Like us!
Follow us!
Connect us!
Watch us!

अर्थतन्त्र बाहिर हल्ला गरेजस्तो निराशजनक छैन, न्यूनतम १५० कित्ता सेयर पाउने !

अर्थ संसार

शनिबार, २८ फागुन २०७८, ०८ : २० मा प्रकाशित

अर्थतन्त्र बाहिर हल्ला गरेजस्तो निराशजनक छैन, न्यूनतम १५० कित्ता सेयर पाउने !

१. अपि पावरले पायाे हकप्रद निष्कासन गर्न बाेर्डबाट अनुमति

अपि पावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको छ ।कम्पनीले १:०.३९३६ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा एक अर्ब ८ कराेड ६० लाख रूपैयाँ बराबरकाे १ कराेड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न असाेज २५ गते सेबोनमा निवेदन पेश गरेको थियाे । कम्पनीले हकप्रद सेयर निष्कासन गर्नका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। बाेर्डले हकप्रद निष्कासन गर्न स्वीकृति दिँदै विभिन्न शर्तहरु पनि तोकेको छ ।

२. एनआईसी एशिया बैंकले डाक्यो साधारण सभा, चैत ८ गते बुकक्लाेज

एनआईसी एशिया बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको हिजो (फागुन २६ गते, बिहीबार) बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको २४ औँ वार्षिक साधारण सभा चैत्र २० गते, आईतबार भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ९ बजेदेखि सुरू हुनेछ । सभाले संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना गरी ६ जना सञ्चालकका चयन गर्ने, बैंकको प्रबन्धपत्र र नियमावलीमा समसामयिक संशोधन वा थप गर्ने, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु छलफल गरी पारित हुनेछ । बैंकले वार्षिक साधारण सभा प्रयोजनका लागि चैत ८ गतेदेखि चैत २० गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ। त्यसैले चैत ७ गतेसम्म कायम सेयरधनीहरु मात्रै बैंकको वार्षिक साधारण सभामा भाग लिन योग्य हुनेछन्।  

३. बलेफी हाइड्रोपावरको आईपीओका सबै आवेदकले न्यूनतम १५० कित्ता सेयर पाउने !

बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडले माघ २७ गते, बिहीबारदेखि आयोजना प्रभावित स्थानिय बासिन्दाहरुका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) बिहिबार बन्द भएको छ ।  निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडका अनुसार कम्पनीको आईपीओमा अन्तिम दिनसम्ममा ११ हजार ७ सय १३ जना आवेदकले २८ करोड २५ लाख ५८ हजार रूपैयाँ बराबरको २८ लाख २५ हजार ५ सय ८१ कित्ताका लागि आवेदन दिएका छन् । कम्पनीले माग गरेको सेयर संख्या र परेको आवेदनका आधारमा कम्पनीको आईपीओमा आवेदन गर्ने हरेक आवेदकले करिव १५५ कित्ता सेयर प्राप्त गर्नेछन् । कम्पनीले पहिलाे चरणमा जारी पूँजी १ अर्ब ८२ करोड ७९ लाख को १० प्रतिशतले हुने प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँ बराबरको १८ लाख २७ हजार ९७० कित्ता सेयर निष्कासन गरेकाे थियाे ।

४. जाल्पा सामुदायिक लघुवित्तको आईपीओ नेप्सेमा सूचिकृत, आइतबारबाट काराेबारमा आउने 

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आज शुक्रबार जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडकाे साधारण सेयर (आईपीओ) सूचिकृत भएकाे छ । स्टकका अनुसार कम्पनीकाे १६ लाख कित्ता साधारण सेयर (आईपीओ) सूचिकृत भएकाे हाे ।  कम्पनीले काराेबारका लागि JALPA सिम्बाेल पाएकाे छ । नेप्सेले संस्थाकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम एक सय ६४ रूपैयाँ ६० पैसादेखि अधिकतम ४ सय ९३ रुपैयाँ ८० पैसासम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गरेकाे छ । 

५. अर्थमन्त्री भन्छन्, ‘अर्थतन्त्र बाहिर हल्ला गरेजस्तो निराशजनक छैन, चाँडै समस्या समाधान हुन्छ’

अर्थमन्त्री जनार्दन शर्माले बाहिर हल्ला गरे जस्तो अर्थतन्त्र निराशजनक अवस्थामा नरहेका बताएका छन् । विभिन्न क्षेत्रका तथ्यांक बताउँदै उनले अर्थतन्त्र सरकारको नियन्त्रणमै रहेको र चाँडै समस्या समाधान हुने बताए । उनले भने, ‘गत आर्थिक वर्ष ०७७–७८ को पहिलो ६ महिनामा मूल्यवृद्धिको दर ३.५६ प्रतिशत बिन्दुमा थियो । चालू आवको शुरुबाटै अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम, खाने तेल, प्लास्टिक, स्टील तथा स्टीलजन्य बस्तुलगायको निरन्तर मूल्य वृद्धि हुँदा नेपालमा असर देखिएको छ । यद्यपी, चालू आवको मध्यावधि समिक्षा गर्दा मूल्यवृद्धि दर ५.०३ प्रतिशतमा रही बाञ्छित सिमा भित्रै रहेको छ।'

६. डिप्रोक्स लघुवित्तको सेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट नियुक्त

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग नियुक्त भएको छ । संस्थाको सञ्चालक समितिको बैठकले यस कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ्गलाई सेयर रजिष्ट्रारमा  नियुक्ती गरेको हो । चैत्र ३ गतेदेखि संस्थाको सेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरू नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग मार्फत हुनेछ ।

७. प्राइम बैंकले पायाे ऋणपत्र निष्कासन गर्न बाेर्डबाट अनुमति

प्राइम बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति प्राप्त गरेकाे छ । बैंकले १० वर्ष अवधिकाे "१०% प्राइम डिबेञ्चर, २०८८" काे नाममा २ अर्ब ५० कराेड रूपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न सेबाेनमा निवेदन पेश गरेकाे थियाे । सेबाेनले फागुन २३ गते अनुमति प्रदान गरेकाे हाे । निष्कासन गरिने कुल २५ लाख कित्ता ऋणपत्रमध्ये बैंकले सर्वसाधारणका लागि १० लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १५ लाख कित्ता बिक्री गर्नेछ । त्यसैगरी, बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ ।

८. ६ सयले बढ्याे सुनकाे भाउ, १० रूपैयाँले बढ्याे चाँदी 

शुक्रबार सुनकाे मूल्य ताेलामा ६ सय रूपैयाँले बढेर प्रतिताेला एक लाख २ हजार ६ सय रूपैयाँ कायम भएकाे छ । यस दिन चाँदीकाे मूल्य पनि ताेलामा १० रूपैयाँले बढेर प्रतिताेला एक हजार ४ सय १५ रूपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको