Like us!
Follow us!
Connect us!
Watch us!

पोखरामा फेरि बर्डफ्लु पुष्टि

अर्थ संसार

बुधबार, १८ फागुन २०७८, १० : ३७ मा प्रकाशित

पोखरामा फेरि बर्डफ्लु पुष्टि

पोखरामा एभियन ईन्फ्लुएन्जा (बर्डफ्लु) को संक्रमण फेला परेको छ । पोखराका दुईवटा ठाउँमा एकैपटक बर्डफ्लु देखिएको हो । वडा नम्बर १५ र १७ मा फागुन महिना लागेपछि दैनिक कुखुरा मर्न थालेपछि परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।

६ गते पोखरा १५ का खुसीमान गुरुङले पालेको फार्ममा कुखुरा मरेपछि त्यसको परीक्षणका लागि जिल्ला प्रयोगशाला ल्याएका थिए । त्यहाँको आरडीटी परीक्षणमा पोजिटिभ देखिएपछि थप परीक्षणका लागि काठमाडौं पठाईएकोमा फागुन १५ गते संक्रमण पुष्टि भएको हो ।

खुसीमानसँगै पोखरा १७ का खेमबहादुर क्षेत्रीको कुखुरा पनि परीक्षणका लागि पठाइएको थियो । उनको कुखुरामा समेत बर्डफ्लु पुष्टी भएको छ । रोगको संक्रमण फेला परेसँगै संक्रमित क्षेत्रमा सतर्कता उच्च बनाइएको छ । जिल्ला बर्डफ्लु रोग नियन्त्रण समितिको बैठक बसेर त्यस क्षेत्रलाई संक्रमित क्षेत्र घोषणा गरिएको छ भने पन्छी जन्य कारोबारमा बन्देज लगाइएको समितिका सूचना अधिकारी डा. गृष्म न्यौपानेले जानकारी दिए ।  

‘किसानले पालिरहेको कुखुरा मर्‍यो भनेर टेष्ट गर्न ल्याउनुभयो । यहाँ पोजिटिभ देखिएपछि काठमाडौं पठाएका थियौं, त्यहाँ पुष्टि नै भयो,’ उनले भने, ‘१५ गते नेपाल सरकारको मन्त्रीस्तरको निर्णयबाट प्रभावित क्षेत्र तोकिएको छ । आजै ४ किल्ला भित्रका पन्छी र पन्छीजन्य पदार्थ नष्ट गर्ने काम सुरु हुन्छ ।’ संक्रमण देखिएको फार्मलाई नै इपिसेण्टर मानेर चार किल्ला निर्धारण गरिएको छ ।

योसँगै बुधबारदेखि २७ गतेसम्म जोखिम क्षेत्रमा पन्छी र पन्छीजन्य पदार्थको ओसारपसारमा रोक लगाइएको छ । ‘घरको छतमा राखेर पाल्ने र खुला जमिन भएकोले वरिपरि पनि गएको हुन सक्ने आशंका छ । हामी खोजी गरिरहेका छौं,’ न्यौपाने भन्छन्, ‘व्यवसायिक फार्म नभएकोले खासै धेरै क्षति हुँदैन भन्ने आँकलन छ । रोगले मरेको मरिहाल्यो, जिउँदो धेरै छैन ।’

अव्यवस्थित पालन र कारोबारका कारण उक्त क्षेत्र सँधै बर्डफ्लुको उच्च जोखिममा छ । केही वर्षअघि पनि पोखरा १४ को मझेरीपाटन (अहिले देखिएकै ठाउँ नजिक) मा संक्रमण फैलिएको थियो । ३ वर्षअघि मादी गाउँपालिकामा देखिएको थियो ।

बर्डफ्लु देखिएपछि उपभोक्ता र किसानहरुलाई सचेतनाका सामग्री प्रकाशन प्रशारण गरिने जिल्ला भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्रले जनाएको छ । अधिकतम प्राविधिकहरू खटाएर जोखिम क्षेत्रलाई निगरानीमा राखिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको