Like us!
Follow us!
Connect us!
Watch us!

जलवायु सम्मेलनको हिसाब अपारदर्शी, हिसाब खोज्दा जिसस प्रमुख तामाङ पन्छिए

अर्थ संसार

शुक्रबार, १६ पुस २०७८, ११ : ३८ मा प्रकाशित

जलवायु सम्मेलनको हिसाब अपारदर्शी, हिसाब खोज्दा जिसस प्रमुख तामाङ पन्छिए

१८ पुसमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-९, गुफाडाँडामा तेस्रो जलवायु दिवस मनाइँदैछ । २०७५ सालमा जिल्ला समन्वय समिति, सिन्धुपाल्चोकको आयोजनामा भएको जलवायु सम्मेलनको निरन्तरतास्वरूप जलवायु दिवस मनाइँदै आएको हो ।

जिल्ला समन्वय समितिले जलवायु सम्मेलनको आर्थिक हिसाब अझै सार्वजनिक गरेको छैन । १० पुसमा शनिबार जिससले राखेको पत्रकार सम्मेलनमा सोसम्बन्धी कुरा उठान गर्दा आफूहरूले पहिले नै सो विवरण सार्वजनिक गरेको भन्दै जिसस प्रमुख कृष्णगोपाल तामाङ पन्छिएका थिए । उनले जलवायु सम्मेलन सकिएको १५ दिनमा सांसद अरुण नेपाल प्रमुख अतिथि बनाएर खर्च विवरण पेस गरिसकेका बताएका थिए । तर पत्रकारहरूले सो बैठकको माइन्युटसहित खर्च विवरण माग गर्दा उनले उपलब्ध भने गराउन सकेनन् ।

२०७५ मा पहिलो पटक जलवायु सम्मेलन हुन लागेकाले जिल्लामा क्रियाशील धेरैजसो गैरसरकारी संघसंस्थाहरूले खुलेर आर्थिक सहयोग गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा भएको सम्मेलनमा देशभरका जिल्ला समन्वय समितिका प्रमुख वा उपप्रमुखको उपस्थिति थियो । उनीहरूले पनि प्रतिजिल्ला १० हजार रुपैयाँका दरले शुल्क बुझाएका थिए । 

जिल्लामा सञ्चालित क्रसर उद्योगले समेत सो सम्मेलनमा ठूलै रकम सहयोग गरेकाे स्राेतले जनाएको छ । त्यसबाहेक जिल्ला समन्वय समिति, सिन्धुपाल्चोकको आफ्नो स्रोतसहित जिल्लाका धेरैजसो स्थानीय पालिकाले समेत सम्मेलनका लागि आर्थिक सहयोग गरेका थिए । सम्मेलनपछि पनि विभिन्न स्रोतबाट रकम संकलन गरी दुईपटक जलवायु दिवस मनाइसकेको छ ।

तेस्रो जलवायु दिवसको समेत तयारी अन्तिम चरणमा पुगिसकेको छ । तर आजसम्म जिसस सिन्धुपाल्चोकले दुईवटा जलवायु सम्मेलनमा भएको आम्दानी खर्चको विवरण सार्वजनिक गरेको छैन । सञ्चारकर्मीहरूले दिएको सुझावलाई नकार्दै  तामाङले आफू ज्यादै ज्याद्रो मान्छे भएकाले मन लागेकाे  काम गर्दै जाने बताए  । 
 
जिसस प्रमुख ,उपप्रमुख र सदस्यको कुरा बाझियो

अघिल्ला जलवायु सम्मेलनको आर्थिक विभागको प्रमुख समेत रहेकी जिसस सदस्य शकुन्तला माझीले पहिलो सम्मेलनमा सञ्चारमाध्यमका लागि नाै लाख खर्च भएको र बेरुजु अझै रहेकाे बताइन् ।  प्रमुख तामाङले चार लाख रुपैयाँ खर्च गरिएको बताइरहँदा उनको भनाइलाई काट्दै उपप्रमुख सापकोटाले ६ लाख रुपैयाँ खर्च भएको बताइन् । सो कुरालाई समेत काट्दै आर्थिक विभाग प्रमुख माझीले भने नाै लाख रुपैयाँ खर्च भएको उल्लेख गरिन् । 

जिसस सिन्धुपाल्चोकले यस वर्ष पनि १८ र १९ पुसमा जलवायु दिवस मनाउँदै छ । सो कार्यक्रममा काठमाडाैंबाट साइकल यात्रा, विद्यावारिधि गर्ने सिन्धुपाल्चोकबासीलाई सम्मान र गुफाडाँडाबाट रेस्लिङ कार्यक्रमसमेत राख्दैछ । रेस्लिङ कार्यक्रमले जलवायुको प्रभावको विषयमा के अर्थ राख्छ भन्नेमा आयाेजक नै बेखबर छन् ।

जिल्ला समन्वय समितिले खेलकुद कार्यक्रममा छुट्याएको पाँच लाख बजेटबाट रेस्लिङ कार्यक्रम राखिएको छ । जिससको पाँच लाख बजेटमा खेदकुदको पाँच लाख गरी १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । दोस्रो दिन मेलम्चीमा हुने सम्मानित व्यक्ति र जिल्लाका सबै स्थानीय तहको प्रमुखहरूको बीचमा जलवायु अनुकूलन तथा विपद् जोखिम न्यूनीकरणको बारेमा हुने अन्तरक्रिया कार्यक्रमको खर्च मेलम्ची नगरपालिकाले व्यहोर्ने तामाङले बताए । गैरसरकारी संस्थाले मायाको चिनोमा सहयोग गर्ने तामाङको भनाइ छ ।  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको