Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा जथाभावी एन्टिबायोटिक प्रयोगले संकटमा स्वास्थ्य

पत्रपत्रिका

सोमबार, १२ पुस २०७८, ०७ : ४० मा प्रकाशित

नेपालमा जथाभावी एन्टिबायोटिक प्रयोगले संकटमा स्वास्थ्य

चिकित्सकको सल्लाह र कुनै पनि किटाणुको परीक्षण गरेपछि मात्रै बिरामीलाई एन्टिबायोटिक औषधि दिनुपर्ने औषधि निर्देशिकामा उल्लेख छ। तर नेपालमा यसको जथाभावी प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर पर्दै गएको एक अध्ययनले देखाएको छ। बढ्दो एन्टिबायोटिक प्रतिरोधी समस्या देखिएपछि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले काठमाडौं उपत्यकामा एन्टिबायोटिक प्रयोगको बारेमा अनुसन्धान गरेको थियो।

अनुसन्धानको प्रारम्भिक रिपोर्टअनुसार बिरामीले आफूखुसी एन्टिबायोटिक खरिद गर्ने गरेको, फार्मेसीले चिकित्सकको पूर्जीबिना नै बिक्री गरेको पाइएको हो। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धान विभाग प्रमुख डा. मेघनाथ धिमालले भने, ‘बिरामीले आफ्नै ढंगले औषधि पसलमा खरिद गर्न गएको देखिन्छ। बिरामीले मागेकै भरमा औषधि पसलबाट समेत यसको बिक्री गरेको पाइयो।’ गत वर्ष गरेको यो अनुसन्धानको पूर्ण प्रतिवेदन भने छिट्टै सार्वजनिक हुने बताइएको छ।

काठमाडौं उपत्यकाका एक सय ४७ चिकित्सक, ८७ वटा फार्मेसी र ३ सय ४३ जना बहिरंग विभागमा आएका बिरामीलाई एन्टिबायोटिक प्रयोग तथा बिक्री अभ्यासको बारेमा नमुना लिएर अध्ययन गरिएको थियो। सो अध्ययनको क्रममा कम बिरामीलाई मात्रै एन्टिबायोटिक आफूखुसी प्रयोग गर्न नहुने जानकारी थियो।

अस्पतालका बहिरंग विभागमा आएका ३ सय ४३ जना बिरामीहरूले पनि चिकित्सकको ‘पे्रसक्रिप्सन’ बिना नै औषधि किन्ने गरेको पाइयो। जीवाणुको क्षमता जाँच अर्थात् (व्याक्टेरियल सस्टेनेविलिटी टेष्ट) नगरी बिरामीको पे्रसक्रिप्सनमा एन्टिबायोटिक सिफारिस गर्न नपाइनेमा व्यवहारमा पूर्ण लागु नभएको अध्ययनको क्रममा देखिएको छ।

एकातिर यी तीन पक्षको हेलचेक्राइँले नेपालमा एन्टिबायोटिकको जथाभावी प्रयोग भइरहेको पाइएको छ। पशुपक्षीमा बढीरहेको एन्टिबायोटिक रेसिस्टेन्सको गम्भीर असर मानव स्वास्थ्यमा परिरहेको विज्ञ र विभिन्न अनुसन्धानले देखाएको छ।

नेपालमा पशुपक्षीलाई पनि जथाभावी एन्टिबायोटिकको प्रयोग भएको छ। त्यही पशुपक्षीको मासु मान्छेले प्रयोग गरिरहेका छन्। यी स्रोत बाहेक माछा, गाइवस्तु र कुखुरालाई दिइने दानामासमेत जथाभावी प्रयोग हुने गरेको त्रिभुवन विश्वविद्यालय केन्द्रीय माइक्रोवायोलोजी विभागका सहप्राध्यपक मेघराज बञ्जाराले बताए। नेपालमा माछामासुको प्रयोगबाट मानिसमा एन्टिबायोटिक रेसिस्टेन्स भएको छ।

अहिलेकै गतिमा एन्टिबायोटिक रेसिस्टेन्स बढ्ने हो भने मानव स्वास्थ्य थप संकटमा पर्ने स्थिति रहेको अनुसन्धानले देखाएको छ। सन् २०५० सम्ममा नेपालमा एन्टिबायोटिक रेसिस्टेन्सको कारण प्रतिसेकेण्ड ३ जनाको मृत्यु हुने प्रक्षेपण गरिएको छ भने विश्वमा प्रतिवर्ष ७ लाख मानिसको एन्टिबायोटिक रेसिस्टेन्सको कारण मृत्यु भइरहेको देखिएको छ।

सन् १९८७ देखि यता कुनै पनि एन्टिबायोटिक नबनेको र भइरहेका एन्टिबायोटिकमा जैविक रेसिस्टेन्स बढ्दै जानुले मानव स्वास्थ्यमा थप संकटमा पर्दै गइरहेको सहप्राध्यपक बञ्जाराले बताए। नेपालमा एन्टिबायोटिकको जथाभावी प्रयोग भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको प्रयोग सम्बन्धी नयाँ निर्देशिका नै बनाइरहेको जनाएको छ।

(याे समाचार आजकाे नागरिक दैनिकमा छ ।)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको