Like us!
Follow us!
Connect us!
Watch us!

सेयरबजारबारे हचुवा प्रतिक्रिया !

पत्रपत्रिका

मंगलबार, २८ मंसिर २०७८, ०६ : २४ मा प्रकाशित

सेयरबजारबारे हचुवा प्रतिक्रिया !

सैद्धान्तिक आधारविना राजनीतिक नेतृत्वबाट आउने टीकाटिप्पणीले बजारमा असर पर्ने गरेको छ । पछिल्लोपटक नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले शेयरबजार विरोधी अभिव्यक्ति दिएपछि शेयरबजारमा पहिरो गएको छ ।

पूँजीको लगानी उद्योग र उत्पादनका क्षेत्रमा हुन छाडेर पूँजी बजारमा लगानी हुनु साम्राज्यवादको विकसित रूप भएको दाबी प्रचण्डले गरेका थिए । उनको भनाइलाई लिएर विभिन्न प्रतिक्रिया आएका छन् ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल शेयरबजार क्षेत्रमा जथाभावी बोल्दा र निर्णय गर्दा लगानीकर्ताको खर्बौं रकम बराबरको सम्पत्ति धराशयी बन्ने बताएका छन् । उनले दाहालको अभिव्यक्ति गलत भएको ठोकुवासमेत गरे ।

उनले राष्ट्र बैंकले सीसीडी रेसियो खारेज गर्नुले शेयरबजारमा पर्ने असरलाई औंल्याउँदै अर्थमन्त्री शर्माको शेयरमा लगानीभन्दा बैंकको निक्षेपमा लगानी गर्नुपर्ने धारणालाई पनि कटाक्ष गरे । ‘शेयरबजार मानिसको सम्पत्ति डाइभरसिटी गर्ने एक माध्यम हो । बैंकको ब्याजदर घट्दा शेयरको भाउ बढ्ने हुनाले तपाईंको आम्दानीमा खासै धेरै असर पर्दैन,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

उनले राष्ट्र बैंक र अर्थ मन्त्रालयका जिम्मेवार नेतृत्वलाई सधैं पूँजीबजारका बारेमा कम बोल्न र ब्याजदर सकेसम्म स्थिर बनाउन आग्रहसमेत गरे ।

पूर्वअर्थमन्त्री प्रकाशचन्द्र लोहनीले पनि दाहालको अभिव्यक्तिको कटाक्ष गरेका छन् । ‘विगत केही वर्षमा चीनमा भएको पूँजी बजारको विस्तार पनि के सम्राज्यवादको विकसित रूप हो ? ठोकेर केही कुरा बोल्ने अगाडि दाहालजीले अलि चिन्तन गर्नुभएको भए हुने,’ उनले भने ।

अर्थशास्त्री डा. केशव आचार्य दाहालको टिप्पणी सही नभएको बताउँछन् । ‘शेयरबजार भनेको नै लगानी संकलन गर्ने ठाउँ हो । त्यसैले गलत अर्थ लगाइनु हुँदैन,’ उनले भने ।

पूँजी बजारबारे यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दिएको अभिव्यक्ति गैरजिम्मेवारीपूर्ण भन्दै विवेकशील साझा पार्टीले विरोध व्यक्त गरेको छ ।

तत्कालिन अर्थमन्त्री बाबुराम भट्टराईले पूँजीबजारलाई जुवाघरको संज्ञा दिँदै लगानीलाई निरुत्साहन गर्नुपर्ने अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिपछि नेप्से ११७५ अंकमा पुगेको थियो । यस्तै तत्कालीन अर्थमन्त्री युवराज खतिवडाको कार्यकालमा शेयरबजारको अवस्था निराशाजनक थियो । खतिवडाको विवादास्पद अभिव्यक्तिको २ वर्षमै बजारले ११ सयको विन्दु छोएको थियो । घटेको बजारलाई जीवन दिने उद्देश्यसहित आफ्नो धारणा परिवर्तन भएको र लगानीमैत्री वातावरण सृजना गर्न लागिपरेको भन्दै उनी अर्थमन्त्रीबाट बिदा पनि भए ।

पहिलो अभिव्यक्तिलाई सच्याउँदै उनले अन्तिममा भए पनि शेयरबजार सुधारका निम्ति विभिन्न नीतिगत व्यवस्था गरेपछि भने बजार बढ्न थालेको थियो । पूँजी संकलनको माध्यम भए पनि नेपालमा बारम्बार शेयरबजारप्रति उच्च नेतृत्वबाट हचुवाको टिप्पणी हुने गरेको छ । यसले बजार प्रभावित हुने गरेको छ । आर्थिक अभियान दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको