने कुरा विज्ञप्तिमार्फत् ध्यानाकर्षण गराइएकाे छ । 

६. अर्थमन्त्री शर्माले भने सेयरबजार मैत्री नीति ल्याउने जिम्मा मेरो, राम्रा कम्पनीमा ढुक्कले लगानी गर्नुहोस्

अर्थमन्त्री जनार्दन शर्माले राम्रा कम्पनीमा ढुक्क भएर लगानी गर्न लगानीकर्ताहरुलाई आग्रह गरेका छन् । बीमा समितिको नयाँ भवन शिलान्यास गर्न पुगेका अर्थमन्त्रीले कम्पनी चिनेर ढुक्कले लगानी गर्न प्रोत्साहित गरेका हुन् । धान खाने मुसो, चोट पाउने भ्यागुतो जस्तो भो भन्दै शर्माले अहिले सेयर बजार घट्दै गर्दा आफुलाई दोष दिइएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन्। लगानीकर्ताको संरक्षण गर्न सरकार प्रतिबद्ध रहेकाे उनले बताए ।

७. प्रचण्डका स्वकिय सचिव मल्लले भने, "हामी आँफै पूँजीबजारमा संलग्न छौँ कसरी बजार विरोधी भयौँ  ?"

नेपाल कम्युनिष्ट पार्टी माओवादीका अध्यक्ष्य पुष्पकमल दाहाल 'प्रचण्डका' स्वकीय सचिव रमेश मल्लले माओवादी पुँजीबजार विरोधी भनेर फैलिएको हल्ला निराधार भएको बताएका छन् । अर्थसंसार सँग कुरा गर्दै मल्लले भने , ' हामी आफै सेयर कारोबारमा संलग्न छौँ, अनि कसरी हामी सेयर बजार विराेधी हुन सक्छौँ ? ' अाइतबार प्रचण्डले एउटा सार्वजनिक सम्मेलनमा पुँजीबादी विस्तारवाद र वित्तिय एकाधिकारको कुरामा विश्वस्तरमै  पुँजीबजारमा लगानी बढिरहेको र पहिले पहिले पुँजी उत्पादनमा, उद्योगमा लगानी हुनेमा अहिले पुँजीमै पुँजी लगानी भैरहेको र त्यो राम्रो कुरा नभएको उल्लेख गरेका थिए । उक्त अभिव्यक्तिकाे जनस्तरबाट व्यापक विरोध भैरहेको छ।  यहि प्रसंगमा जवाफ दिंदै उनले बुझाई गलत भएको बताए । माओबादी लगानीकर्ताको संरक्षणमा प्रतिबद्ध रहेकाे भन्दै प्रचण्डको अभिव्यक्तिलाई राजनीतिक मुद्धा नबनाउन उनले आग्रह गरेका छन् ।

८. ग्लोबल आईएमई बैंकको साधारण सभा सम्पन्न, १३.५ प्रतिशत लाभांश पारित

ग्लोबल आईएमई बैंक लिमिटेडको पन्ध्रौँ वार्षिक साधारण सभा आज (मंसिर २७ गते, सोमबार) नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा सम्पन्न भएकाे छ । सभाले बैंकको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.५ प्रतिशत नगद गरी कुल १३.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे छ । सभामा बैंकका अध्यक्ष कल्याण बन्धु अर्यालद्वारा प्रस्तुत आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरिएकाे छ । सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७७/०७८ को वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायत वित्तीय विवरण पनि स्वीकृत गरेकाे छ ।

९. साेमबार सुन र चाँदी दुवैकाे मूल्य स्थिर 

सोमबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य स्थिर रहेको छ । आज पनि सुन प्रतिताेला ९२ हजार ५ सय रुपैयाँमा र चाँदी प्रतिताेला १ हजार १ सय ९० रुपैयाँमा नै कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको