Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ताको पर्खाइमा जीवन विकासको लाभांश, सेयर बजारमा उछाल, बुद्धभुमिकाे आईपीओ सूचिकृत+ अन्य समाचार

अर्थ संसार

आइतबार, ०२ माघ २०७८, २१ : १७ मा प्रकाशित

आज (माघ २ गते, आइतबार) दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएका छन् ।

१. हिमालयनसँग मर्जरको प्रस्ताव भाँडिएपछि नेपाल इन्भेष्टमेन्टको विशेष साधारण सभा रद्द

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको माघ ४ गते, मंगलबार हुने भनिएकाे विशेष साधारण सभा रद्द भएको छ । हिमालयन बैंकको सभामा दुवै बैंकबीच मर्ज हुने प्रस्ताव अस्वीकृत भएकोले विशेष साधारण सभा स्थगित गर्नुपरेको बैंकले जनाएकाे छ । हिमालयन बैंक लिमिटेडको पौष ३० गते, शुक्रबार बैंकको केन्द्रिय कार्यालय, कमलादी, काठमाडौँमा भएको उनन्तीसौँ वार्षिक साधारण सभाले मर्जरको विशेष प्रस्ताव अस्विकृत गरेकाे थियाे । सभामा १४% सेयर हिस्सा रहेको कर्मचारी सञ्चय कोषले नेपाल इन्भेष्टमेन्ट बैकसँग मर्जरमा जाने विपक्षमा भोट दिएपछि एकाएक मर्जर प्रकृया भाँडिएको थियो । दुवै बैंकबीच वैशाख ३० गते, बिहिबार एक आपसमा गाभ्न गाभिनका लागि प्रारम्भिक समझदारी पत्र (आईओएम) मा हस्ताक्षर भएको थियाे।

२. लगानीकर्ताको पर्खाइमा जीवन विकास लघुवित्तको लाभांश

पछिल्लो समय नेपालको सेयर बजारमा धेरै लगानीकर्ताको रोजाईमा पर्ने गरेको जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांशको विषयलाई लिएर अहिले बजारमा धेरै नै चर्चा परिचर्चा हुने गरेको छ । आईपीओ निष्कासनको प्रक्रियादेखि नै लगानीकर्ताहरुले यो कम्पनीलाई महिला लघुवित्तसँग तुलना गर्ने गरेका थिए । महिला लघुवित्तको तुलनामा चुक्ता पूँजी केही बढी रहेको जिवन विकासका अधिकांश सूचकहरु पनि महिला लघुवित्तको तुलनामा सकारात्मक देखिन्छ ।  महिला लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुका लागि ५० प्रतिशत लाभांश घोषण गरेपछि लगानीकर्ताहरूले जीवन विकासले महिला भन्दा बढी लाभांश घोषणा गर्नसक्ने आँकलन गरिरहेका छन् । 

३. माघकाे सुरूवातसँगै सेयर बजारमा उछाल, काराेबार रकममा छलाङ

माघ महिनाकाे पहिलाे काराेबार दिन आज (आइतबार) पनि सेयर बजारमा राैनकता कायमै छ । नेप्से परिसूचक सँगसँगै काराेबार रकममा पनि उच्च वृद्धि देखिएकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर काराेबार मापक नेप्से परिसूचक ६९ अंकले बढेर २९२६.७४ विन्दुमा पुगेकाे छ । नेप्से २.४१ प्रतिशतले बढेकाे हाे । सेन्सेटिभ परिसूचक पनि ११.८१ अंकले बढेर ५४२.६३ विन्दुमा पुगेको छ । कूल २२९ वटा कम्पनीकाे एक कराेड ८२ लाख ५४ हजार ४ सय २५ कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब ६७ करोड ६३ लाख १७ हजार ५९ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर बढेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशाेधन उपसमूह ५.६२ प्रतिशतले बढेकाे छ । आइतबार अरूण भ्याली हाइड्राेपावर डेभलपमेन्ट कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ३२ कराेड ४६ लाख ५९ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । आज स्ट्याण्डर्ड चार्टड बैंक लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । बैंककाे सेयरमूल्य १० प्रतिशतले बढेर ५ सय ५० रूपैयाँ पुगेकाे छ । यस दिन ग्लोबल आईएमई बैंक डिबेञ्चर २०८०/८१ काे मूल्य सबैभन्दा धेरै घटेकाे छ । उक्त डिबेञ्चरकाे मूल्य ३.५९ प्रतिशतले घटेर ९ सय ९३ रूपैयाँमा झरेकाे छ ।

४. बुद्धभुमि नेपालकाे आईपीओ नेप्सेमा सूचिकृत, साेमबारबाट काराेबारमा आउने

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (माघ २ गते, आइतबार) बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडकाे साधारण सेयर (आईपीओ) सूचिकृत भएकाे छ । स्टकका अनुसार कम्पनीकाे ४० लाख कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएकाे हाे । कम्पनीले दाेश्राे बजारमा काराेबारका लागि BNHC सिम्बाेल प्राप्त गरेकाे छ । अब साेमबारबाट दाेश्राे बजारमा कम्पनीकाे काराेबार सुरू हुनेछ । नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ८४ रूपैयाँ ०५ पैसादेखि अधिकतम २ सय ५२ रुपैयाँ १५ पैसासम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गरेकाे छ ।

५. केशव काेइराला भन्छन्, "नयाँ बीमा कम्पनीलाई लाइसेन्स दिनु नीतिगत भ्रष्टाचार हो"

चर्चित सेयर विश्लेषक केशव कोइराला 'काका' ले नयाँ बीमा कम्पनीलाई लाइसेन्स दिनु नीतिगत भ्रष्टाचार रहेकाे जनाएका छन् । नेपालमा अहिले भएका बीमा कम्पनीहरु नै बढी भएको र नयाँ कम्पनीहरुलाइ लाइसेन्स दिने कुरा कमिसनको खेल भएको बताउँदै उनले अहिले बिमा कम्पनीहरुको पुँजी बढाउनुपर्ने आवश्यकता नभएको पनि बताएका छन् । अन्य देशहरुमा कम्पनीहरुको पुँजी थोरै हुने तर उनीहरुको रिजर्भमा टन्नै पैसा हुने अनि वित्तिय विवरण आकर्षक देखिने तर नेपालमा पुँजी धेरै हुने, रिजर्भमा पैसा नहुने, अनि पुँजी धेरै कमाइ कम हुने हुँदा त्यसले प्रतिसेयर आम्दानी पनि एकदम कम देखिने गरेको बताउँदै कोइरालाले बरु अहिले भएका इन्स्योरेन्स कम्पनीहरुलाई मर्ज गराएर गुणस्तरीय र बलिया थोरै कम्पनीहरु भए नेपालको बजारलाई पुग्ने विचार व्यक्त गरेका छन्।  

६. ३ सयले घट्याे सुनकाे भाउ, १० रूपैयाँले घट्याे चाँदी 

आइतबार सुनकाे मूल्य ताेलामा ३ सय रूपैयाँले घटेर प्रतिताेला ९२ हजार ४ सय रूपैयाँ कायम भएकाे छ । आज चाँदीकाे मूल्य पनि ताेलामा १० रूपैयाँले घटेर प्रतिताेला एक हजार २ सय ५० रूपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको