Like us!
Follow us!
Connect us!
Watch us!

बीमा कम्पनीमा २०८१ देखि ‘रिस्कबेस क्यापिटल’

पत्रपत्रिका

आइतबार, ०९ माघ २०७८, ०७ : ०१ मा प्रकाशित

बीमा कम्पनीमा २०८१ देखि ‘रिस्कबेस क्यापिटल’

जीवन तथा निर्जीवन बीमा कम्पनीहरूमा विसं २०८१ देखि जोखिममा आधारित चुक्ता पूँजी (रिक्सबेस क्यापिटल) लागू गरिने भएको छ ।

अहिले बीमा कम्पनीहरूमा नियमन पूँजी (नियामक निकायले तोकेको न्यूनतम पूँजी) हुनुपर्ने व्यवस्था छ, अब भने जोखिममा आधारित पूँजी बनाउने गरी बीमा समितिले प्रक्रिया अगाडि बढाएको हो ।

समितिले अन्तरराष्ट्रिय अभ्यास र यसको महत्त्वलाई दृष्टिगत गरेर कम्पनीहरूमा जोखिममा आधारित पूँजी कायम गर्ने प्रक्रिया अगाडि बढाएको हो । बीमा कम्पनीहरूमा अहिलेको जस्तै न्यूनतम नियमन पूँजी हुनुपर्ने व्यवस्था पनि यथावत् राखिनेछ ।

अहिले जीवन बीमा कम्पनीको रू. २ अर्ब र निर्जीवन बीमा कम्पनीको रू. १ अर्बको न्यूनतम चुक्ता पूँजी हुनुपर्ने व्यवस्था छ । अब नियमन पूँजीको त्यो सीमासमेत बढाउने समितिको तयारी छ ।

समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा कम्पनीहरूमा जोखिममा आधारित पूँजी कायम गर्ने गरी प्रक्रिया अगाडि बढाएको बताए । यसका लागि विश्व बैंकसँग पनि सहकार्य गरिरहेको उनको भनाइ छ ।

‘बीमा कम्पनीहरूमा जोखिममा आधारित पूँजी कायम गर्ने गरी प्रक्रिया अगाडि बढाइसकेका छौं । बीमा कम्पनीहरूँग पनि पटकपटक छलफल हुँदै आएको छ,’ उनले भने, ‘यस विषयमा कम्पनीहरू पनि तयार भएका छन् । प्राविधिक तयारी पूरा भएपछि २०८१ देखि यो लागू गर्छौं । यसको पूरा कार्यान्वयन गर्न डेढ/दुई वर्ष लाग्न सक्छ ।’ ढिलोमा पनि २०८५ भित्र यो योजना पूर्णरूपमा सफल हुने उनको विश्वास छ ।

बीमा कम्पनीहरूको काम नै जोखिम धारण अर्थात् वहन गर्ने हो । त्यसअनुसार बीमा कम्पनीहरूले वहन गर्ने तथा गरिएका जोखिम (दायित्व) अनुसारको पूँजी कायम गर्नु उपयुक्त मानिन्छ । विश्वका अधिकांश मुलुकमा यसको अभ्यास गरिसकिएको पनि छ । नेपालले पनि यो अभ्यासमा ल्याउने तयारी गरेको हो ।

नेपालको हकमा अहिले अधिकांश बीमा कम्पनीहरूको चुक्ता पूँजी नियामक निकायले तोकेको वरिपरि नै छ । तर, उनीहरूले लिएको जोखिम (दायित्व) भने त्यो भन्दा कयाैँ गुणा बढी छ । कम्पनीहरूले पनि व्यवसाय बढाउने होडमा जति पनि दायित्व लिएको अवस्था छ । कम्पनीहरूको पूँजीले दायित्व वहन गर्न नसक्ने अवस्था पनि आउन सक्छ । सोही सम्भावित जोखिमलाई दृष्टिगत गर्दै समितिले जोखिममा आधारित पूँजी निर्माणमा अगाडि बढेको हो ।

जोखिममा आधारित पूँजी लागू भएपछि कम्पनीहरूले आफूले वहन गर्न सक्ने दायित्व बराबरमात्रै बीमा व्यवसाय गर्नुपर्ने हुन्छ । व्यवसाय बढाउनुपरे तोकिएको अनुपातमा पूँजी पनि बढाउनुपर्नेछ । सम्पत्ति दायित्व अनुपातको आधारमा बीमा व्यवसाय गर्नुपर्ने हुन्छ ।

‘अहिले जोखिममा आधारित पूँजीको मोडालिटी कस्तो बनाउने र सम्पत्ति दायित्व अनुपात केकति बनाउने भन्ने विषयमा छलफल भइरहेको छ,’ उनले भने, ‘आइतबार (आज) नै यस सम्बन्धमा कम्पनीका सीईओहरूसँग भर्चुअल छलफल पनि हुँदैछ ।’

(याे समाचार आजकाे आर्थिक अभियानमा मिलन विश्वकर्माले लेखेका छन् ।)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको