Like us!
Follow us!
Connect us!
Watch us!

एमसीसी पारित हुने हल्लाले उचालियो हाइड्रो सेक्टर, पेट्राेलकाे मूल्य बढ्ने संकेत + अन्य समाचार

अर्थ संसार

मंगलबार, ०३ फागुन २०७८, २१ : १२ मा प्रकाशित

आज (फागुन ३ गते, मंगलबार) दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएका छन् ।

१. सेयर बजारमा फर्कियो हरियाली, बढ्दै लगानीकर्ताकाे मनाेबल

आज (मंगलबार) सेयर बजारमा सकारात्मक माहाेल देखिएकाे छ । लगातार सेयर बजार घट्दा लगानीकर्ताहरू पर्ख र हेरकाे अवस्थाकाे देखिएका थिए । फेरि सेयर बजार पुन: सम्हालिने प्रयास गरिरहँदा लगानीकर्ताहरूकाे मनाेबल पनि बढ्दै गइरहेकाे छ । नेपाल स्टक एक्सचेञ्जका आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक ५३.३० अंकले बढेर २७५४.२८ मा पुगेकाे छ । नेप्से १.९७ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक १०.८३ अंकले बढेर ५२२.१३ मा पुगेको छ । कूल २२४ वटा कम्पनीकाे ६३ लाख ४३ हजार २ सय २८ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब २३ करोड ३३ लाख १८ हजार ६ सय १४ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये सबै उपसमूहकाे सूचक बढेकाे छ । सबैभन्दा धेरै हाइड्राेपावर समूह बढेकाे छ । हिमालयन डिष्टीलरी कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे २२ कराेड ७७ लाख रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । मंगलबार न्यादी हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । कम्पनीकाे सेयरमूल्य १० प्रतिशतले बढेर ४ सय ८९ रूपैयाँ ५० पैसा पुगेकाे छ ।यसदिन एनआईसी एशिया ब्यालेन्स फण्डको मूल्य सबैभन्दा धेरै घटेकाे छ । उक्त फण्डकाे मूल्य ३.१४ प्रतिशतले घटेर १० रूपैयाँ ८० पैसामा झरेकाे छ ।

२. जाेशी हाइड्रोले डाक्याे स्थगित भएकाे ३ वर्षको साधारण सभा, सेयरधनीकाे हात खाली

जाेशी हाइड्रोपावर कम्पनी लिमिटेडले यसअघि गणपूरक संख्या नपुगेर स्थगित भएकाे ३ वटा आर्थिक वर्षको वार्षिक साधारण सभा फेरि आह्वान गरेकाे छ । कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको पाचाैँ, छैठाैँ र साताैँ वार्षिक साधारण सभा फागुन ११ गते, लिसारा हल, नक्साल, काठमाडाैँमा बिहान ११:३० बजेदेखि सुरू हुनेछ । कम्पनीले लाभांश प्रस्ताव गरेकाे छैन । त्यसैले, कम्पनीकाे शेयरधनीकाे हात खाली हुनेछ । सभामा ३ वटा आर्थिक वर्षकाे प्रतिवेदनहरू छलफल गरी पारित गर्ने, लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने, कम्पनीकाे संस्थापक समुहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरूकाे मनाेनयन गर्ने लगायतका प्रस्तावहरू पारित गरिनेछ ।

३. नेप्सेमा ३ लघुवित्त र एक बैंककाे बाेनस सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) ४ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडकाे १२.६११ प्रतिशत बोनस बापतको २ कराेड ५ लाख २ हजार एक सय १८ दशमलव २३ कित्ता सेयर सूचिकृत भएको हो । मेराे माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २० प्रतिशत बाेनस बापतकाे २० लाख कित्ता सेयर सूचिकृत भएकाे हाे । यस्तै, महिला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ४७.५ प्रतिशत बाेनस बापतकाे ४ लाख ७५ हजार कित्ता सेयर सूचिकृत भएकाे हाे । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १९ प्रतिशत बाेनस बापतकाे ४ लाख ६० हजार ३० दशमलव ६२१ कित्ता सेयर सूचिकृत भएकाे हाे ।

४. अघि बढ्यो महालक्ष्मी लाइफको आईपीओ निष्कासन गर्ने प्रकृया, बिक्री प्रबन्धक नियुक्त

महालक्ष्मी लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले साधारण सेयर आईपीओ निष्कासन गर्ने प्रकृया अघि बढाएकाे छ । कम्पनीले जारी पूँजी २ अर्ब रूपैयाँकाे ३० प्रतिशतले हुन आउने ६० कराेड रूपैयाँ बराबरकाे प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ६० लाख कित्ता साधारण सेयर आईपीओ निष्कासन गर्न लागेकाे हाे । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रयाेजनका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेकाे छ । उक्त सम्झाैतापत्रमा सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसे र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरेका छन् ।

५. एमसीसी पारित हुने हल्लाले उचालियो हाइड्रो सेक्टर

एमसीसी पारित हुने हल्लाले आज बजारमा हाइड्रोपावर सेक्ट उचालिएको छ । यस दिन सबैभन्दा धेरै हाइड्रोपावर उपसमूह ४.३२ प्रतिशतले बढेको छ । यस दिन सबैभन्दा धेरै काराेबार हुने १० वटा कम्पनीमध्ये ५ वटा हाइड्राेपावर छन् । सर्वाधिक नाफा कमाउने १० कम्पनीमध्ये पनि ७ वटा हाइड्राेपावर रहेका छन् । 

६. पेट्राेलियम पदार्थकाे मूल्य अझै बढ्न सक्ने, कच्चा तेलको भाउ ७ वर्षयताकै उच्च

पेट्राेलियम पदार्थकाे मूल्य अझै बढ्न सक्ने भएकाे छ । विश्व बजारमा कच्चा तेलको भाउ ७ वर्षयताकै उच्च विन्दुमा पुगेको छ । रुस र युक्रेनबीच तनाव चुलिँदै जाँदा तेलको भाउमा पनि उच्च वृद्धि भएको हो । सोमबार पनि कच्चा तेलको भाउ २% भन्दा धेरैले वृद्धि भएको छ । रुस विश्वका ठूला तेल तथा ग्यास उत्पादक देशहरुमध्ये एक हो । रुसले युक्रेनलाई आक्रमण गर्नसक्ने भयका कारण तेलको भाउ प्रतिब्यारेल १०० अमेरिकी डलर नजिक पुगेको छ । जुन सन् २०१४ यताकै उच्च हो ।

७. १२ सयले बढ्याे सुनकाे भाउ, २० रूपैयाँले बढ्याे चाँदी

मंगलबार एकैदिन सुनकाे मूल्य ताेलामा १२ सय रूपैयाँले बढेर प्रतिताेला ९६ हजार ७ सय रूपैयाँ कायम भएकाे छ । यस दिन चाँदीकाे मूल्य पनि ताेलामा २० रूपैयाँले बढेर प्रतिताेला एक हजार ३ सय २० रूपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको