महोत्तरी पाटुका किसान शमसेरबहादुर खड्कालाइ वर्षा सकिएपछि पनि यतिधेरै वर्षा हुन्छ भन्ने सोचेका पनि थिएनन् । खेतमा धान पाकेर पहेंलै भएको छ । खडकाले अर्को हप्ता धान काटने योजना बनाएका थिए । तर, असार साउनको जस्तै भएको अविरल वर्षाले धान झरेर खेतैभरी भएको छ । ‘यसपालि अत्याधिक धान फलेको थियो । पानीले ठूलो नोक्सान बनायो’, उनी भन्छन् ।
शमसेरको जस्तै अर्का किसान टेक बहादुरको पनि उस्तै दुखेसो छ । खेतमा गएर धान फलेको देख्दा टेक बहादुरलाई मन नै प्रफुल्ल हुन्थ्यो । लटरम्म लागेका धानका बालाले टेक बहादुरले अनेक योजना पनि बनाएका थिए । यति धेरै लटरम्म धान फलेको छ । सबै खाएर सकिँदैन, बाँकी बेच्नु पर्ला भनेर छिमेकीसँग उनले कयाैँ पटक कुरा पनि गरे । तर, एक्कासी परेको अविरल वर्षाले टेक बहादुरलाइ निराश बनाएको छ ।
उनीहरूको जस्तै महोत्तरीका अधिकाश किसानहरू चिन्तित् बनेका छन् । महत्तरीमा कतै धान काटिसकिएको छ भने कतै धमाधम काट्ने तयारी भएको छ । धान काटेर खेतमा नै राखेकाहरूले झन् ठूलो नोक्सान व्यहोर्नुपरेको छ ।
महोत्तरीमा वर्षायामको जस्तै यतिबेला रातु नदीको बहाव बढिरहेको छ भने कतिपय ठाउँमा कटान गर्ने क्रम पनि बढेको छ । धान भित्र्याउने बेलामा परेको अविरल वर्षाले धान खेतीमा मात्र असर बनाएको छैन्, बाढीको कारणले समेत समस्या बनिरहेको छ ।
पछिल्लो केही वर्षयता अनियमित वर्षा तथा जलवायु परिवर्तनका कारण किसानहरू ठूलो मार्कामा पर्दै आएका छन् । गर्मीयाममा अत्याधिक गर्मी हुने, जाडोयाममा अत्याधिक जाडो हुने, वर्षाद्को समयमा अविरल वर्षा हुने जस्ता समस्याले किसानहरूले बालीनालीमा नोक्सान व्योहोर्दै आएका छन् ।
जलवायु परिवर्तन र महोत्तरीका किसानको अवस्था
किसानगरका अबदुल रसिदलाई किरा फट्याङ्र्ग्राको प्रकोपले बालीनालीमा यति ठूलो ह्रास आउँछ भन्ने सोचेका पनि थिएनन् । तर, किरा तथा उत्पादन गर्नसमेत रासायनिक मल तथा औषधिको प्रयोगले स्वास्थ्यमा समेत गम्भीर असर परिरहेको उनको बुझाइ छ ।अस्वभाविक वर्षाद् कै कारण बाढीपहिरो तथा डुबानले वर्षेनी सयाैँ घरपरिवार विस्थापन भइरहेका छन् ।
जलवायु परिवर्तनको असर धमाधम सर्वसाधारणहरूमा देखिन थालेपछि विज्ञहरूको सुझावअनुसार हरित अभियान नै सञ्चालन गरिएको छ । महोत्तरीका जनप्रतिनिधि तथा संघीय संसद गिरिराजमणि पोखरेलले महोत्तरीमा झन्डै १ लाख बिरुवा रोप्ने अभियानमा सहभागी गराई जलवायु परिवर्तन न्यूनीकरणका लागि पहल नै थालेका छन् ।
जनसंख्याको दर उच्च दरले बढेसँगै अहिले महोत्तरीका हरिया जङ्गलहरू अतिक्रमण हुन थालेको छ भने भू–माफियाहरूको चलखेलले सामुदायिक वन क्षेत्रसमेत धमाधम अतिक्रमण गरेर वस्ती बसाउने अभियान चलेको छ ।
मानवीय क्रियाकलापकै कारण जलवायु परिवर्तनमा व्यापक हेरफेर भएको र यसलाई न्यूनीकरणको लागि बृक्षारोपण तथा मानवका नकारात्मक क्रियाकलाप कम हुनुपर्ने वैज्ञानिकहरूको सल्लाह सुझाव मनन गर्दै स्थानीय तहले समेत थप संयमता अपनाउन थालेको नगरप्रमुख विदुर कार्की बताउँछन ।
जलवायु परिवर्तनको महोत्तरीको अवस्था
एक तथ्यांक अनुसार महोत्तरी जिल्लाको २० वर्षको तापक्रम हेर्दा अधिकतम तापक्रम र सामान्य तापक्रममा ६ डिग्री सेन्टिग्रेडको फरक पाइएको छ ।
वैज्ञानिकहरूले पृथ्वीको तापक्रम वृद्धि औद्योगिक क्रान्तिको बेलाको स्तरभन्दा १ दशमलव ५ डिग्री सेल्सियस मात्र बढी हुनुपर्ने सुझाव दिए पनि संसारमा हाल त्यो सीमाभन्दा निकै बढी तीन डिग्री सेल्सियसतर्फ अघि बढिरहेको बताइएको छ ।
संयुक्त राष्ट्रसंघले जारी गरेको जलवायु परिवर्तनसम्बन्धी प्रतिवेदनमा पृथ्वीमा विनाशकारी परिवर्तनहरू हुनबाट जोगाउन मानिसको जीवनशैलीमै परिवर्तन ल्याउनुपर्ने आवश्यक्तालाई जोड दिइएको छ । मानवीय क्रियाकलापहरूले जलवायुमा परिवर्तन हुँदा मानव अस्तित्वमा नै गम्भीर असर परिरहेको र त्यसको असर नकारात्मकतर्फ उन्मुख भइरहेको अवस्थामा अहिले जनमानसमा अनेक किसिमका डर त्रास व्याप्त बनेका छ ।
जलवायु परिवर्तसम्बन्धी अन्तर्सरकारी प्यानल (आईपीसीसी) ले तयार पारेको प्रतिवेदनका अनुसार ऊर्जा खपत, यात्रा, निर्माण सामग्रीको प्रयोग र हामीले खाने खानेकुरा जस्ता क्षेत्रमा नाटकीय परिवर्तन गर्न आवश्यक छ ।
अध्ययन प्रतिवेदनका अनुसार पृथ्वीको तापक्रमलाई १ दशमलव ५ डिग्रीभन्दा बढी बढ्न नदिने हो भने त्यसबाट विभिन्न प्रजातिहरू व्यापक रूपमा लुप्त हुनेदेखि सुख्खा र बाढीको समस्यासम्मलाई रोक्न सकिने वातावरणविद् नागदेव यादवको तर्क छ ।
वैज्ञानिकहरूका अनुसार पृथ्वीको तापक्रम दुई डिग्री सेल्सियसले बढ्यो भने समुद्रमा रहेको ‘कोरल रीफ’ भनिने मुगाको वासस्थान नै मासिनेछ । दुई डिग्रीले तापक्रम बढेमा विश्वव्यापी रूपमा नै समुद्रको सतह झन्डै १० सेन्टिमिटरले बढ्ने छ । तर, तापमान वृद्धि १ दशमलव ५ डिग्रीमा सीमित तुल्याउन सकिएमा एक करोडभन्दा थोरै मानिसहरू बाढीको जोखिमबाट जोगिन सक्नेछन्।
त्यसैगरी समुद्रको तापक्रम र अम्लीयपनमा उल्लेख्य प्रभाव पर्नेछ र धान, मकै तथा गहुँजस्ता बालीको उत्पादन पनि ब्यापक प्रभावित हुनेछ । पछिल्लो केही वर्षयता महोत्तरीमा समेत बालीनालीमा अनेक प्रकारका प्रकोपले उत्पादनमा ह्रास आइरहेको छ भने किसानहरू वैकल्पित खेतीपातीको अवलम्बन गरिरहेका छन् । तापक्रम वृद्धि कै कारण चुरेमा पानीका मुहान सुक्न थालेका छन् भने सिँचाइको सुविधाबाट समेत किसानहरू विमुख बन्दै गएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस