Like us!
Follow us!
Connect us!
Watch us!

विलासिताका वस्तुमा नेपालीको मोह बढ्दो, खरिदमा खर्बौँ रुपैयाँ बाहिरिँदै

अर्थ संसार

शुक्रबार, २० फागुन २०७८, १२ : ०२ मा प्रकाशित

विलासिताका वस्तुमा नेपालीको मोह बढ्दो, खरिदमा खर्बौँ रुपैयाँ बाहिरिँदै

बैंकहरुमा अहिले पैसाको अभाव छ । पैसा नहुँदा बैंकहरुले ऋण उपलब्ध गराउन सकेका छैनन् । बैंकले ऋण उपलब्ध गर्न नसक्दा नयाँ उद्योग तथा व्यवसाय गर्न चाहनेले लगानी गर्न पाएका छैनन् । 

बैंकहरुसँग पैसाको अभाव भइरहँदा विलासिताका वस्तु खरिदमा भने खर्बौं रुपैयाँ देशबाट बाहिरिएको पाइएको छ । 

भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो सात महनामा विलासिताका वस्तु खरिदमा मात्र नेपालबाट तीन खर्बभन्दा बढी रकम बाहिरिएको छ । यो रकम २०७८ साउनदेखि माघ मसान्तसम्मको अवधिमा बाहिरिएको हो । 

विभागका अनुसार पछिल्लो सात महिनामा मात्र नेपालले डिजेल खरिद गर्दा ७२ अर्ब ९६ करोड १९ लाख ३६ हजार रुपैयाँ भारतलाई बुझाएको छ । सोही अवधिमा नेपालले भारतबाट ३४ अर्ब ६९ करोड ४२ लाख ४६ हजार रुपैयाँको एलपीजी ग्यास खरिद गरेको छ । 

भारतबाटै नेपालले ३३ अर्ब ५६ करोड ५५ लाख ३ हजार रुपैयाँको पेट्रोल चालु आर्थिक वर्षको सुरुवाती सात महिनामा खरिद गरेको छ । 

सो अवधिमा विभिन्न देशबाट नेपालले २८ अर्ब ३८ करोड ५६ लाख २७ हजार रुपैयाँको मोबाइल फोन ल्याएको विभागको तथ्याङ्कले देखाउँछ । 

पछिल्लो सात महिनामा मात्र टर्की र युनाइटेड अरब इमिरेट्स (युएई) बाट नेपालमा २५ अर्ब २१ करोड ६८ लाख ३१ हजार रुपैयाँको सुन भित्रिएको छ । सोही अवधिमा विभिन्न देशबाट १२ अर्ब ६९ करोड ४२ लाख ५४ हजार रुपैयाँको चाँदी नेपाल आएको छ । 

बितेका सात महिनामा नेपालमा ७ अर्ब ८० करोड ३ लाख ६५ हजार रुपैयाँको ल्यापटप तथा नोटबुक भित्रिएका छन् । 

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको हालसम्म ३३ अर्ब २० करोड ८३ लाख रुपैयाँका विभिन्न गाडी, मोटरसाइकल, स्कुटर नेपाल भित्रिएका छन् । सो समयमा ३ अर्ब ४३ करोड ५४ लाख २३ हजार रुपैयाँको विद्युतीय कार/जिप नेपालले खरिद गरेको छ । 

पछिल्लो सात महिनामा इन्टरनेटको राउटर मात्र नेपालले २ अर्ब ७४ करोड ९६ लाख ९० हजार रुपैयाँको खरिद गरेको छ । उक्त अवधिमा २ अर्ब ३७ करोड १ लाख ७२ हजार रुपैयाँको वासिङ मेसिन नेपाल भित्रिएका छन् । सोही समयमा २ अर्ब १६ करोड १५ लाख ७५ हजार रुपैयाँको टेलिभिजन सेट नेपाल आएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको