Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन पावर पार्टनरले वैशाख पहिलो हप्तादेखि २७ मेगावाट विद्युत उत्पादन थाल्ने

अर्थ संसार

आइतबार, १३ चैत्र २०७८, ०६ : ५३ मा प्रकाशित

हिमालयन पावर पार्टनरले वैशाख पहिलो हप्तादेखि २७ मेगावाट विद्युत उत्पादन थाल्ने

हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा यहाँ निर्माणाधीन दोर्दीखोला जलविद्युत आयोजनाले आगामी वैशाख पहिलो हप्तादेखि विद्युत उत्पादन थाल्ने भएको छ।

२७ मेगावाट क्षमताको सो आयोजनाको अधिकांश काम सम्पन्न भइसकेको र यही चैत महिनाभित्र परीक्षण गरेर वैशाख पहिलो हप्तादेखि विद्युत उत्पादन गर्ने आयोजना प्रमुख मुना शाक्याले बताइन्।

उनले भनिन्, ‘हामीले आयोजनाको निर्माण सम्पन्न गर्दै एक महिनाको लामो परीक्षण गरिसकेका छौं। यसबीचमा साना–साना समस्या रहेको र गत असारमा आएको बाढीले क्षति बनाएको बाँधस्थल लगायतका क्षेत्रमा पर्खाल लगाउने र मर्मत गर्ने कार्य भइरहेको छ।’
 
चैत महिनाभित्रमा बाँकी रहेका ती काम सम्पन्न गर्दै अन्तिम परीक्षण गर्ने र प्राविधिकरणले जाँच गरेसँगै वैशाखको पहिलो हप्ताबाट व्यावसायिक रूपमा विद्युत उत्पादन गर्ने उनको भनाइ थियो। आयोजनाको शतप्रतिशत नै निर्माण सम्पन्न भए पनि गत असारमा आएको बाढीले क्षति बनाएको टनेलको सिपेज र बाँधस्थलमा निर्माण गरिएको ‘गेट’को मर्मत भइरहेको छ। इलोट्रो–मेकानिकल, पेनस्टकको इनटेक, फिल्डर पाइपलगायतका काम सम्पन्न भइसकेको छ।

उक्त सबैको सफल परीक्षणसमेत भइसकेको छ। त्यस्तै, पाइप बिच्छ्याउने, सुरूङ खन्ने लगायतका अधिकांश निर्माण सम्पन्न भएको आयोजनाले जनाएको छ। 

पनस्टेकको ७०० मिटर, तीन हजार २०० मिटरको सुरूङ खन्ने तथा पाइप बिच्छ्याउने, अर्को दुई हजार २७० मिटरको सुरूङको सम्पूर्ण काम सम्पन्न भइसकेको आयोजनाले जनाएको छ।

आयोजनाको बाँधस्थल २१२ मिटर ‘ग्रसहेड’ रहेको छ। बेंसीसहर नगरपालिका– ११ रामचोकबेंसीमा पावर हाउस रहेको छ। विसं २०७२ फागुनबाट निर्माण सुरू गरेको यस आयोजनाले विसं २०७५ भदौ १५ गते विद्युत उत्पादन गर्ने लक्ष्य राखेको थियो।

नाकाबन्दी, अघिल्लो वर्षायाममा विद्युत गृहमा मर्स्याङ्दी नदीको पानी छिरेर मेसिनरी सामानमा पुर्‍याएको क्षति, कोरोनाका कारण जारी निषेधाज्ञा र सुरूङ निर्माण गर्ने क्रममा कमजोर चट्टान भेटिएकाले ढिलाइ हुन पुग्दा निर्धारित समयमा काम सम्पन्न नभएको आयोजनाले जनाएको छ। 

पछि समय थपेर विसं २०७६ चैत मसान्तसम्ममा निर्माण सक्ने सम्झौता गरे पनि सोही अवधिमा पनि निर्माण सम्पन्न नभएपछि विसं २०७६ असारसम्म सक्ने गरी सम्झौता भएको थियो। सो समयमा पनि निर्माण सम्पन्न गर्न नसकेपछि विसं २०७६ पुस महिनामा बिजुली उत्पादन गर्ने लक्ष्यका साथ अघि बढेको थियो।

सो समयमा पनि बिजुली उत्पादन गर्न नसकेपछि  विसं २०७७ चैत महिनासम्म बिजुली उत्पादन गर्ने लक्ष्य राखे पनि सम्पन्न भएन। सोपश्चात् यही चैत महिनाभित्रमा विद्युत उत्पादन गर्ने लक्ष्य रहे पनि आगामी वैशाख महिनामा मात्र उत्पादन हुने भएको छ। 

सुरूमा चार अर्ब २३ करोड रुपैयाँ लाग्ने अनुमानका साथ आयोजनाले निर्माण थालनी गरे पनि निर्माण अवधि लम्बिँदै गएकाले चार अर्ब ६४ करोड रुपैयाँसम्म खर्च हुनसक्ने आयोजनाको अनुमान छ।

यस आयोजनामा गैरआवसीय नेपाली संघ (एनआरएनए) को ३५ दशमलव सात प्रतिशत, आइएमई ग्रुपको ३४ दशमलव तीन प्रतिशत र ३० प्रतिशत सर्वसाधारणको लगानी छ। नेपाल विद्युत प्राधिकरण र सो कम्पनीबीच विसं २०६९ असार १ गते पिपिए सम्झौता भएको थियो।

त्यस्तै, दोर्दी गाउँपालिका–६ ढोडेनीमा लिवर्टी इनर्जी हाइड्रोपावरद्वारा निर्माणाधीन २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ आयोजनाको निर्माण कार्य अन्तिममा पुगेको छ।  

यस आयोजनाबाट आगामी वैशाख अन्तिमबाट विद्युत उत्पादन गर्ने तयारीका साथ अघि बढेको आयोजनाका प्रवर्द्धक राजेन्द्र बस्तीले बताए।

उनले भने, ‘दुई वर्ष अघि नै आयोजनाको निर्माण ९८ प्रतिशत सम्पन्न भइसकेको थियो, तर नाकाबन्दी, दोर्दीखोलामा आएको बाढीले आयोजनामा पुर्‍याएको क्षति लगायतका कारणले बल्ल आगामी वैशाखमा बिजुली उत्पादन थाल्ने भएका छौं।’

हाल बाढीले क्षति बनाएको ठाउँमा मर्मत कार्य भइरहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको