Like us!
Follow us!
Connect us!
Watch us!

पशुपतिमा यस्ताे छ महाशिवरात्रिकाे चहलपहल

अर्थ संसार

मंगलबार, १७ फागुन २०७८, ०७ : २७ मा प्रकाशित

पशुपतिमा यस्ताे छ महाशिवरात्रिकाे चहलपहल

आज महाशिवरात्रि । काठमाडाैंकाे पशुपतिनाथ मन्दिरसहित देशभरका  शिवमन्दिरमा विशेष मेला लाग्ने गर्छ । महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुँइचो लागेकाे छ । 

हिन्दूहरुले शिव मन्दिरमा रहेका आफ्ना आराध्य देवाधिदेव महादेवको आराधना, भजन किर्तन, पूजा, होम  रातभर जाग्राम बसेर महाशिवरात्रि पर्व मनाइरहेका छन् । यस उपलक्ष्यमा पशुपतिनाथको पूजा दर्शन गर्न बिहानदेखि स्वदेशी तथा विदेशी भक्तजनको ठूलो भीड लागेकाे छ । 

दर्शनार्थीका लागि बिहानैदेखि मन्दिरको चारैवटा ढोका खुला गरिएकाे छ । 

प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशीको रातलाई शिवरात्रि भनी शिवको ज्योतिर्लिङ्ग उत्पन्न भएको रातको रुपमा मनाउने हिन्दूहरुको परम्परा छ । यस रातलाई उनीहरु मानवआत्माले मोक्ष प्राप्त गरेको रातको रुपमा लिने गर्दछन् ।

१० लाखले पशुपति दर्शन गर्ने आँकलन, यस्ताे छ व्यवस्थापन

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव मिलनकुमार थापाका अनुसार  महाशिवरात्रिका अवसरमा आज बिहान ३ बजेदेखि नै पशुपतिका चार ढोका खोलिएका छन् ।  एकैदिन १० लाखले पशुपति दर्शन गर्ने आँकलन गरिएकाे छ ।

दर्शन गर्न रुट मिलाइएकाे छ । जसअनुसार मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड-दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोका, जयवागेश्वरी-इँटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोका, बत्तीसपुतली–गौशाला तथा एयरपोर्ट-तिलगङ्गा भएर पिङ्गलास्थान–सुमार्गी भवन हुँदै चार शिवालय–पञ्चदेवल दक्षिण ढोकाबाट बाहिरीरूपमा दर्शन गर्ने व्यवस्था मिलाइएको काेषले जनाएकाे छ ।

दर्शनार्थीको सवारी पार्किङका लागि सिफल, तिलगङ्गा, गुह्येश्वरीपारि, कोषको कार्यालय, वनकालीलगायत स्थानमा व्यवस्था मिलाइएको छ।

ट्राफिक व्यवस्थापन

महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्रि पर्वका अवसरमा आज उपत्यकामा विशेष ट्राफिक व्यवस्थापन गरेकाे छ । ‘महाशिवरात्रि पर्व-विशेष ट्राफिक व्यवस्थापन योजना’ अनुसार विशेषगरी पशुपति क्षेत्रमा ट्राफिक व्यवस्था मिलाइएकाे महाशाखाका प्रमुख एसएसपी उमेशराज जोशीले जानकारी दिए ।

महाशिवरात्रिमा १० हजार सुरक्षाकर्मी परिचालन गरिएकाे छ । उनका अनुसार गौशाला क्षेत्र आसपासमा छुट्टाछुट्टै स्थानमा पार्किङ स्थान ताेकिएकाे छ ।मित्रपार्क-गौशाला-तिलगंगा क्षेत्रमा सवारी आवगमन निषेधगरी बैकल्पिक मार्गबाट सवारी सञ्चालनको व्यवस्था मिलाइएकाे छ ।

सवारीसाधनलाई सिफल चौर, गौरीघाट करिडोर, गुह्हेश्वरी, तिलगंगाको पार्किङ र तिलगंगा करिडोरमा पार्किङको व्यवस्था मिलाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको