Like us!
Follow us!
Connect us!
Watch us!

ब्याजदर जस्ता को तेस्तै, सेयर बजार घट्यो, सेयरबजार बारे प्रचण्डको अभिव्यक्ति चित्तबुझेंन ओलीलाई

अर्थ संसार

बुधबार, २९ मंसिर २०७८, २२ : १० मा प्रकाशित

आज (मंसिर २९ गते, बुधबार) दिनभरका आर्थिक समाचारहरू तल उल्लेख गरिएका छन् । 

१. बुटवल पावरले गर्याे लाभांश घाेषणा, १० प्रतिशत बाेनस दिने

बुटवल पावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ  । कम्पनीको हिजाे (मंसिर २८ गते, मंगलबार) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि १० प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । उक्त लाभांश आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  । 

२. बैंकहरुले बढाएनन् ब्याजदर, मंसिर महिनाकाे ब्याजदरलाई नै निरन्तरता

बैंकहरुले पुस महिनाका लागि निक्षेपको ब्याजदर नबढाउने भएका छन् । बजारमा पैसाको अभाव कायम रहेकाे र यस्ताे अवस्थामा बैंकले ब्याज बढाउँदा पनि निक्षेप नआउने निष्कर्शमा बैंकरहरु पुगेका हुन् । बैंकहरुले मंसिर महिनामा कायम व्यादरलाई नै पुसमा पनि निरन्तरता दिने भएका हुन् । वाणिज्य बैंकहरुले मंसिरमा कायम व्यक्तिगत मुद्दति निक्षेपतर्फ अधिकतम १०.०५ प्रतिशत र संस्थागततर्फ ९.०५ प्रतिशत ब्याजदरलाई पुसमा निरन्तरता दिएका छन् । त्यस्तै विकास बैंकहरुले पनि मंसिरमै कायम व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम १०.२५ प्रतिशत र संस्थागततर्फ ९.२५ प्रतिशतलाई नै निरन्तरता दिएका छन् । त्यसैगरी फाइनान्सहरुले पनि व्यक्तिगत मुद्दति निक्षेपमा १०.३५ प्रतिशत र संस्थागततर्फ ९.३५ प्रतिशत ब्याजदर नै कायम गरेका छन् ।

३. मल्टीपर्पस फाइनान्सले गर्याे लाभांश घोषणा, लगानीकर्तालाई १३ प्रतिशत बोनस

मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ  । कम्पनीकाे हिजाे मंसिर २८ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.५२६ प्रतिशत नगद गरी कुल १३.५२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई र कम्पनीकाे आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

४. सेयर बजारमा तीव्र उतारचढाव : नेप्से परिसूचक घट्याे, काराेबार रकममा आकर्षक वृद्धि

आज (बुधबार) सेयर बजारमा तीव्र उतारचढाव देखिएकाे छ । हिजाे (मंगलबार) १ बजेर २६ मिनेट जाँदा ६ प्रतिशतले बढेर बन्द भएकाे सेयर बजार आज भने ४.२३ अंकले घटेकाे हाे । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ४.२३ अंकले घटेर २४१४.६२ विन्दुमा झरेकाे छ । नेप्से ०.१७ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ०.८९ अंकले घटेर ४५९.४१ विन्दुमा झरेको छ । कूल २२८ वटा कम्पनीकाे ९८ लाख ७९ हजार एक सय ९ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ५८ करोड ८३ लाख ९० हजार ६ सय ७८ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ८ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ५ वटा उपसमूहकाे सेयर घटेको छ । आज महालक्ष्मी विकास बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे १६ कराेड ५८ लाख ६२ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । बुधबार सामलिङ्ग पावर कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै बढेकाे छ । कम्पनीकाे सेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ४ सय ४४ रूपैयाँ पुगेकाे छ । आज नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । संस्थाकाे सेयरमूल्य ५.३४ प्रतिशतले घटेर प्रतिकित्ता एक हजार एक सय रूपैयाँमा झरेकाे छ ।

५. सेयरबजारबारे प्रचण्डले दिएको अभिव्यक्तिको ओलीद्वारा चर्को आलोचना भन्छन्, "कुन सेयर कारोबारीले चन्दा दिएन होला, प्रचण्डले सेयर बजारमा ठोकिदिए"

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्डले सेयर बजारको सम्बन्धमा दिएको अभिव्यक्तिको चर्को आलोचना गरेका छन्। 'प्रचण्ड लेलिन भन्दा पनि बढ्तै जान्ने भएछन्, पुँजीवाद विकसित भएर साम्राज्यवाद बन्छ भनेर लेनिनले भनेका थिए, त्योभन्दा माथि गएर साम्राज्यवाद विकसित भयो भयो भने पुँजी सेयर बजारमा जान्छ भनेर प्रचण्डले नयाँ थेसिस ठोकिदिए', ओलीले भने। ' कुनचाहिं सेयर कारोबारीले चन्दा दिएन होला अनि लौ जा त यो सेयर बजार नै ध्वस्त बनाइदिञ्छु भन्ने हिसाबले ना रहे बाँस ना बजे बाँसुरी भन्ने हिसाबले बोलिदिए', उनले थपे। आफूले बोल्दा अर्थतन्त्रमा के असर पर्छ, जनतामा के असर पर्छ भन्ने हेक्का नराख्ने प्रवित्तिको उनले विरोध गरेका छन् ।

६. २०% लाभांश पारित गर्न बुटवल पावरले डाक्याे साधारण सभा, पाैष ११ गतेदेखि बुकक्लाेज

बुटवल पावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । कम्पनीकाे हिजाे (मंसिर २८ गते, मंगलबार) बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे २९औँ वार्षिक साधारण सभा पाैष २६ गते साेमबार, कम्पनीकाे रजिष्टर्ड कार्यालय, बानेश्वर, काठमाडाैँमा बिहान ११ बजेबाट हुनेछ । सभामा कम्पनीको हिजाे (मंसिर २८ गते, मंगलबार) बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि १० प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि पाैष ११ गतेदेखि पाैष २६ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पाैष ८ गते, बिहीबारसम्म नेप्सेमा काराेबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

७. सिभिल बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप, पाैष ९ गतेसम्म आवेदन दिन सकिने

सिभिल बैंक लिमिटेडले मंसिर २४ गते, शुक्रबारबाट निष्कासन तथा बिक्री खुल्ला गरेकाे ऋणपत्रमा आवेदन दिने म्याद थपिएकाे छ । अब उक्त ऋणपत्रमा पाैष ९ गतेसम्म  आवेदन दिन सकिनेछ । बैंकले १० वर्ष अवधिको १०.२५ प्रतिशत व्याजदर भएको ‘सिभिल बैंक डिबेञ्चर २०८८’ नाममा प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा ३ अर्ब रूपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो । निष्कासन गरिएकाे कुल ३० लाख कित्ता ऋणपत्रमध्ये बैंकले सर्वसाधारणका लागि १२ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १८ लाख कित्ता बिक्री गर्नेछ । सर्वसाधारणको लागि छुट्याईएकोमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ ।लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पुर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले गरेकाे छ । लगानीकर्ताहरूले लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, सिभिल बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरू तथा मेरो सेयर मार्फत अनलाईनबाट समेत आवेदन दिन सक्नेछन् ।

८. माउन्टेन इनर्जीले डाक्याे साधारण सभा, पाैष १२ गते बुकक्लाेज

माउन्टेन इनर्जी नेपाल लिमिटेडले वार्षिक साधारण सभा बाेलाएकाे छ । कम्पनीकाे मंसिर ७ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे आठाैँ वार्षिक साधारण सभा पाैष २५ गते, आइतबार हुनेछ । सभामा सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७७/०७८ को वित्तिय विवरणहरु उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षण समितिको सिफारिस अनुसार आर्थिक वर्ष २०७८/०७९ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरू पारित गरिनेछ । कम्पनीले साधारण सभा प्रयाेजनका लागि पाैष १२ गते एक दिन बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले पाैष ११ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भइ कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् । 

९. ५ सयले घट्याे सुनकाे भाउ, चाँदीकाे मूल्य स्थिर

बुधबार सुनकाे मूल्य ताेलामा ५ सय रूपैयाँले घटेर प्रतिताेला ९२ हजार ३ सय रूपैयाँ कायम भएकाे छ । चाँदीकाे मूल्य भने स्थिर रही अाज पनि एक हजार २ सय १० रूपैयाँमा नै काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको