Like us!
Follow us!
Connect us!
Watch us!

नक्कली नोटकाे काराेबार गर्ने ४ जना पक्राउ, नक्कली नोट कसरी चिन्ने ?

अर्थ संसार

विहीबार, ०५ फागुन २०७८, १४ : ५० मा प्रकाशित

नक्कली नोटकाे काराेबार गर्ने ४ जना पक्राउ, नक्कली नोट कसरी चिन्ने ?

काठमाडौं महानगरपालिका–१६ नयाँ बजार मेडिकल चोक एरियाबाट एक हजार दरका दुई सय ९४ थान नक्कली नेपाली नोटसहित ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा रौतहट गौर नगरपालिका–१२ घर भएका २८ वर्षीय पृथ्वी प्रसाद साह, रौतहट राजपुर नगरपालिका–३ घर भएका २७ वर्षीय मोहम्मद मुसरफ अली, रौतहट राजपुर नगरपालिका–६ घर भएका ३० वर्षीय असरफ अली सहिद र रौतहट गौर नगरपालिका–९ घर भएका २८ वर्षीय महमद शम्साद आलम रहेका छन् ।

उक्त स्थानमा नक्कली नोटको अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उक्त परिमाणको नक्कली नेपाली नोट सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त महाशाखाले जनाएको छ । 

नक्कली नोट कसरी चिन्ने ?

नोटमा रहेका आँखाले देख्न सकिने केही विशेषताहरूको बारेमा पहिचान गरेर नोट सक्कली हो कि नक्कली भनेर छुट्याउन सकिन्छ । जस्तैः सक्कली नोटमा पानी छाप हुने गर्दछ जसलाई उज्यालोमा राखेर हेर्दा लालिगुराँस फूलको आकृति स्पष्ट रुपमा देखिन्छ । नक्कली नोटमा यस्तो पानी छाप स्पष्ट रुपमा देखिँदैन ।

सक्कली नोटमा सुरक्षण धागो हुन्छ जसलाई उज्यालोमा राखेर हेर्दा अंग्रेजीमा NRB लेखिएको हुन्छ र जसले कुनै पनि अक्षर छोपेको हुँदैन । नक्कली नोटमा भएको यस्तो धागोमा अक्षर छोपेको हुन सक्दछ ।

सक्कली नोटमा प्रयोग भएको कागज केही खस्रो हुन्छ र प्रिन्टको गुणस्तर पनि राम्रो हुन्छ । नक्कली नोटको कागज चिप्लो हुन्छ र प्रिन्टको गुणस्तर राम्रो हुँदैन । सक्कली नोटको रंग पानीमा भिज्दा पनि खुइलिँदैन तथा लत्पतिँदैन भने नक्कली नोट पानीमा भिज्दा रंग खुइलिन्छ तथा लत्पतिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको